काठमाडौं । भारतको उत्तराखण्ड राज्यका शहरहरु चम्पावत र पिथौरागढमा डिग्री कलेजमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले परीक्षा दिन समेनन् । कुमाउँ विश्वविद्यालयको परीक्षा सोमबारदेखि सुरु भएको छ तर ठूलो संख्यामा नेपाली विद्यार्थीहरु परीक्षामा सहभागी हुन सकेका छैनन् । टाइम्स अफ इण्डियाका अनुसार अधिकांश विद्यार्थीहरु कोभिड–१९ का कारण लगाइएको प्रतिबन्धका कारण नेपालमै अड्किएर परीक्षामा सहभागी हुन पाएका छैनन् । परीक्षामा सहभागी हुन समेका सीमित विद्यार्थीहरुलाई पनि सीमा पार गर्न निकै कठिनाइको सामना गर्नु परिरहेको छ ।

एक विद्यार्थीले आफ्नो नाम खुलाउन नचाहने गरी टाइम्स अफ इण्डियासँग कुरा गर्दै आफूले महाकाली नदीमा पौडिएर पिथौरागढ पुग्न सकेको बताए । महाकाली नदी भारत र नेपालको प्राकृतिक सीमा हो । नेपाल भारत सीमाका सबै नाकाहरु मार्च २३ मा बन्द गरिएदेखि अहिलेसम्म बन्द नै छन् । यी दुई जिल्लाका डिग्री कलेजमा करिब २ सय नेपाली विद्यार्थी भएको मोटामोटी तथ्यांक छ ।

यस विषयमा टाइम्स अफ इण्डियाको प्रश्नमा बलुआकोट डिग्री कलेजका प्रिन्सिपल बीसी पन्तले आफ्नो कलेजमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुले अहिलेसम्म कलेजका अधिकारीहरुसँग सम्पर्क नगरेको बताएका छन् । ‘उनीहरुले सम्पर्क गरे भने हामीले यो विषयमा उचित कदम उठाउनेछौं’ उनले भने । पिथौरागढको एलएसएम डिग्री कलेजकी प्रिन्पिल सीडी सुथाले कोभिड १९ प्रतिबन्धका कारण नेपाली विद्यार्थीहरु परीक्षामा सहभागी हुन नपाएको भए उनीहरुले नोभेम्बरमा परीक्षा दिने अर्को अवसर दिइने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर