#
अन्तराष्ट्रिय

कोरोनाभाइरस प्रयोगशालामा बनाइएको हो ? चिनियाँ अनुसन्धाताको दाबी वैज्ञानिकहरूले गरे खारेज

  एजेन्सी   ३१ भाद्र २०७७, बुधबार १०:५६

चीनबाट भागेकी एक सरुवा रोग विशेषज्ञले सेनाको प्रयोगशालामा कोरोनाभाइरस बनाइएको भनी दाबी गर्दै त्यसको पुष्टिका लागि एक प्रतिवेदन सार्वजनिक गरेकी छन् ।

ली–मङ यान नामक ती वैज्ञानिक हङकङ स्कूल अफ पब्लिक हेल्थकी पूर्व अनुसन्धाता हुन् र उनले चमेरामा पाइने दुईथरी कोरोनाभाइरसका जेनेटिक सामग्री मिसाएर कोभिड जन्माउने कोरोना बनाइएको दाबी गरेकी छन् । कोरोनामा पाइने स्पाइक प्रोटीनलाई सम्पादन गरेर मानिसको कोशिकामा टाँसिन सहज बनाइएको उनको दाबी छ ।

तर वैज्ञानिकहरूले उनको प्रतिवेदनको आलोचना गर्दै उनले आफ्ना दाबीहरू पुष्टि गर्न नसकेको बताए । यस प्रतिवदेनलाई कुनै पनि विश्वसनीयता दिन नसकिने उनीहरूको भनाइ छ । रिसर्च पेपरहरूले भाइरस चमेराबाट उत्पन्न भएको सुनिश्चित गरिसकेका छन् । वैज्ञानिकहरूले यो भाइरस मानिसले बनाएको हो भन्ने विषयमा कुनै पनि प्रमाण नरहेको बताएका छन् ।

सार्स–कोभ–२ वैज्ञानिक नाम दिइएको रोगाणु मानिसलाई संक्रमित गर्ने सातौं कोरोनाभाइरस हो र यसको अघिल्लो संस्करण परिवर्तन भएपछि मानिसमा सरेको हो । अघिल्लो भाइरसले चमेराहरूलाई संक्रमित गरेर अर्को जनावरमार्फत मानिसमा प्रवेश गरेको मानिन्छ ।

यानको प्रतिवेदन वैज्ञानिक जर्नलमा प्रकाशन गरिएको छैन र समकक्षी समीक्षा पनि भएको छैन । यसलाई वैज्ञानिकहरूले जाँचेर प्रकाशन अनुमति पनि दिएका छैनन् ।

तर यसले व्यापक रूपमा मानिसहरूको ध्यान आकर्षित गरेको छ । जेनोदो नामक वेबसाइटमा प्रकाशित भएपछि यसलाई दुई लाखपटक पढिसकिएको छ । उक्त वेबसाइट युरोपियन अर्गनाइजेसन फर न्युक्लीयर रिसर्चले सञ्चालन गर्ने गर्छ ।

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु