काठमाडौं । १ सय ७८ दिनको प्रतिबन्धपछि आज (बिहीबार) देखि मध्यम र लामो दूरीको यातायात सञ्चालन भएका छन् । कोरोनाभाइरस (कोभिड–१९) को महामारीसँगै चैत १० गतेदेखि सञ्चालनमा लगाइएको प्रतिबन्ध फुकुवा भएसँगै बिहीबारदेखि त्यस्ता सवारीसाधनको सञ्चालन सुरु भएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएपछि मंगलबारदेखि नै यातायात व्यवसायी र मजदूरहरु सवारीसाधन सञ्चालनको तयारी सुरु गरेका थिए । यातायात सञ्चालन सुरु भएपछि यतिबेला नयाँ बसपार्क, पुरानो बसपार्क क्षेत्रमा चहलपहल बढेको छ ।

सार्वजनिक सवारीसाधन सञ्चालन खुला गरे पनि अहिले कोरोनाको संक्रमण कम भएको भएको छैन । बुधबारमात्रै देशभर १ हजार ५ सय ३९ जना नयाँ संक्रमित भेटिएका छन् । यो अहिलेसम्मकै सबैभन्दा धेरै हो । संक्रमणसँग ‘लिभिङ टुगेदर’ कायम गर्ने भन्दै सरकारले यस्तो सेवा सञ्चालन खुला गरेको हो ।

यसअघि पनि छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका थिए । ९८ दिनको प्रतिबन्धपछि सरकारले असार २५ गतेदेखि त्यस्ता सवारीसाधनको सञ्चालन खुला गरेको थियो । त्यसबेला जोरबिजोर प्रणाली अनुसार र आधा यात्रु एउटै जिल्लाभित्रको छोटो दूरीको सवारीसाधन चलाउने अनुमति दिइएको थियो । तर, विभिन्न जिल्लामा सुरु भएको निषेधाज्ञाका कारण छोटो दूरीका सवारीसाधन समेत लामो समय चल्न पाएका थिएनन् । अघिल्लो सातादेखि भने त्यस्ता सवारीसाधनको सञ्चालन सुचारु भएका थिए । काठमाडौँ उपत्यकामा भने १६ सिटभन्दा धेरै क्षमताका सवारीसाधन मात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरिएको थियो ।

अहिले खुला भएको मध्यम र लामो दूरीका लागि समेत स्वास्थ्य मापदण्ड अनिवार्य रुपले पालना गर्नुपर्ने व्यवस्था गरिएको छ । यसअनुसार सीट क्षमताको आधा यात्रु मात्रै राखेर सवारी सञ्चालन गर्नुपर्नेछ । सवारीसाधनभित्र सबैले मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

सजिलो छैन सवारी सञ्चालन

करिब ६ महिनापछि सवारीसाधन सञ्चालन गर्न पाउँदा यातायात व्यवसायी र यातायात मजदूरहरु यतिबेला निकै खुसी भएका छन् । तर, छोटो दूरीका सवारीसाधनजस्तो तत्कालै मध्यम र लामो दूरीका यातायातको सञ्चालन सहज भने छैन । यातायात व्यवसायी र मजदूरहरुका अनुसार त्यस्ता सवारीसाधन सञ्चालनमा अहिले मूलतः ३ वटा समस्या छ । पहिलो सवारीसाधन बिग्रेका छन्, सामान्य ढंगबाट चल्नसक्ने अवस्था छैन । दोस्रो धेरै यातायात मजदूरहरु अहिले पनि गाउँमा छन् । उनीहरु फर्कनुपर्छ । र, तेस्रो अहिले ग्यारेजहरुमा मेकानिक समेत अभाव छ । उनीहरु फर्केर बिग्रेका सवारीसाधन मर्मत गरेपछि पनि सहज रुपमा यातायात सञ्चालन हुन सक्छ ।

६ महिनादेखि ग्यारेजमा थन्किएर बस्दा यतिबेला धेरैजसो सवारी साधनहरुको अवस्था निकै नाजुक भएको छ । कतिपय गाडीहरु त यो अवधिमा स्टार्ट हुन समेत नपाएर इञ्जिन नै बिग्रिसकेको अवस्था छ । कतिपय गाडीहरु हिलोमा भएका कारण त्यस्ता गाडीहरुको टायर काम नलाग्ने अवस्था भएको छ । त्यस्ता सवारीसाधनको मर्मतको लागि ५० हजार रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म लाग्ने अवस्था रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् ।

लकडाउनपछि धेरैजसो मेकानिक गाउँ गएकोले ती मेकानिकहरु आएर सवारीसाधन मर्मत गरेपछि मात्रै राम्रोसँग मर्मत हुन सक्छ र सवारीसाधनहरु पूर्णरुपमा सञ्चालनमा आउन सक्छन् । महासंघसहित तीनवटै यातायात मजदूर संगठन सम्मिलित कार्यदलले सवारीसाधनलाई तयारी अवस्थामा राख्ने वातावरण बनाउन मेकानिकलाई सम्बन्धित ठाउँसम्म पुग्ने वातावरण बनाउन सरकारसँग माग गरेको थियो । तर, त्यसलाई सरकार त्यो मागको सम्बोधन नगरी एकैपटक लामो दूरीका सवारीसाधन खोल्ने निर्णय गर्यो । यसले गर्दा तत्काले सबै सवारीसाधन सञ्चालन हुने अवस्था नरहेको उनीहरुको भनाई छ ।

अखिल नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका अध्यक्ष भीमज्वाला राई अहिलेको अवस्थामा लामो दूरीको यातायात सञ्चालन गर्न कठिन हुने विश्लेषण कार्यदलले गरेको बताउँछन् । ‘सवारीसाधनको अवस्था जाँच नगरी लामो दूरीमा गाडी चलाउन गाह्रो हुन्छ भन्ने हामीले सोचेका छौँ । त्यसैले गाडीको फिटनेट टेष्ट गर्नको लागि पनि सुरुमा मध्यम दूरीमा चलाउनुपर्छ । एकैपटक ६÷७ सय किलोमिटर दूरीका लागि यात्रु बोकेर हिँड्दा सवारीसाधनले बिग्रेर दुःख दिने अवस्था आउन सक्छ । त्यसैले अहिले मध्यम दूरीमा मात्रै त्यस्तो सवारीसाधन सञ्चालन हुन सक्छ ।’

राईमा अनुसार काठमाडौंबाट पूर्वी पहाडी जिल्ला र मध्यपश्चिम तथा सूदूरपश्चिम क्षेत्रमा जाने गाडीहरुले आफ्नो सवारीसाधनको अवस्था परीक्षण गरेर मात्रै गन्तव्यका लागि छुट्नुपर्छ । बाटोमा बिग्रेको अवस्थामा यात्रुलाई बैकल्पिक व्यवस्थापन गर्ने तयारी गरेर जानुपर्छ । २–३ सय किलोमिटरसम्मका लागि चाहिँ सवारीसाधन चलाउन सकिन्छ । राई भन्छन्, ‘महेन्द्रनगर, धनगढी, काँकरभिट्टा जस्ता लामो दूरीमा गाडी चलाउनुअघि गाडीको अवस्था हेरेर मात्रै चलाउन हाम्रो सुझाब छ, त्यही अनुसार आफूअन्तर्गतका मजदूर र व्यवसायीलाई हामीले भनेका छौं ।’

लामो दूरीका सवारीसाधनमध्ये अहिले सीमित गाडी मात्रै गुडाउन योग्य छन् । धेरैको मर्मत र परीक्षण गरेर मात्रै गुडाउन सकिन्छ । मध्यम दूरीका सवारीसाधन पनि धेरै बिग्रिएका छन् । अहिलेको अवस्थामा कुल सवारीसाधनको मुस्किलले २५ देखि ३० प्रतिशत मात्रै तत्काल सञ्चालन हुनसक्ने अवस्थामा छन् । ब्याट्रि चार्ज गर्ने, मोबिल फेर्ने र टायरको सामान्य मर्मत गरेर गुड्नसक्ने अवस्थामा अर्को ३० देखि ४० प्रतिशत सवारीसाधन छन् । त्यस्ता सवारीसाधनले ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ । बाँकीले भने त्योभन्दा धेरै खर्च गरेर मर्मत गर्नुपनेै अवस्था छ ।

‘ब्रेक इभेन’मै चल्नुपर्ने बाध्यता

त्यसो त सवारीसाधन सञ्चालन भए पनि तत्कालै फाइदामा जानसक्ने अवस्था भने यातायात व्यवसायी र मजदूरहरुले देखेका छैनन् । सवारीसाधन सञ्चालनमा लगाइएको शर्तका कारण सामान्य अवस्थामा जस्तो नाफाको अवस्था नरहेको उनीहरुको भनाइ छ ।

बिहीबारदेखि सञ्चालनमा आए पनि सामान्य अवस्थामा जस्तो उनीहरुले यात्रु बोक्न पाउने छैनन् । सरकारले तोकेको स्वास्थ्य मापदण्ड अुसार त्यस्ता सवारीसाधनले कुल सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न सक्नेछन् । त्यसबापत ५० प्रतिशत बढी शुल्क लिन सक्ने भए पनि ५० प्रतिशत यात्रुका कारण उनीहरुको आम्दानी करिब ७५ प्रतिशतमा झर्नेछ । अन्तरजिल्ला चल्ने छोटो दूरीका सवारीसाधन वा लामो दूरी भएर पनि आधा गन्तव्यमै उत्रिने यात्रुहरु क्याबिनमा बसेर वा उभिएर समेत यात्रा गर्ने गर्थे । अब त्यस्तो आम्दानी समेत गुम्ने भएका कारण उनीहरुको आम्दानी त्योभन्दा पनि कम हुनेछ । यात्रु पर्याप्त पाए पनि अहिलेको अवस्थामा पर्याप्त नाफा हुनसक्ने अवस्था नहुने अखिल नेपाल यातायात मजदूर संगठनका अध्यक्ष राईको विश्लेषण छ ।

यातायात व्यवसायीसँग मन्त्रालयमा भएको छलफलका क्रममा बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले लामो वा मध्यम दूरीका सवारीसाधनले बीचमा यात्रु चढाउन वा झार्न नपाइने प्रस्ताव गरेका थिए । तर, त्यसअनुसार निर्णय भने भएन । तर, आधाभन्दा बढी यात्रु चढाउन नपाउने भएका कारण आधा गन्तव्यमै पुग्ने यात्रुले भने गाडी चढ्नै नपाउने अवस्था सिर्जना हुने आशंका समेत गरिएको छ ।

संगठनका अध्यक्ष राई भने बैठकमा यस्तो व्यवहारिक समस्या आउनसक्ने अवस्था भए पनि यसबारे आफूहरुले अहिलेसम्म छलफल भने नगरेको बताए । ‘हामी अहिलेसम्म मध्यम र लामो दूरी खोल्नुपर्छ भन्ने माग गरेका थियौं, यो प्रयास भर्खरै सफल भएको छ । व्यवहारिक समस्याहरुलाई विस्तारै हल गर्दै जान्छौँ ।’

देशैभर स्वयम्सेवक दस्ता

यातायात सेवालाई सुरक्षित र व्यवस्थित बनाउन तीनवटै यातायात मजदूर संगठनले देशैभरी स्वयम्सेवक दस्ता परिचालन गर्ने तयारी गरेका छन् । नेपाल यातायात मजदूर संघ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन र अखिल नेपाल यातायात मजदूर संगठनका प्रतिनिधि रहेनगरी त्यस्तो स्वयंसेवक दस्ता परिचालन गर्ने र यस्तो दस्ताले सुरक्षित यात्राको लागि सहजीकरण गर्ने र त्यसको अनुगमन समेत गर्ने योजना बनाएको संगठनका अध्यक्ष राईको भनाइ छ ।

‘हामीले सरकारलाई हाम्रो दस्तालाई यातायात मापदण्डबारे प्रशिक्षण गराइदिनुस्, यसलाई हामी लागु गराउँछौ भनेका छौं । सरकारले गरिदिए ठीकै छ । नभए पनि हामी यस्तो दस्ता परिचालन गर्छौँ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय