अन्तराष्ट्रिय

कोरोना कहर : सफलताको उदाहरण थाइल्यान्ड


    खगेन्द्रराज ढकाल   १५ आश्विन २०७७, बिहीबार १२:२२

कोरोना महामारीका कारण जिन्दगी जिउने र जीविका चलाउनेमध्ये एक वा दुवैको कहरले सिंगो मानव जाति रोग, भोक र मानसिक तनावमा गुज्रिरहेको छ। दक्षिणपूर्वी एसियाको एक मध्यम आय भएको देश थाइल्यान्ड भने कोरोनाविरुद्धको लडाइँमा सफलता हासिल गर्नेमा अग्रणी स्थानमा छ। ग्लोबल कोभिड इन्डेक्स (जीसीआई) मा सहभागी १ सय ८४ देशमध्ये थाइल्यान्ड कोभिडसँगको लडाइँमा सबैभन्दा सफल देखिएको छ। यस्तो महाविपद्को घडीमा पनि थाई नागरिक र यो देशमा बसोबास गरिरहेका विदेशीलाई थाइल्यान्डले सुरक्षित महसुस गराएको छ।

उसो त थाइल्यान्ड चीनबाहिर कोभिड संक्रमण भएको पहिलो देश हो। चीनको उहानबाट थाइल्यान्ड भ्रमण गरेकी एक चिनियाँ महिलामा जनवरी १३ मा कोभिड संक्रमण भएको पुष्टि भएको थियो। त्यसयता सेप्टेम्बर २८ सम्ममा जम्मा ३ हजार ५ सय ४५ केस रेकर्ड भएका छन्। त्यसमा ३ हजार ३ सय ६९ जना निको भएर घर फर्किएका छन्। १ सय १७ जना अस्पतालमा उपचाररत छन्। यो अवधिमा ५९ जनाले ज्यान गुमाएका छन्। थाइल्यान्डको जनसंख्या करिब ७० मिलियन छ। यो आँकडालाई सरल रूपले हेर्दा थाइल्यान्डले कोरोना नियन्त्रणमा प्राप्त गरेको सफलता बुझ्न गाह्रो छैन। यो तथ्यांकलाई अझ मिहिन हिसाबले केलाउँदा मार्च अन्तिमतिर थाइल्यान्डले प्रतिदिन १ सय ८८ सम्म केस सामना गर्न पुग्यो। त्यही बेलादेखि कोरोनाविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुने नीति थाइल्यान्डले लिएको देखिन्छ। दुई हप्ताको लकडाउनबाट सुरु गरेको उक्त नीतिका कारण करिब २ महिनामा कोरोना संक्रमण पूर्ण नियन्त्रमा आयो। यति ठूलो महामारीलाई एउटा विकासशील देशले कसरी पछार्न सक्छ भन्ने प्रस्ट सन्देश थाइल्यान्डले संसारलाई दिएको छ। जहाँ ४ महिनादेखि स्थानीय तहमा कोरोना संक्रमण शून्य छ।

महामारीलाई पूर्णतः नियन्त्रण गर्न हासिल गरेको सफलतामा अन्तर्राष्ट्रिय समुदायले चासो दिएका छन्। उनीहरूले थाइल्यान्डको कामको सराहना गरेका छन्। उसले आफूलाई धेरै देशलाई एउटा बेस्ट प्राक्टिस सिक्ने केन्द्रका रूपमा उभ्याएको छ। यो सफलता महिनांै लकडाउन गरेर भने आर्जन गरेको हैन। बाहिरी मुलुकबाट आफ्ना नागरिक फर्काउने, पेसा, व्यवसायमा सम्बद्ध विदेशी र विद्यार्थीलाई देशमा स्वागत गर्ने काम पनि जारी छ। सरकारले यो अवधिमा ७० हजार नागरिकलाई विदेशबाट फर्काएको छ। १९ हजारभन्दा बढी विदेशीलाई प्रवेशाज्ञा दिएको छ। त्यसमा १० हजारजति वर्क परमिटवाला छन्। २ हजार ८ सयजना थाईसँग पारिवारिक सम्बन्ध भएकाहरू छन्। २ हजारभन्दा बढी विदेशी विद्यार्थीले पनि उक्त प्रवेश अनुमति प्राप्त गरेका छन्। उक्त क्रममा केही आयातीत केस दैनिक रूपमा देखिए पनि क्वारेन्टाइनको अनिवार्य नीति लागू गरेर भाइरसमुक्त बनाएर मात्र समुदायमा जाने व्यवस्थाका कारण रोगको फैलावट पूर्णतः नियन्त्रणमा छ। वास्तवमा थाइल्यान्ड न एउटा आर्थिक रूपमा उच्च आय भएको देश हो न त पूर्ण विकसित। तापनि कसरी संसारलाई आश्चर्यचकित पार्दै यसले महामारी नियन्त्रण गर्‍यो होला त भन्ने आमचासो बनेको छ। नेपालजस्ता कम स्रोतसाधन भएका देशका लागि भने यो अनुभव झनै सान्दर्भिक हुन सक्छ। केही विश्लेषकले यो सफलता राष्ट्रिय संकटकाल, रात्रिकालीन कफ्र्यु, लकडाउन, नाका सिल, विद्यालय र विश्वविद्यालय बन्द गरी प्राप्त गरेको भनेर चर्चा गर्ने गरेका छन्। यद्यपि म आफैं यो पूर्ण अवधिभर थाइल्यान्डको राजधानी बैंककमा रहेर हेर्दा भने ती टिप्पणीसँग पूर्ण सहमत हुन सकिनँ। सुन्दा कडाजस्ता देखिएका ती कदम व्यवहारमा दैनिक जनजीवन नै प्रभावित गर्ने प्रकृतिका थिएनन्। अर्थतन्त्रको मूल्य चुकाएर कोरोना नियन्त्रणमा मात्र लाग्नु उपयुक्त नभएको आलोचना थाइल्यान्डले नपाएको भने हैन। यथार्थमा संक्रमण फैलिएर उत्कर्षमा पुग्दा राति केही घण्टा कफ्र्यु लागे पनि दिनमा खुद्रा पसल सामान्य अवस्थामा झैँ चलेका हुन्थे। दूरी कायम गरी बसहरू चलिरहेका हुन्थे। फुड डेलिभरी राम्ररी हुन्थ्यो। मर्निङ वाकमा निस्किएर फ्रेस मार्केटबाट सागसब्जी किन्ने मेरो रुटिन संक्रमणको उत्कर्षमा पनि रोकिएन। मार्च–अप्रिलमा एकपटक १४ दिनका लागि बार, मसाज पार्लर, विद्यालय, विश्वविद्यालयजस्ता भीडभाड हुने व्यवसायलाई पूर्ण रूपले बन्द गरिए पनि दैनिक सप्लाईमा सरकारले कतै कमी हुन दिएन।

त्यसपछि बिस्तारै सबै व्यवसाय पहिला आंशिक र केही हप्तापछि पूर्णरूपमा खोल्ने व्यवस्था गरियो। त्यो दुई हप्ताको आंशिक लकडाउनलाई सरकार र निजी दुवै पक्षले ती व्यवसाय कसरी सुरक्षित रूपमा सञ्चालन गर्ने भन्ने तयारीमा उपयोग गरे। धेरै देश लकडाउन उपयोग गर्न नसक्दा कोरोनाको हटस्पट बन्न पुगेका छन्। थाइल्यान्डमा अर्को प्रभावकारी नीति सरकारले भीडभाड हुने चाडपर्वलाई निषेध गर्‍यो, त्यो बिदा रोग नियन्त्रण भएपछि दिने सर्तमा। अप्रिलको दोस्रो सातामा पर्ने अत्यधिक भीडभाड हुने सोंग्क्रानजस्ता चाडपर्वका बिदा ४ महिना पछि सर्‍यो।

कोरोनाले आक्रान्त भएका बेला मार्च अन्तिमतिर थाई प्रधानमन्त्रीले पहिला रोग संक्रमण नियन्त्रणमा लिने र अवस्था सुधार आउन थालेपछि अर्थतन्त्रलाई पुनर्जीवन दिने प्रस्ट नीति अघि सारेका थिए। संक्रमण बढेका बेला सरकारले आफ्नो नीतिमा प्राथमिकता निर्धारण गर्न सफल हुनु नै कोरोना नियन्त्रणको मुख्य कारक हो। सँगै प्रविधि प्रयोग गर्दै सार्वजनिक स्वास्थ्य रणनीति सरकारले अगाडि सार्‍यो। यसमा छुट्टै एप बनाएर सूचना एकीकृत रूपमा जनतामा पनि पुर्‍यायो। कन्ट्याक्ट ट्रेसिङसहित संक्रमित र अन्य शंकास्पद व्यक्तिको अनुगमन गर्न ‘थाई चाना’ भन्ने छुट्टै एप प्रयोग गरियो। यसले ट्र्याकिङ र ट्रेसिङमा सहजै सफलता हासिल गर्‍यो। प्रभावकारी ट्र्याकिङ र ट्रेसिङ गर्न सके मास टेस्टिङ नगरी पनि कोरोना नियन्त्रण गर्न सकिने सन्देश थाइल्यान्डले दिएको छ। थाइल्यान्डको परीक्षण दर ०.०३ प्रतिहजार छ। यो भारत र भियतनामजस्ता देशको तुलनामा धेरै कम हो।

थाई सरकारले अगाडि सारेका स्वास्थ्यसम्बन्धी रणनीति प्रभाकारी साबित भए। सरकारले काम, व्यापार र व्यवसाय गर्नेका लागि अनिवार्य र स्वैच्छिक दुई प्रकारका रोग प्रतिरोधात्मक सर्त तय गर्‍यो। भौतिक उपस्थितिको बाटो पनि खुला गर्‍यो। घरबाटै काम गर्ने विकल्प पनि दिइयो। यसले भीडभाड कम गरायो। प्रविधि प्रयोगमार्फत अनुगमनको व्यवस्था गरेर अति जोखिम भएकाबाहेकका व्यवसयालाई तुरुन्त निरन्तरता दिन प्रोत्साहन पनि गर्‍यो। जतिखेर स्थानीय तहमा केस सक्रिय नै थिए, विद्यालय र विश्वविद्यालय २ हप्ताभन्दा बढी बन्द भएनन्। केहीले अनलाइन प्रबिधि अपनाए भने केहीले अनिवार्य सर्त पालना गरेर ‘फेस टु फेस’ कक्षा चलाए। राष्ट्रिय आवतजावतलाई संक्रमित क्षेत्रमा कडा अनुगमन र प्रभाव नभएका र कम भएकामा खुकुलो नीति अबलम्वन गर्‍यो। एक छाता नीति लिएन थाइल्यान्डले। यसले गर्दा महामारीमा पनि जनताले उति सास्ती भोग्नु परेन। म बैंकक रहे पनि पछिल्लो नौ महिनामा लकडाउन भएर घरबाट निस्कन नपाएको कुनै त्यस्तो दिनको अनुभव गर्नु परेन।

तर, यी नीति र रणनीति केन्द्रीय सरकारको एकल प्रयासको मात्र प्रतिफल भने होइन। सरकारले स्थानीय तहमा १ मिलियनभन्दा बढी ग्रामीण स्वास्थ्य स्वयंसेवक खटायो। उनीहरूले गाउँगाउँमा गोलकिपरको भूमिका खेले। जहिले कोरोनाले गाउँगाउँ आतंकित भएका थिए, रोगको बारेमा सही जानकारी थिएन, रोकथामका सही उपायको ज्ञान गाउँमा थिएन; ती ग्रामीण स्वयंसेवकले गाउँमा कोरोना भाइरस के हो र कसरी बच्ने भनेर जनचेतना फैलाए। मोबाइल फिभर क्लिनिक चलाए। शंकास्पद बिरामीलाई अस्पताल लैजान सयोग गरे। गाउँको कोभिड गतिविधिको निरन्तर रिपोर्टिङ केन्द्रमा गरे। एकबाट अर्को प्रान्तमा यात्रा गर्नेहरूको अनुगमनदेखि घरेलु मास्क बनाएर गाउँलेलाई वितरण पनि गरे। क्वारेन्टाइनमा रहेकाहरूको अवस्था र खानपिनमा उत्तिकै चासो दिए। त्यसबाट बिरामीले माया र उत्साह पाए। यसले संक्रमितलाई रोगसँग लड्ने बल पुग्यो। यी ग्रामीण स्वास्थ्य स्वयंसेवकलाई अहिले ‘नचिनिएका हिरोहरू’ भनेर सम्मान गर्छन् थाई र विदेशीले। यस्ता स्वयंसेवी प्रकृतिका स्थानीय सञ्जालले पनि विपद्मा ठूलो भूमिका खेल्न सक्छ भन्ने कुरा धेरै देशले कम आकलन गरेको देखिन्छ। यो विज्ञ मात्रले योगदान गर्ने समस्या हो भनेर बुझ्ने गल्ती विकसित समाजमा पनि देख्न सकिन्छ। स्थानीय मानव स्रोतसाधनको सदुपयोग गर्ने थाइल्यान्डको नीति अनुसरणीय छ बाँकी विश्वलाई।

त्यसो त राज्यले राम्रा कदम लिँदा पनि जनस्तरबाट सहयोग र समर्थन लिन सक्नु चुनौती बन्दै गएको देखिन्छ वर्तमान विश्वमा। थाई सरकारले भने राम्रै सहयोग, समर्थन र विश्वास जनस्तरबाट प्राप्त गर्न सकेको देखिन्छ। त्यो विश्वास लिन सरकारले सीधा र प्रस्ट सञ्चारको नीति लियो। केन्द्रीय रोग नियन्त्रण गर्न बनेको मुख्य संयन्त्रले दैनिक पत्रकार सम्मेलन गर्‍यो। सरकारका नीति र रोगको अवस्थाको फेहरिस्त जानकारी गरायो आमसञ्चार माध्यममार्फत। स्वास्थ्य मन्त्रालयले विज्ञहरूको संलग्नतामा सम्भावित स्वास्थ्य चुनौतीबारे नियमित रूपमा जानकारी गरायो। उसले जनतालाई स्वास्थ्य सतर्कता अपनाउन उत्प्रेरित गराइरह्यो। प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा राजनीतिक नेताहरूलाई सम्मिलित गराई कोभिड व्यवस्थापन केन्द्र बनाएर सुरुमै सरकारको सम्पूर्ण ध्यान कोरोना नियन्त्रमा रहेको प्रस्ट सन्देश दिए। सरकारले रोग नियन्त्रणमुखी एकीकृत कार्यक्रममार्फत जनताको मन जित्यो। यसले गर्दा जनस्तरमा ठूलो अत्यास आएन। बिरामी परे राज्यले हेर्छ भन्ने विश्वास जनतामा देखियो। विपत्का बेला जनताको मनोबल उच्च हुनुले सरकारका नीति निर्देशन र नियमावली कार्यान्वयन गराउन ठूलो मद्दत पुग्यो। सरकारले सबैलाई मास्क लगाऊ भन्यो। त्यसलाई सबैले फलो गरे। दूरी कायम गर भन्यो, सबैले पालना गरे। नाक र मुख छोप्नु भन्दा अन्यत्रजस्तो चिउँड़ोमा मास्क लगाएर हिँड्ने थाई कतै देखिएनन्। संक्रमण रोक्न चालिएका कदमविरुद्ध जनता सडकमा पनि आएनन् बरु उल्टै सहयोग गरे।

अर्को बलियो पक्ष भनेको थाइल्यान्डले सार्वजनिक स्वास्थ्यमा गरेको विगतको लगानी हो। उसले पछिल्लो ५० वर्षमा १ हजारभन्दा बढी सुविधासम्पन्न अस्पताल र १० हजारभन्दा बढी प्राथमिक स्वास्थ्य केन्द्र बनाएको छ। ती केन्द्रले द्रुत र चुस्त सेवा दिन सके। यसका साथै थाइल्यान्डले सन् २००२ देखि नै युनिभर्सल हेल्थ कवारेज लागू गरेको छ। सरकारले थाई र यहाँ बस्ने विदेशीलाई पनि कोभिडको निःशुल्क उपचार गर्ने नीति अगाडि सार्‍यो। यसले सरकार र जनताबीचको विश्वास पनि बढ्यो। कोभिडले २ साता बन्द भएर पहिलो दिन विश्वविद्यालय पुग्दा स्टाफले मेरो हातमा कोभिड इन्स्योरेन्स कार्ड थमाएका थिए। यसको मतलब सरकार र सबै अंग जिम्मेवार र एकीकृत भएर लागेको प्रस्ट देख्न सकिन्थ्यो।

यी सबै फ्याक्टरले परिणाम निकाल्न सक्नुमा सबैभन्दा प्रमुख भूमिका भने सरकारले समयमै एक्सन लिन सफल भयो। उदाहरणका रूपमा सबभन्दा पहिला कन्ट्याक्ट ट्रेसिङ गरेर चीनबाट बाहिरी संसारमा कोरोना संक्रमण प्रमाणित गर्‍यो। चाँडै लकडाउन गर्‍यो तर लम्ब्याएन। सुरुका केही हप्ता बाहिरी देशसँगको आवतजावत नरोकेकाले मात्र अहिलेको संख्यामा संक्रमण भएको हो। त्यति बेला अन्तर्राष्ट्रिय सीमाहरू बन्द गर्ने नगर्ने एउटा अन्योलमा विश्व नै थियो। जब सीमा नाका बन्द गर्ने अभ्यास सुरु भयो, थाइल्यान्डले तुरन्तै निर्णय लियो। जब कोरोना नियन्त्रण गर्ने कि अर्थतन्त्र जोगाउन लाग्ने भन्ने अवस्था आयो, प्राथमिकता समयमै तोक्न सक्यो। सही समयमा सही निर्णय लिन सक्नु थाई सरकारको अर्को सफलताको सकारात्मक पाटो हो।

यथार्थमा अहिले पनि थाइल्यान्डमा संकट नै छ तर मानिसहरू देशभित्र निर्धक्क आवतजावत गर्न थालेका छन्। सभा सम्मेलन र व्यापार व्यवसाय सुरु गरेका छन्। मैले पनि गत जुलाईदेखि विश्वविद्यालयमा नियमित फेस टु फेस पढाइरहेको छु। बिस्तारै यहाँ न्यु नर्मलको अनुभूति भएको छ। स्यानिटाइजर, भौतिक दूरी र मास्क न्यु नर्मलका अनिवार्य टुल भएका छन्। तिनै टुलसँग ओल्ड नर्मलका काममा मजस्तै धेरै थाई फर्किरहेका छन्। नियम पालना गर्ने आचरण भएका र सरसफाइ र सुन्दरतालाई महत्व दिने थाईहरूले मास्कलाई नया फेसन आइटम र स्यानिटाइजरलाई बडी लोसनजस्तो मानेका छन्। उनीहरू भौतिक दूरी राख्दै अहिले दैनिक नियमित रुटिनमा व्यस्त छन्। यस्तो लाग्छ, कोरोनाको खतरा थाहा पाए पनि अब योसँग बचेर बस्न सकिन्छ भन्ने मनोविज्ञान थाईहरूले विकास गरेका छन्।

कोरोना उन्मूलन भएको छैन तर यसले कसैलाई सताउन पनि पाएको छैन थाइल्यान्डमा। यही होला साँचो अर्थमा कोरोनासँग लिभिङ टुगेदर भनेको पनि। दिनदिनै कोरोना संक्रमण वृद्धि हुँदै जाने र मर्नेको संख्या पनि बढ्दै जाँदा त कसरी कोरोनासँग लिभिङ टुगेदर गर्न सक्ला नेपालले ? कतै थाइल्यान्डको लिभिङ टुगेदर मोडेल पो नेपाललाई अलि काम लाग्थ्यो कि ?

(किङ मोङ्कुट युनिभर्सिटी अफ टेक्नोलोजी नर्थ बैंककमा प्राध्यापनरत ढकाल नेपालीहरूको अन्तर्राष्ट्रिय थिंक ट्यांक नेपाल पोलिसी इन्स्टिच्युटका अध्यक्ष हुन्। यो लेखमा व्यक्त विचार भने ढकालका निजी हुन्।)

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु