सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेको मान्यता अनुसार सोमवार विजयादशमी मनाइँदैछ ।

आजको दिन गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दूर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेंलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाइन्छ ।

जमराले विभिन्न रोगव्याधिमा औषधिको रूपमा काम गर्ने तथ्य वैज्ञानिकरूपमा समेत पुष्टि भइसकेको छ । कोरोना भाइरसको संक्रमण फैलिरहेकाले जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।

घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो । असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रूपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्त्वपूर्ण दिन हो ।

विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ –

आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।
शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दूर्गादेवीको स्वरूप मानेर आशीर्वाद दिइन्छ –

जयन्ती मंगलाकाली भद्रकाली कपालिनी ।
दूर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।

दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दूर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको संक्रक्रमणका कारण सुरक्षित हुनुपर्नेछ ।

मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन पञ्चांग निर्णायक समिति समितिले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर