झिलिङ्गा बेचेर तनहुँका १ दम्पती मनग्य आम्दानी गर्न सफल भएको छ । लामो समयदेखि दमौलीमा होटल व्यवसाय गर्दै आएका जिल्लाको व्यास नगरपालिका–३ देउरालीनगरका तारादेवी र विष्णुकुमार श्रेष्ठ दम्पती झिलिङ्गा बेचेर अहिले राम्रो आम्दानी गर्न सफल भएका हुन् । अहिले यो व्यवसायबाट सबै खर्च कटाएर दैनिक १ हजार रुपैयाँ बचत हुने गरेको तारादेवीले बताइन् ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लामो बन्दाबन्दीका कारण होटल बन्द भएपछि सो दम्पतीले झिलिङ्गा व्यवसाय शुरू गरेको हो । होटल बन्द भएपछि भाडा दिन पनि ऋण खोज्नुपर्ने अवस्था आएपछि सो व्यवसाय छाडेर झिलिङ्गा व्यवसाय शुरू गरिएको उनले बताइन् ।

‘माइजु केशीमाया श्रेष्ठबाट झिलिङ्गा बनाउन सिकेर गत असोज १६ गतेदेखि यो व्यवसाय शुरू गरेको छु,’ तारादेवीले भनिन्, ‘दैनिक ३ हजार बढीको झिलिङ्गा बिक्री हुँदा १ हजार मुनाफा हुने गरेको छ ।’ उनका अनुसार बिक्रीको कुनै समस्या छैन । झिलिङ्गा घरबाटै ग्राहकले लैजाने गरेका छन् ।

चाडपर्वको समय भएकाले हाल झिलिङ्गाको माग अत्यधिक भइरहेको तारादेवीको भनाइ छ ।

होटल बन्द भएपछि त्यतिकै बेरोजगार बस्नुभन्दा यो व्यवसाय गरेर केही आम्दानी हुन्छ कि भनी झिलिङ्गा बनाएर बेच्न थालेको बताउँदै तारादेवीका पति विष्णुकुमारले अहिले यसबाट घरखर्च राम्रोसँग चलेको बताए । आफूले घरमा घरायसी प्रविधिबाट झिलिङ्गा बनाउने र स्थानीय बजारमा नै खपत गरेको उनको भनाइ छ ।

काम गर्न सके जे गरे पनि राम्रो गर्न सकिने र काम पाइएन भनेर भौंतारिएर हिँड्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । दशैंतिहारजस्ता चाडपर्वमा झिलिङ्गाको माग अत्यधिक हुने गरेको छ । यसका साथै विवाह, व्रतबन्ध, धार्मिक कार्य तथा खाजाका रूपमा पनि यसको प्रयोग बढ्न थालेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय