सुर्खेत – आइतबार कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठन नहुने भएको छ । आइतबारै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी भए पनि अहिलेसम्मको छलफललाई हेर्दा आज पुनर्गठनकाे सम्भावना नभएको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस संयोजक ध्रुव बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रिमण्डल पुनर्गठनका लागि मुख्यमन्त्री शाहीले केन्द्रसँग पनि छलफल गरिरहनुभएको छ । ‘मन्त्रिमण्डल हेरफेर हुन्छ, तर आजै हुने सम्भावना भने छैन’, उहाँले भन्नुभयो ।

स्रोतका अनुसार नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन तथा वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी छ । चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई नयाँ मन्त्रीका रुपमा जिम्मेवारी दिने तयारी छ ।

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले पनि सरकारबाट बाहिरिने सङ्केत गर्नुभएको छ । उहाँले आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् ३२ महिने कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । असोज २५ गते मुख्यमन्त्री शाहीविरुद्ध नेकपा संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएसँगै विवाद बढेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय