मुख्य खबर

आँखाका बिरामी बढेपछि उपचारका लागि चाप


  काठमाडाैं   रासस   २०७७ कार्तिक १७, १४:५२

रोल्पामा आँखाका बिरामी बढेका छन् । वायु प्रदूषण र मोबाइलको अत्यधिक प्रयोगका कारण आँखाको समस्या देखिएपछि जिल्ला सामुदायिक आँखा केन्द्रमा उपचारका लागि जानेको चाप बढेको छ । विक्रम संवत् २०७५ सालमा ३ हजार ३९० जना बिरामीले आँखा परीक्षण गराएका थिए ।

यसरी परीक्षण गराएका मध्ये ६२ जनाले सामान्य शल्यक्रिया गरेका थिए । आँखामा मोतियाविन्दुको समस्या देखिएका १६८ जनाले शल्यक्रिया गरेका हुन् । गत वर्ष ४ हजार ५६१ जनाले आँखाको परीक्षण गराएका थिए । यसरी परीक्षण गराएकामध्ये ११५ जनाले सामान्य शल्यक्रिया गरेका थिए । यसैगरी ३०५ जनाले मोतियाविन्दुको शल्यक्रिया गरेका थिए ।

यो संख्या चालु वर्षमा झनै बढेको देखिएको छ । चालु वर्षको कात्तिक १५ गतेसम्म २ हजार ३८१ जनाले आँखाको परीक्षण गराएका छन् । यसरी परीक्षण गराएकामध्ये १०२ जनाले सामान्य शल्यक्रिया गरेको र अन्यले औषधि तथा चश्मा प्रयोग गरेको सामुदायिक आँखा केन्द्र रोल्पाले जनाएको छ ।

लामो समयसम्म भएको बन्दाबन्दीमा बालबालिकादेखि वुद्धवुद्धाले समेत मोबाइलको अत्यधिक प्रयोग गरेका कारण आँखाका विरामी बढेको हुनसक्ने सामुदायिक आँखा केन्द्र रोल्पाका इन्चार्ज मिलन खत्रीको भनाइ छ । बन्दाबन्दीको अवधिमा दैनिक ५/७ जना बिरामी आउने गरेकामा अहिले यो संख्या दिनहँु ३०/३५ पुगेको खत्रीले बताए ।

दृष्टिदोष, बालबालिकामा आँखा रातो भएर चिलाउने, चोटपटक लाग्ने, मोतियाविन्दु, जलविन्दु, मधुमेह र उच्च रक्तचापजस्ता समस्या लिएर बिरामी आउने गरेको सामुदायिक आँखा केन्द्रले जनाएको छ । यसरी उपचार गर्नेमध्ये अधिकांश जिल्लावासी भएपनि छिमेकी जिल्ला प्यूठानबाट समेत आउने गरेको केन्द्रको भनाइ छ ।

रोल्पा नगरपालिका–२ निवासी चिन्तामणि आचार्यले दान दिएको जग्गामा बनेको भवनबाट २०७३ सालदेखि सेवा दिइएको छ । भवन निर्माणका लागि अमेरिका—नेपाल सहयोग मेडिकल फाउण्डेशनले सो भवन निर्माणमा सहयोग गरेको थियो । सेवा केन्द्रमा ५ जना स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

आँखा केन्द्रले बिरामी परीक्षण, सामान्य शल्यक्रिया, शिविरमार्फत मोतिया विन्दुको शल्यक्रिया, चश्मा तथा औषधि वितरण र परामर्श सेवा दिदै आइरहेको छ । जिल्लामै यो सेवा उपलव्ध भएपछि जिल्ला बाहिर जानुपर्ने समस्याबाट मुक्त भएको परिवर्तन गाउँपालिका–३ की गंगासरी बुढाले बताइन् ।

मोबाइल तथा कम्युटरको बढी मात्रामा प्रयोग गर्दा पटक–पटक आँखामा समस्या देखिने गरेको बुढाको भनाइ छ । लामो समयपछि आँखा केन्द्रबाट सामान्य सेवा पाइरहेका जिल्लावासीले विशेषज्ञ सहितको अस्पतालबाट यो सेवा उपलब्ध भए थप सहजता हुने स्थानीय समाजसेवी नन्दकुमार आचार्यले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु