बिचार/ब्लग

राजनीति, राजनेता र नेतृत्व


  दमक   सवाल नेपाल   २०७७ कार्तिक १९, १६:४३

सुरेन्द्र राज दहाल/

राजनीति गर्नु भनेको सामान्य कुरा होइन । राजनीतिमा तत्कालको परिस्थिति अनुसार निर्णय गर्न सक्ने र भविष्यमा दुरदृष्टि राख्न सक्ने अनि सोहि अनुसार निति बनाउन सक्ने जिम्मेवार अध्यनशिल, निर्णायक र कुनै पनि कुरालाई परिस्थिति अनुसार सहि विश्लेषण गर्न सक्ने व्यक्ति मात्र नेता हुन सक्दछ । राजनिति भनेको राज्यको निति हो । सामान्य क्षमता र दक्षताबाट नेता मात्र हुन सकिन्छ तर त्यसले सहि नेतृत्व दिन सक्दैन । हामीलाई चाहिएको सहि नेतृत्व दिन सक्ने व्यक्ति हो नेता होईन ।

नेतृत्व भनेको सहि मार्ग निर्देश गर्नु हो । सहि मार्गको पहिचान गरेर हिँडन र हिँडाउन सके मात्र गन्तव्यमा पुग्न सकिन्छ । गन्तव्यको पहिचान नगरि यात्रा गर्दा लक्ष्य भेटाउन सकिँदैन । जस्तै ः कासी जान्छु भनेर पाथिभराको बाटो हिँडदा कासी कहिल्यै पुगिदैन । देशको अवस्था हेर्दा लक्ष्यको पहिचान नगरेरै यात्रा गरेको अनुभव हुन थालेको छ । अहिले सम्म हाम्रो देशमा नेताहरु धेरै जन्मिए तर सहि नेतृत्व दिन सक्ने व्यक्तिहरु नहुँदा देशले अनिर्णय र अस्तव्यस्तताको अवस्था भोग्नु परिरहेको छ ।

देशमा जति पनि पढेलेखेका विद्धान वर्गहरु छन ति सबै कि त जागिर खान्छन कि विदेश जान्छन तर जो काम गर्दैनन, जागिर खाने हैसियत पुग्दैन, धेरै बोल्छन तिनिहरुलाई हामिले नेता बनाएका छौं । देश र जनताको विषयमा सोच्न ज्ञान र जानकारी चाहिन्छ । सपना र संकल्प थोरै ज्ञानबाट प्राप्त हुँदैन । त्यो नभएपछि कार्ययोजना हुन सक्ने कुरा भएन । उदाहरणको रुपमा पुर्व प्रधानमन्त्रि सुर्य बहादुर थापा निजामति सेवाको लागि तिन पटक लोक सेवामा फेल भएर जागिर खाने हैसियत नपुगेपछि राजनितिमा लागेको कुरा सर्वविदितै छ ।

राजनितिमा सफलता मिलेपछि धेरै वर्ष सम्म देशको प्रधानमन्त्रि पदमा बसेर शासन चलाए । अल्पज्ञानबाट राजनितिमा लाग्दा कर्मचारीतन्त्रको हाबि नहुने कुरै भएन । अहिलेको लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा पनि यो भन्दा अघि प्रधानमन्त्रिमा छँदा माधव कुमार नेपाललाई मन्त्रालयका सचिवहरुले नटेरेको भन्दै बैठकमै सचिबहरु प्रसत रोष प्रकट गरेको कुरा सबैलाई जानकारी नै छ ।

मन्त्रालय देखि तल्लो निकाय सम्म कर्मचारीहरुबाट जनताले चुनेर पठाएका नेताहरु पेलानमा छन । विश्वमा शक्ति तिन बस्तुमा हुन्छ( पैसा, जनता र ज्ञान । अहिले हाम्रो देशका नेताहरुमा भएको ज्ञानको कमीले गर्दा शासन व्यवस्था कर्मचारीको हातमा छ । देश चलाउनु पर्ने नेताले हो तर नेताहरु कर्मचारीका साक्षि बनेका छन र बुख्याँचा भएका छन सिंहदरबार र मन्त्रालयका ।

नेतृत्व भनेको समय र परिस्थितिलाई विचार र विश्लेषण गरेर देश र जनताको भलाई हुनसक्ने निति बनाउने हैसियत भएको स्थान हो । निति भनेको कानुन हो । नेताहरुमा कानुन बनाएर लागु गराउन सक्ने क्षमता भएको सक्षम व्यक्ति चाहिन्छ । देशमा व्यक्तिले नभई नितिले शासन गर्नुपर्दछ । नितिको शासनलाई नै कानुनको शासन भनिन्छ । निति बनाउन नसक्ने नेताको नेतृत्व स्वीकार्नु भनेको आँखामा पट्टी बाँधेको ड्राईभरको भर परेर सेवा गर्नु जस्तै हो ।

हुनत हाम्रो संस्कार नै पढेलेखेकाले जागिर खानुपर्छ र नपढेकाले मात्र राजनिति गर्ने हो भन्ने चलन रहि आएको पाईन्छ । दशैँ जस्तो महान चाडमा ठुलाबडा र अभिभावकहरुबाट टिका थाप्न र आर्शिबाद लिन जाँदा राम्रो पढनु, जागिर खानु, पैसा कमाउनु र आफनो पारिवारीक जीवन राम्रो सँग चलाउनु भन्ने आर्शिबाद दिने चलन छ । हुनत यो आर्शिबाद नराम्रो भन्न खोजेको होईन तर यस्ता आर्शिबादले आफनो लागि मात्र सोच्न प्रेरित गर्याे ।

अरुहरुको लागि पनि सोच्नुपर्छ भनेर कहिल्यै भनेन । हाम्रो मानसिकतामा अरुको भलो हुँदा सबैको भलो हुन्छ भन्ने कुराले कहिल्यै भरेन । आफनो इष्टमित्रकोे भलो र प्रगति हुँदा हामि कहिल्यै खुसि हुन सकेनौं । अरु लडदा हामि हाँस्छौ । हामि लडदा अरु पनि हाँस्छन भन्ने कहिल्यै सोच्दैनौं । राम्रो पढेपछि राजनितिज्ञ बन्नु देश र जनताको सेवा गर्नु भन्ने आर्शिबाद दिएको अहिले सम्म मैले देखेको र सुनेको छैन ।

यदि ज्ञान र विवेक प्रयोग गर्न नसक्ने नेतृत्व भएमा देश जहिले पनि अनिर्णयको दलदलमा फस्न सक्छ । सबैले आफना स्वार्थका कुरा मात्र बोल्दछन अरुका कुरा सुन्ने संस्कार हुँदैन । आफुले बोलेका कुरा जति सबै ठिक अरुको बिचार सबै गलत भन्ने संस्कार मौलाउँदै जान्छ । निकास निस्कँदैन, विश्लेषण गर्दैनन र नेताहरु एउटा भिड मात्र हुन्छ । त्यसैले गर्दा जनताहरुले संधै दुख पाउँछन तर नेताहरुले झुटा र बनावटी भाषण दिँदै हिँडन थाल्दछन ।

जनताहरुका अगाडि दोष जति अरुलाई दिँदै आफु पानी माथिको ओभानो बन्दछन । यसबाट नेताहरुले जनताहरुलाई झुक्याउने नाटक मञ्चन मात्र हुन सक्दछ । यस्तो दुषित मानसिकताको उपजबाट कुप्रवृतिले आफनो भविष्य त राम्रो गर्लान तर देश र जनताको दुख र कष्ट कहिल्यै हटन सक्दैन ।

हाम्रो देशमा नेताहरु धेरै छन तर राजनेता दिउँसै बत्ति बालेर खोजे पनी भेटाउन गाह्रो भैसकेको छ । अहिले देशलाई चाहिएको राजनेता हो । राजनेता भनेको देश र जनतालाई माया गर्ने निश्वार्थ भावना बोकेको व्यक्ति हो । यस्ता व्यक्तिहरु एउटा दुईटा मात्र भए पनि देशलाई पुग्दछ । भनिन्छ, एउटा कोठालाई उज्यालो गर्न एउटै मैन बत्ति भए काफि हुन्छ । यहाँ मात्र एउटा मैन बत्तिको आवश्यकता परेको छ, जसले आफु जलेर पनि अरुलाई उज्यालो प्रकाश छर्न सकोस ।

एउटा मैन बत्ति जस्ले हजारौं अन्य मैन बत्तिहरुलाई बाल्दै र प्रकाश छर्दै जान जकोस त्यस्तो व्यक्तिको खाँचो छ । गौतम बुद्ध एकजना मात्र थिए जस्ले शान्तिको शन्देश छोडेर गए, मदन भण्डारी एउटै थिए जस्ले जनताको बहुदलिय जनवादको शिद्धान्त छोडेर गए भने वि. पि. कोईराला एउटै थिए जस्ले प्रजातान्त्रिक समाजबाद सिद्धान्तको थालनी गरे ।

अहिले सम्मको अनुभवमा हामीले बनाएका नेताहरुको बानी भनेको अरुको आलोचना र अरुलाई गाली गर्ने मात्र रहेको देखिन्छ । जो अगुवा उसैले बाटोलाई दुषित बनाउने भएपछि अरु अनुयायीहरुले उसबाट सिक्ने पनि त्यहि विग्रेको बानी हो । अरुको आलोचना गर्दा जति मज्जा आउँछ त्यति आलोचना हुँदा दुख लाग्ने कुराको पनि महशुस हुनुपर्ने हो ।

मेरा गुरुले म सानो छँदा मलाई सिकाउनु भएको एउटा कुराको याद अझै आउँछ त्यो हो तिमि अरुसँग त्यस्तो व्यवहार गर्नु जुन व्यवहार अरुले तिमिसँग गदाँ तिमिलाई राम्रो लाग्छ । हामि जनताहरु पनि दर्शक भएर अरुलाई गाली गर्दा अभद्र र अपशब्द बोल्दा ताली बजाउँछौं, खुसी हुन्छौं र तारिफ गर्छौं अनि भन्छौं फलानो नेताले त साह्रै मिठो माषण गर्यो । अनि हामि त्यसैमा मख्ख पर्छौ । कस्तो कुसंस्कार हामिले अरुले गरेका राम्रा कामको सहयोग त छाडौं सराहना पनि गर्दैनौ, राम्रो कामहरुको प्रशंसा र प्रेरणा समेत दिन जान्दैनौं ।

अझ नकारात्मक दृष्टिकोणबाट मुल्याङकन गर्दै आलोचना गर्न र शंका गर्न पनि पछि पर्दैनौं । अनि हामि भन्दा अघाडि हुने भयो र जान्ने भयो भन्दै सशंकित हुन्छौं । यदि राजनितिक अगुवाहरुको मनमा सकारात्मक सोंच मात्र भैदिने हो र राम्रा कामको प्रशंसा मात्र गर्दिने हो भने पनि काम गर्नेहरुलाई प्रोत्साहन मिल्ने र अन्य राम्रा काम गर्न जाँगर मिल्ने थियो होला । तर राम्रो काम गर्नेहरुको आलोचना गर्ने अनि आफु कामै नगर्ने परम्पराले गर्दा मान्छे जस्तै जंगलमा बस्ने प्राणीको व्यवहारले गर्दा हामि कति पछि छौं त्यो व्यक्त गरि राख्नु पर्ने विषय हो जस्तो यो सुरेन्द्रलाई लाग्दैन ।

देशलाई विकास र प्रगति तिर लैजाने हो भने देश र राष्टलाई माथि उठाउने हो भने युवा वर्गलाइ क्षमता र दक्षताको आधारमा नेतृत्व पंतीमा अगाडि आउने अवसर दिनुपर्दछ । नेताहरुले युवाहरु भविष्यका कर्णधार हुन भनेर आशावादी मात्र बनाएर भविष्य मात्र देखाएर बर्तमानको बाटो छेक्ने रणनिति त्याग्नुपर्छ । यतिखेर युवाहरुको महान कार्यलाई मुल्याङन गर्ने बेला आएको छ । यस्तो अवस्थामा युवाहरुलाई सहयोगको खाँचो छ ।

अब युवा भनेका भविष्यका कर्णधार मात्र होईनन वर्तमानका साझेदार र धरोहर पनि हुन । लामो समयदेखि काम गरेर आएको एउटा अमुक पार्टिमा लागेको, जेलनेल पाएको र आन्दोलन गरेको आधार मात्रको मुल्याङकनबाट नेता बनाइनु हुँदैन । त्यसको ब्याजले सँधैलाई चल्दैन र चलाउनु हुँदैन । त्यसो भएमा पार्टी र नेतृत्व पंत्तीमा तानाशाह जन्मिन्छ । तानाशाह र निरंकुशताबाट चलाइएको शासन जिवन्त रहँदैन । अब दक्षता र क्षमताको आधारमा युवाहरुलाई जिम्मेवारी दिइनुपर्छ । त्यसो भएमा मात्र राजनैतिक परिवेश सकारात्मक रुपबाट अगाडी बढन सक्छ । किनकी २००७ साल देखिको परिवर्तनमा युवाहरुको महत्वपुर्ण योगदान रहँदै आएको छ चाहे जुनसुकै पार्टीको किन नहोस ।

त्यसैले भनिन्छ युवाहरु परिवर्तनका वाहक हुन, सृजनाका आधार हुन र विकासका पुर्वाधार हुन । परिवर्तनको लागि युवाहरुलाई हतियार बनाउने तर परिवर्तन पश्चात स्वार्थपूर्ति आफुले गर्ने अनि युवाहरुलाई बाँदरको पुच्छर लौरो न हतियार जस्तै बनाउने हो भने युवाहरु परिवर्तनको लागि फेरी उठन सक्छन र त्यसले तानाशाह र निरंकुश प्रवृतिलाई भत्काउन सक्छन । तसर्थ ः अबको शासन व्यवस्था युवाहरुलाई प्रत्यायोजन गर्दै अघाडी बढेमा देश र जनताको भलो अवश्य संभव रहेको छ भन्ने म देख्दछु ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु