अन्तराष्ट्रिय

जो बाइडेनको यात्राः कान्छा सिनेटरदेखि जेष्ठ राष्ट्रपतिसम्म


  दमक   एजेन्सी   २०७७ कार्तिक २३, ०७:०६

एजेन्सी । सन् १९७२ मा डेलवेरबाट सिनेटर निर्वाचित हुँदा जो बाइडेन केवल २९ वर्षका थिए । तत्कालीन अमेरिकी सिनेटका कान्छा सदस्यलाई ह्वाइट हाउसको ढोका खोल्न थप ४८ वर्ष लाग्यो । जतिबेला २० जनवरीमा राष्ट्रपतिको सपथ हुनेछ, त्यतिबेला बाइडेन ७८ वर्ष पुगिसकेका हुनेछन् । अमेरिकी इतिहासमा बाइडेनजत्तिको पाको उमेरमा कोही पनि राष्ट्रपति निर्वाचित भएको छैन ।

कोरोना नियन्त्रणका लागि राष्ट्रव्यापी परीक्षण र ट्रेसिङ कार्यक्रम, रोजगारीमा न्युनतम आय बढाउने, साना उद्योगहरुलाई दिइने ऋण बिस्तार गर्ने, न्याय प्रणालीमा सुधार ल्याउने, अल्पसंख्यक समुदायका लागि व्यवसायमा सहयोग गर्ने, हरित उर्जामा लगानी बढाउने, पेरिस जलवायु सम्झौतामा पुनरागमन गर्ने, नाटो गठबन्धनलगायत मित्रशक्तिसँग बिग्रिएको सम्बन्ध सुधार्ने, ओबामा केयरलाई बिस्तार गर्ने, आप्रवासीहरुप्रति उदारता देखाउने लगायतका विषयलाई चुनावी मुद्दा बनाएका बाइडेनलाई अमेरिकी जनताहरुले इतिहासमै सबैभन्दा धेरै मत खसालेका छन् । (यद्यपि, अमेरिकी राष्ट्रपतिको चयन लोकप्रिय मत नभएर इलेक्टोरल कलेजका आधारमा हुन्छ र आवश्यक २ सय ७० इलेक्टोरल मत पुुर्याइसकेका बाइडेनले २ सय ९० देखि ३ सय ६ मत ल्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रक्षेपण छ ।)

कुनै समय रंगभेद उन्मुलनविरुद्ध अदालतले दिएको आदेशविरुद्ध लडेका बाइडेन आज अफ्रो–अमेरिकी र रंगभेद विरोधीहरुकै नेता बनेका छन्, विभाजित अमेरिकालाई एकढिक्का गर्ने उनको वाचा छ । कुनै समय उनी अस्थिर मानिन्थें, अहिले परिपक्व र धैर्यवान् मानिन्छन् ।

ती असफल प्रयास
राष्ट्रपति बन्नका लागि उनले यसअघि नै दुुईपटक असफल प्रयास गरेका थिए – १९८८ को राष्ट्रपतिय निर्वाचनका लागि दाबी पेश गर्दा धेरैले उनलाई अन्य डेमोक्रेटको दाँजोमा फरक उम्मेदवार ठानेका थिए, उनको युवा जोश र भाषण कलाले धेरेलाई लोभ्याएको पनि थियो । तर, निर्वाचन अभियानताका बेलायती लेबर पार्टीका नेता निल किन्नकको भाषण बङ्ग्याएर आफ्नो जसरी पेश गरेको आरोप लागेपछि गल्ती स्वीकार्दै उनले उम्मेदवारी फिर्ता लिए । उनीविरुद्ध तीनवटा डिग्री लिएको भन्दै गलत प्रचार गरेको, कलेजको थेसिस चोरेकोलगायत आरोप पनि लागेका थिए । बाइडेनलाई दोस्रो पटक राष्ट्रपतिको दाबी पेश गर्न थप दुुई दशक लाग्यो । २००८ मा डेमोक्रेटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार रहेका बाइडेनले अन्तत ३ जनवरी २००८ मा उम्मेदवारी फिर्ता लिएर ओबामालाई समर्थन गरे ।

यसपछि ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपतिको उम्मेदवार बने । यस चुनावमा गोराहरुलाई ओबामातर्फ आकर्षित गराउन बाइडेनकोे भूमिका ठूलो थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको बुुझाईमा ‘अमेरिकाले पाएका उपराष्ट्रपतिमध्ये बाइडेन अहिलेसम्मकै उत्कृष्ट हुन् ।’ यस्तो टिप्पणी अस्वभाविक पनि होइन, किनकि ह्वाइट हाउसमा युवा ओवामालाई अनुुभवी बाइडेनले नै उपराष्ट्रपतिका रुपमा दरिलो साथ दिएका थिए ।

पटक–पटक सिनेटर भइसकेका बाइडेनसँग सिनेटको न्यायिक समिति र विदेश विभाग कमिटीको अध्यक्षता गरेको अनुुभव थियो भने ओबामासँग युवा जोश । एफोर्डेवल केयर एक्ट, आर्थिक मन्दीको समय ल्याइएको इन्सेन्टिभ प्याकेज र सुधार योजना, पेरिस जलवायु सम्झौता, ईरानसँगको आणविक सम्झौता लगायतमा बाइडेनको भूमिका पक्कै कम थिएन । ओबामासँगको घनिष्ट सम्बन्धका कारण पनि अफ्रो–अमेरिकी मतदातामाझ बाइडेन लोकप्रिय बने । उनी ओबामालाई आफ्ना ‘भाई’ भन्थें ।

ओबामा कार्यकालमै सिरिया द्वन्द्वमा अमेरिका फस्यो, दशौं लाख बिस्थापित भएको र लाखौंले ज्यान गुमाएको यस द्वन्द्वको घाउ अझै आलै छ । लिबियालगायत अन्य भूू–भागमा पनि अमेरिकी सैनिकले हस्तक्षेप गरे । त्यसैले, ओबामा कार्यकालको उपलब्धिका जस लिने बाइडेनलाई यस समय भएका गल्तीको अपजस पनि जान्छ ।

राजनीतिक इतिहास

सुरुवातमा बाइडेन पनि नश्लिय चिन्तनकै थिए । १९७० को दशकमा छालाको रंगका आधारमा विद्यार्थीहरुलाई स्कुल बसमा राख्ने व्यवस्था खारेज गर्न अदालतले आदेश दिएपछि त्यसको विरोध गरिरहेका दक्षिणी विभाजनकारीहरुको पक्षमा बाइडेन उभिएका थिए । बिस्तारै उनको परिचय फेरिदैं गयो ।

१९७२ मा पहिलोपटक डेलवेरबाट सिनेटर चुनिएका बाइडेन आफ्ना कमजोरीहरुकै कारण विगतमा विवादमा पनि तानिएका थिए । उनी १९९४ मा आएको अपराधविरोधी विधेयकको कडा समर्थक थिए, जबकी यस विधेयकले ठूलो र सामुहिक जेल सजायलाई प्रोत्साहन गरेको भन्दै उदारवादीहरुले विरोध गर्ने गर्छन् ।

अनिता हिल काण्ड

बाइडेनलाई सबैभन्दा ठूलो विवादमा यही प्रकरणले तान्यो । १९९१ मा जतिबेला बाइडेन सिनेटको न्यायिक कमिटीको अध्यक्ष थिए, त्यतिबेला अनिता हिल प्रकरण मिडियामा छायो । तत्कालीन समयमा सिनेटमा डेमोक्रेटिक पार्टी बहुुमतमा थियो, तर देशमा राष्ट्रपति थिए रिपब्लिकन पार्टीका जर्ज एच डब्ल्युु बुस (सिनियर) । बुसले क्लेरेन्स थोमसलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरेलगत्तै पुरातनवादी राजनीतिक सोचका थोमसविरुद्ध महिलावादी र जनअधिकारवादी समूहहरुले विरोध प्रदर्शन थाले ।

त्यही क्रममा इक्वेल इम्प्लोइमेन्ट अपर्च्युनिटी कमिसनमा थोमसको सहायक रहेकी अनिता हिलसँग एफबिआईले गरेको गोप्य कुराकानी मिडियामा सार्वजनिक भयो, अनिताले थोमसमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यी युवती त्यसअघि अमेरिकी शिक्षा विभागमा पनि थोमससँगै काम गर्थिन् । सिनेटमा थोमसको सुनुवाई सुरु भयो । न्यायिक कमिटीका अध्यक्ष बाइडेनका लागि यो ठूलो परीक्षा थियो । अनिता हिलले सिनेटमै उपस्थित भएर आफुमाथि कार्यस्थलमै यौन दुर्व्यवहार भएको बयान दिइन् ।

उनका अनुसार थोमसले पटक–पटक घुम्न जाने प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकार गरेपछि कार्यस्थलमै आएर पोर्न फिल्म र सेक्सका कुरा गर्थें, यो सुनुवाई टेलिभिजनमार्फत प्रशारण भएकाले धेरै अमेरिकीहरुले हेरेका थिए। न्यायिक प्यानलमा रहेका रिपब्लिकनका सदस्यहरुले अनिताको बयान झुुठो रहेको भन्दै त्यसलाई खारेज गर्न माग गरे, तर बाइडेनले अनिताको बचाऊ गर्न सकेनन् ।

उनकोे प्रस्तुति अस्थिर र कमजोर देखिएको भन्दै आलोचना भयो । सिनेटर अर्लेन स्पेक्टरले कार्यस्थलमा ‘ठूलो स्तन’ बारे चर्चा हुुनु सामान्य नै रहेको टिप्पणी गर्दा समेत बाइडेन निरीह थिए । सुनुवाईका बाबजुद पक्षमा ५२ र विपक्षमा ४८ मत आएपछि थोमसको नाम अनुमोदन भयो । जबकी, सिनेटमा विपक्षी डेमोक्रेटिकको बाहुल्यता थियो । बाइडेनले विपक्षमै मतदान गरेका थिए ।

आफ्नो आत्मकथामा अनिता हिलले बाइडेनको खरो आलोचना गरेकी छिन् । बाइडेनले २००८ मा यसबारे मुख खोलेका थिए । सिनेटको प्रक्रियाअनुसार सबै काम अघि बढेको र आफुले जनाजान अनितालाई समस्या नपारेको उनको स्पष्टोक्ति थियो । उनले यसका लागि अरु नै दोषी रहेको बताएका थिए । तर, २०१९ सम्म आइपुुग्दा बाइडेन अझै नरम भइसकेका थिए । ‘उनीसँग जस्तो व्यवहार भयो, त्यसबाट मलाई दुःख लागेको छ,’ बाइडेनले भने,‘तर, मैले के भनेको थिएँ र भनेको थिइँन भनेर तपाई हेर्नुस् । मलाई लाग्दैन मैले उनलाई गलत गरेँ ।’ यी रेकर्डहरुका कारण कहिलेकाँही बाइडेनलाई आधुनिक डेमोक्रेटिक पार्टीमा अप्ठ्यारो गरी फिट भएका व्यक्ति समेत भनिन्छ ।

व्यक्तिगत उतार–चढाव

बाइडेनको जीवन व्यक्तिगत पीडाले भरिएको छ । १९७२ मा पहिलोपटक सिनेटमा निर्वाचित भएको छोटो समयमै उनकी श्रीमती निलिया र शिशु छोरीको कार दुर्घटनामा निधन भयो । साना छोराहरु बो र हन्टर भने यस दुर्घटनामा बाँच्न सफल भए । उनीहरुको उपचार भइरहेका बेला अस्पतालकै कोठाबाट बाइडेनले पहिलोपटक सिनेट सदस्यको सपथ लिएका थिए ।

२०१५ मा ब्रेन क्यान्सरका कारण ४६ वर्षको उमेरमा बोको निधन भयो । डेलोर राज्यको गर्भनरका लागि २०१६ मा चुनाव लड्ने मनसाय बनाइरहेका बोलाई अमेरिकी राजनीतिमा उदाउँदो ताराका रुपमा हेरिएको थियो । छोराको निधनपछि बाइडेनप्रति धेरै मानिसहरुले सद्भाव राखे, जसकारण उनी शोकलाई शक्तिमा बदल्न सफल भए । यद्यपि, कठिनाई थिएन भन्ने होइन ।

२०२० को चुनावी दौडमा सहभागी भएलगत्तै महिला भोटर्सहरुसँग यौन दुुर्व्यवहार गरेको आरोपमा उनी मुछिए । अन्तक्रियाका दौरान महिलाहरुलाई अप्ठ्यारो हुनेगरी शरीरमा छोएको आरोप उनीमाथि लागेको थियो, यस आरोपलाई पुष्टि गर्ने विभिन्न भिडियो फुटेज पनि थिए । यद्यपि, सामाजिक मान्यताहरु परिवर्तन हुनका बाबजुद आफु भावनारहित व्यक्ति नभएको प्रतिक्रिया यी उदार राजनीतिज्ञले दिए । –अन्वेषण अधिकारी (एजेन्सीको सहयोगमा)

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु