सन् २०२० को अमेरिकी चुनावले एउटा भ्रमपूर्ण धारणालाई सदाका लागि अन्त्य गरिदियो – सन् २०१६ को चुनाव ऐतिहासिक दुर्घटना थियो, अमेरिकी भूल थियो भन्ने धारणा ।

डोनल्ड ट्रम्पले सात करोडभन्दा बढी भोट ल्याए जुन अमेरिकी इतिहासकै दोस्रो सबभन्दा बढी मतसंख्या हो । उनले देशभरिबाट ४७ प्रतिशतभन्दा बढी भोट ल्याएका छन् र २४ वटा राज्य जितेको जस्तो देखिएको छ जसमा फ्लोरिडा र टेक्सस त उनका प्रिय राज्य हुन् ।

अमेरिकाका विशाल जनसंख्यामाझ उनको पकड मजबूत छ । उनका हजारौं समर्थकहरू उनीप्रति भक्तिभाव राख्छन् । उनले चार वर्ष ह्वाइट हाउसमा बिताउँदा उनका समर्थकहरूले कार्यकालको सराहना गरे र त्यसलाई समर्थन गर्दै भोट दिए ।

तर आधुनिक इतिहासमा दोस्रो कार्यकाल नजित्ने चार राष्ट्रपतिमा उनको नाम पनि दर्ज भयो र लगातार दुई चुनावमा लोकप्रिय मत गुमाउने उनी पहिलो राष्ट्रपति उम्मेदवार हुन् ।

सन् २०१६ मा परम्पराको धज्जी उडाउने तथा राजनीतिबाहिरका मानिस भएकाले ट्रम्पले चुनाव जितेका थिए । तर उनको त्यही गुणले यसपालि उनलाई चुनाव हराउन योगदान गर्‍यो ।

सन् २०१६ मा ट्रम्पका कट्टर समर्थकहरूले उनलाई जे गरेको भए पनि भोट दिन्थे होलान् तर चार वर्षअघि उनलाई समर्थन गर्ने अन्य व्यक्ति चाहिँ उनको आक्रामक व्यवहारबाट क्षुब्ध भए ।

यो कुरा उपनगरीय क्षेत्रको हकमा सत्य ठहरियो । कुल ३७२ उपनगरीय काउन्टीहरूमा हिलारी क्लिन्टनको भन्दा जो बाइडनको प्रदर्शनमा सुधार देखियो जसले गर्दा पेन्सिल्भेनिया, मिशिगन र विस्कोन्सिन जस्ता रस्ट बेल्टका राज्यहरू ट्रम्पबाट फिर्ता लिन अनि जर्जिया र एरिजोनाकमा अग्रता लिन उनी सफल भए । उपनगरीय क्षेत्रका महिलालाई डोनल्ड ट्रम्पसँग समस्या छ ।

सन् २०१८ को मध्यावधि निर्वाचनमा जे देखिएको थियो, सन् २०२० को राष्ट्रपति निर्वाचनमा त्यही दोहोरियो । उच्च शिक्षित रिपब्लिकनहरूले ट्रम्पलाई चार वर्षअघि भोट दिएका थिए र यसपालि पनि उनीहरूले उनलाई पत्याएका छन् जबकि उनले राष्ट्रपति पदको गरिमा राखेनन् । उनी गैरपरम्परागत हुन् भन्ने उनीहरूलाई थाहा थियो तर उनको बेहोरा चाहिँ दिक्दारलाग्दो र यदाकदा आक्रामक रहेको धेरैलाई लाग्यो ।

उनीहरू उनको आक्रामकता देखेर चिढिए । जातिवादी तनाव चर्काउने, काला जातिका मानिसलाई बदनाम गर्दै ट्वीटमा जातिवादी भाषा उपयोग गर्ने, श्वेत सर्वोच्चतावादलाई पर्याप्त मात्रामा भर्त्सना नगर्ने, अमेरिकाका परम्परागत साझेदारहरूलाई अपमान गर्ने अनि भ्लादिमिर पुटिन जस्ता निरंकुश शासकहरूलाई प्रशंसा गर्ने उनको स्वभावले मानिसलाई चिढ्यायो ।

अनि उनमा निरंकुशता देखिन थालेको भनी आलोचकहरूले बताएको कुरा साबित पनि भयो जब उनले निर्वाचनको परिणाम स्वीकार गर्न मानेनन् ।

ट्रम्पका कुनै बेलाका समर्थक चक हावेनस्टाइनले सन् २०१६ मा उनैलाई भोट दिएका थिए तर यसपालि उनले जो बाइडनलाई मत दिए ।

‘मानिसहरू थाकेका छन्,’ उनले भने । ‘उनीहरू यस देशमा सामान्य अवस्था फर्केको हेर्न चाहन्छन् । उनीहरू भद्रता हेर्न चाहन्छन् । उनीहरू घृणाको यो माहौल अन्त्य भएको देख्न चाहन्छन् । देश एकताबद्ध भएको हेर्न चाहन्छन् । त्यसैले जो बाइडन राष्ट्रपति बन्छन् ।’

आफ्ना कट्टर समर्थकबाहेक अरूलाई समेट्न नसक्नु ट्रम्पको राजनीतिक समस्या हो । सन् २०१६ मा उनले ३० वटा राज्यमा विजय हासिल गरेका थिए तर आफू अनुदारवादीहरूको मात्र राष्ट्रपति हुँ भने जसरी शासन चलाए ।

विगत १०० वर्षका सबभन्दा बढी विभाजनकारी राष्ट्रपतिका रूपमा उनले डेमोक्रेटहरूलाई फकाउनका लागि खासै प्रयास गरेनन् । हिलारी क्लिन्टनलाई भोट दिने २० राज्यका मतदातामाझ पुग्ने कोशिशै गरेनन् ।

चार वर्षसम्म नकारात्मकता झेल्नुपर्दा वाक्कदिक्क भएका मतदाताहरू परम्परागत व्यवहार देखाउने व्यक्ति राष्ट्रपति भएको हेर्न चाहन्थे । मान्छेको नाम काढेर अपमान गर्ने, भद्दा भाषा प्रयोग गर्ने र जोसित पनि जोरी खोज्ने ट्रम्पको आनीबानीबाट उनीहरू चिढिएका थिए । उनीहरू सामान्य अवस्थामा फर्कन चाहन्थे ।

सन् २०१६ मा उनी संस्थापनविरोधी उम्मेदवार भएकाले विजयी भए । तर सन् २०२० को चुनाव अघिल्लो चुनावको पुनरावृत्ति थिएन ।

यसपटक उनी बहालवाला राष्ट्रपति थिए, विद्रोही थिएनन् । उनले आफ्नो शासनकालको क्रियाकलापको प्रतिरक्षा गर्नुपर्ने थियो । कोरोनाभाइरस महामारीको व्ववस्थापन गर्न नसेककाले चुनावको दिनसम्म आइपुग्दा दुई लाख ३० हजार अमेरिकीहरूको मृत्यु भइसकेको थियो । नकारात्मक पक्षधरताको यस युगमा राजनीति प्रायः विपक्षीप्रतिको घृणाका आधारमा गरिन्छ । तर यसपालि ट्रम्पको सामना हिलारी क्लिन्टन जस्ती घृणास्पद पात्रसँग थिएन ।

जो बाइडनलाई राक्षसीकरण गर्न सम्भव थिएन । त्यसैले गर्दा पनि डेमोक्रेटिक पार्टीको संस्थापन पक्षले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो । यी ७७ वर्षीय मध्यमार्गीले रस्ट बेल्टका गोरा कामकाजी वर्गका मतदातालाई डेमाक्रेटिक पार्टीमा फर्काउने जिम्मेवारी पाएका थिए र उनी त्यसमा सफल रहे ।

तर ट्रम्पको शासन कोरोनाभाइरसले खायो भन्नु गलत हुनेछ । राष्ट्रपतिहरू यसभन्दा ठूला राष्ट्रिय संकटबाट पनि पार पाएका छन् । फ्र्यांकलिन डेलानो रूजवेल्टले अमेरिकालाई आर्थिक मन्दीबाट उकासेकाले राजनीतिक रूपमा अजेय बनायो । जर्ज डब्ल्यू बुशले सेप्टेम्बर ११ को आक्रमणपछि चालेको आरम्भिक कदमले लोकप्रियता बढाउन सहायता गर्‍यो र दोस्रो कार्यकाल जितायो ।

त्यसैले कोभिडले डोनल्ड ट्रम्पलाई ध्वस्त पार्ने कुनै भावीको लेखा थिएन । उनले महामारी व्यवस्थापन राम्रोसँग गर्न नसकेकाले पतन बेहोर्नुपर्‍यो ।

तर ट्रम्प अन्तिमसम्म पनि राजनीतिक रूपमा वाञ्छनीय रहे भन्ने कुरा हामीले बिर्सन मिल्दैन । देशले एक शताब्दीकै सबभन्दा खराब सार्वजनिक स्वास्थ्य संकट, सन् १९३० को दशकपछिको सबभन्दा ठूलो आर्थिक संकट र

सन् १९६० को दशकपछिको सबभन्दा व्यापक जातीय उथलपुथल बेहोरेको भए पनि ट्रम्पको लोकप्रियता एकथरी जनसंख्यामा कायम रह्यो ।

रिपब्लिकनहरू तथा अनुदारवादीहरू उनको पुनरागमनको प्रतीक्षा गरिरहनेछन् । उनी अनुदारवादी अभियानका सशक्त व्यक्तित्वका रूपमा सधैं सम्झिइनेछन् । ट्रम्पवादले अमेरिकी अनुदारवादमा रेगनवादकै जस्तो परिवर्तनकारी असर पार्न सक्नेछ ।

ट्रम्प अझै पनि चरम विभाजनकारी व्यक्तित्व हुन् र सन् २०२४ को चुनावमा उनी लड्न सक्छन् । विभाजित राज्यहरू अचानक एकताबद्ध भएका छैनन् किनकि ट्रम्पका विषयमा अमेरिकीहरूमा पूर्णतः भिन्नभिन्न भाव छन् । एकथरी उनीप्रति भक्तिभाव देखाउँछन् भने अर्काथरी उनलाई चरम घृणा गर्छन् ।

अमेरिकाको इतिहासमा उनी नै अन्तिम सबभन्दा गैरपरम्परागत राष्ट्रपति हुने छैनन् ।

बीबीसीमा प्रकाशित निक ब्रायन्टको विश्लेषण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय