दमक/ नेकपा नेतृ तथा सांसद रामकुमारी झाक्रीले शीर्ष नेतृत्वको स्वार्थले सिंगो पार्टीलाई धराशायी बनाउन नहुने बताएकी छिन । पार्टीलाई जोगाउन अहिले कार्यकर्ताहरुबीच नया बिचार समुह निर्माणको अभ्यास हुनुपर्ने पनि उनको राय छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाको दमकमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा नेतृ झाक्रीले नेकपाका कार्यकर्ताहरु तलदेखि माथि सम्म नै पार्टी सत्ता र राज्य सत्ता दुवैको तापमा परेको र लामो समयदेखि संगठनात्मक जिम्मेवारीबिहिन भएको पनि उल्लेख गरिन । पार्टी अध्यक्ष ओलीलाई लक्षित गर्दै उनले भनिन– पार्टीमा बैठक, छलफल , अन्तरक्रिया नराख्ने , यो पनि गर्दिन, उ पनि गर्दिन भन्ने ? यो प्रवृत्तिले पार्टीलाई भोली कहा पुरयाउला ? अब युवा पुस्ताले सोच्नु पर्ने बेला आएको छ ।
नेतृ झाक्रीले नेकपामा नेताहरुबीच भागबण्डाको प्रवृत्ति अन्त्य हुनुपर्ने पनि औंल्याइन । उनले ओलीले फरक मत राख्नेलाई मन्त्री पदको आश्वासन देखाएर प्रधानमन्त्रीको कुर्सी जोगाउने खेल खेलिरहेको र गलतलाई गलत, सहिलाई सहि भन्ने अधिकारनै कुण्ठित गरेर तानाशाही प्रवृत्ति लादिरहेको पनि आरोप लगाइन । आफूहरुले गणतन्त्रको नारा लगाउदा पार्टीमा कारवाहीको चेतावनी दिनेहरुले गणतान्त्रिक सरकारको फाइदा उठाइरहेको र दुख गर्ने कार्यकर्ताहरु एक किसिमको डिप्रेसनमा गइरहेको उनको भनाई थियो ।
पार्टी कमिटी र कार्यकर्ताहरु एक हिसाबले लामो समयदेखि निस्क्रिय हुदा डिप्रेसनमा जाने खतरा भएकाले पनि कार्यकर्ताहरुको भावना बुझेर, उर्जा लिने र दिने दुवै कामका लागि आफू दशैं अघिदेखनै देशव्यापी कार्यकर्ता भेटघाटमा निस्किएको उनले सुनाइन । दशैं अघि पश्चिमका जिल्लाहरु गएका थियौं, अहिले पूर्वतिर छु । पूर्व आउदा झापा त आउनै पर्यो नि– सञ्चारकर्मीहरुको प्रश्नको जवाफमा उनले सुनाइन ।
त्यसअघि भेटघाटमा नेतृ झाक्रीसंग कार्यकर्ताहरुले ओली समुहले फरक मत राख्ने कार्यकर्ताहरुलाई जिम्मेवारी नदिने र एकल ढंगबाट पार्टी कमिटीहरु सञ्चालन गर्ने गरेको भन्दै त्यस्तो प्रवृत्तिको अन्त्यका लागि पहल गर्न ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय