अमेरिकाको राष्ट्रपति निर्वाचनमा पराजित भएका डोनल्ड ट्रम्पकी पत्नी मेलानियाले उनलाई डिभोर्स दिन लागेको खबर बेलायती पत्रिका द डेली मेलले दिएको छ ।

मेलानियाले यसै वर्षको अन्त्यसम्ममा ट्रम्पलाई डिभोर्स दिने बताइएको छ । स्लोभेनियाली मूलकी अमेरिकी मोडल मेलानियाले पतिसँग डिभोर्सका लागि एक एक मिनेट गनिरहेको बताइएको छ ।

ट्रम्पको शासनकालमा नै मेलानियासँगको सम्बन्ध चिसो रहेको अनेकौं प्रमाणहरू पाइएका थिए । सार्वजनिक स्थानमा ट्रम्पले मेलानियाको हात समात्न खोज्दा उनले झट्कारेको भिडियोहरू देखिएकै हुन् ।

ट्रम्पका पूर्व सहायक ओमारोसा मानिगाउल्ट न्युम्यानले ट्रम्प र मेलानियाको १५ वर्षे सम्बन्ध टुंगिएको दाबी गर्दै भने, ‘मेलानियाले ट्रम्प कहिले पदमुक्त हुन्छन् र डिभोर्स लिउँला भनी एक एक मिनेट गनेर बसिरहेकी छन् । उनी पदमा छँदै डिभोर्स लिँदा उनको बेइज्जती हुने र उनले कठोर बदला लिन सक्ने डरले पदमुक्तिको समय कुरिरहेकी छन् ।’

यसबाहेक मेलानियाकी पूर्व सहयोगी स्टेफानी वोल्कोफले ट्रम्पको सम्पत्तिमा छोरो ब्यारनको बराबरीको हिस्साका लागि मेलानियाले विवाहअगाडि गरेको सहमतिका विषयमा पनि कुरा गरिरहेको बताएकी थिइन् ।

ट्रम्पले सन् २०१६ मा चुनाव जित्दा मेलानियाले ह्वाइट हाउस प्रवेश गर्न पाँच महिना लगाउने कुरा थियो । ब्यारनले विद्यालयको पढाइ सक्नका लागि उक्त ढिलाइ गरेको उनले बताएकी थिइन् ।

पतिले चुनाव जित्ने अपेक्षा नगरेको भन्दै उनले साथीसँग रुँदै भनेको स्टेफानीले खुलासा गरेकी थिइन् ।

मेलानियालाई प्रथम महिलाको कर्तव्य पालन गर्न पनि मन नलागेको जस्तो देखिएको छ । केही दिनअघि लीक भएको अडियोटेपमा उनले ह्वाइट हाउसलाई क्रिसमसका लागि सजाउनुपर्ने कुरामा झिँझौ मान्दै झर्कोफर्को गरेको सुनिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय