मुख्य खबर

ट्रम्पको बहिगर्मनपछि विश्वमा पर्न सक्ने ६ प्रभाव


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २४, १४:०१

अमेरिकाको इतिहासमै डोनाल्ड ट्रम्प अनौठो किसिमका राष्ट्रपति भए । व्यापारिक पृष्ठभूमिका उनी एकदमै स्वार्थी र आत्मकेन्द्रित व्यक्ति हुन् । सिद्धान्तविहीन ट्रम्पले कुनै नैतिकता पनि देखाएनन् । जे गर्दा आफूलाई व्यक्तिगत फाइदा हुन्छ, राष्ट्रपति कार्यकालमा त्यही गरे ।

राष्ट्रपति बनेपछि उनले अमेरिकी नीति पनि आफूलाई फाइदा हुने गरी बनाए । जे गर्दा आफ्नो लोकप्रियता, सम्पत्ति बढ्छ त्यस्तै निर्णय गर्दै गए । अमेरिका वा विश्वको फाइदा उनले हेरेनन् । कोही मानिस पूर्ण हुँदैन । राम्रा र नराम्रा पक्ष हामी सबैको हुन्छ । ट्रम्पचाहिँ आत्मकेन्द्रितको पनि पराकाष्ठा हुन् । उनको राष्ट्रपतित्वकालमा त्यही कुरा देखियो ।

ट्रम्प श्वेत सर्वोच्चतामा विश्वास गर्छन् । आफ्ना पूर्ववर्ती बाराक ओबामालाई उनले कुनै पनि जस दिन चाहेनन् । ओबामाले गरेका हरेक निर्णय उल्ट्याए । ओबामाले गरेका संसारका निम्ति र अमेरिकाका लागि पनि राम्रो हुने प्रायः सबै निर्णय ट्रम्पले उल्ट्याए । उनले त्यस्ता निर्णय सबै उल्ट्याए जसलाई विश्व र बहुसंख्यक अमेरिकीले मन पराएका थिए ।

१. जलवायु परिवर्तनको समस्या संसारकै लागि चुनौति बनेको छ । जलवायु परिवर्तनले गर्दा हामी भावी सन्ततिलाई कस्तो विश्व दिँदैछौं भन्ने अहम् प्रश्न छ । ट्रम्पले यो जलवायु परिवर्तन भनेको केही होइन, केवल गफ हो भने । ओबामाको पालामा २०१५ मा भएको जलवायु परिवर्तन सम्बन्धी पेरिस सन्धिबाट ट्रम्पले अमेरिकालाई झिके ।

अब अन्तर्राष्ट्रिय समुदायमा, राष्ट्र संघमा धमिलिएको अमेरिकाको छवि उज्यालिने धेरै सम्भावना छ । कुनै पनि देशको छवि त्यस देशको राजनीतिक प्रमुखमा पनि निर्भर हुन्छ । ट्रम्प अहंकारी, आत्मकेन्द्रित, विज्ञान नमान्ने र मैले भनेकै हुनुपर्छ भन्ने स्वाभावका छन् । बाइडन स्वभावको त्यसको ठीक विपरीत छ ।
अमेरिकाले नेतृत्व गर्नैपर्ने जलवायु परिवर्तन जस्तो विषयमा ट्रम्पले यस्तो निर्णय गरेपछि सारा विश्वले दुःख मनाउ गरेका थिए । त्यो सन्धिबाट हात झिक्ने निर्णय संसारकै लागि अहितकारी थियो । तर, ट्रम्प वातावरणको कुरा छाडेर तेल, कोइला उद्योगीको पक्षमा लागे । अमेरिकामा ट्रम्पलाई समर्थन गर्ने एउटा सानो समूह छ, जो जलवायु परिवर्तनसम्बन्धी मुद्दालाई बेवास्ता गर्छन् ।

२. ओबामाकै पालामा इरानसँग भएको आणबिक सम्झौता अमेरिका र इरानको मात्र विषय थिएन । यसमा संयुक्त राष्ट्र संघ, जर्मनी, चीन, बेलायत, रुसलगायतका देश पनि संलग्न थिए, जसमा इरानले आणविक हतियार नबनाउने प्रतिवद्धता जनाएको थियो । त्यसलाई इरानले धेरै हदसम्म पालना पनि गरेको थियो ।

तर, ट्रम्पले यो आणविक सम्झौतालाई एकदमै खतरनाक भन्दै अमेरिकालाई एकतर्फी रुपमा अलग पारेर इरानविरुद्ध आक्रमक नीति लिए । उनको यो नीतिले संसारमा आणबिक हतियारको जोखिम बढायो ।

. नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बेला विश्व स्वास्थ्य संगठन (डब्लुएओ) लाई छोड्ने निर्णय लिनु ट्रम्पको एकदमै ठूलो मूर्खतापूर्ण स्वार्थीपन थियो । राम्रो काम गरेन, चीनको कठपुतली मात्र बन्यो भन्ने जस्ता आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई सहयोग रोक्का गरिदिदा अमेरिकालाई समेत हानी भयो ।

उनले डब्लुएचओको कुल बजेटको १५ प्रतिशत अर्थात् चार सय मिलियन डलर कटौती गर्ने निर्णय गरेका थिए । डब्लुएचओले अहिले अमेरिकाले दिने भन्दा दश गुणा बढी पैसा संकलन गरेर कोभिड–१९ को भ्याक्सिनमा लगाएको छ । मैले गत बैशाखमा अनलाइनखबरसंगको कुराकानीमा ‘ट्रम्पले असहयोग गर्दैमा डब्लुएचओ थला पर्दैन’ भनेको थिएँ ।

४. आफूलाई महाशक्ति दाबी गर्ने अमेरिकाले संसारको मानवअधिकार रक्षाको नेतृत्व गर्नुपर्थ्यो । तर, ट्रम्पले संयुक्त राष्ट्र संघको मानवअधिकार काउन्सिलबाट पनि अमेरिकालाई झिके । यो पनि विश्वकै लागि नराम्रो कुरा हो ।

५. ट्रम्पको चीनसँगको तिक्ततापूर्ण सम्बन्धले गर्दा संसारलाई विभाजित बनायो । सोभियत संघका बेला सिद्धिएको शीतयुद्धलाई फेरि फैलाए । संसारलाई एकीकृत गर्नुको सट्टा विभाजन गर्ने काम गरे ।

चीनको पनि कमीकमजोरी छ नै, तर ट्रम्पले झन् खराब नीति लिए । चीनसँगको व्यापार युद्धले अमेरिकालाई नै बेफाइदा गर्‍यो । दशौं लाख अमेरिकीले रोजगारी गुमाए । आर्थिक अवस्था कमजोर भएका अमेरिकीहरू चीनबाट सस्तो सामान ल्याएर चलाउने अधिकारबाट बञ्चित भए ।

चीन त एउटा उदाहरण मात्र हो । अमेरिकाको फ्रान्स, क्यानडा, जर्मनी जस्ता परममित्र राष्ट्रहरूसँगको सम्बन्ध पनि बिगारे । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)मा आवद्व लोकतान्त्रिक देशहरूसँग पनि सम्बन्ध बिगारे । युरोपका कुनै पनि लोकतान्त्रिक देशसँग उनको सम्बन्ध राम्रो भएन ।

६. ट्रम्पले तानाशाहहरूसँग राम्रो सम्बन्ध बनाए । उत्तर कोरिया, टर्की, ब्राजिलजस्ता देशका नेताहरूसँग सम्बन्ध बढाए । स्वेच्छाचारी, सर्वसत्तावादी नेताहरूसँग नजिकिए । लोकतन्त्रमा विश्वास गर्ने नेताहरूका लागि ट्रम्पसँग हात मिलाउनु पनि लाजको बिषय जस्तो बन्यो ।

कहिले के भन्ने, कहिले के भन्ने ट्रम्पको बोली भरै नहुने । ट्रम्पको अभिव्यक्ति कुनै पनि कोणबाट हेर्दा राष्ट्रपतिको जस्तो थिएन । उनीसंग अरूप्रति सम्मान जनाउने शब्दै थिएन । उनको अभिव्यक्तिले संसारलाई नै एक किसिमले धुकचुक धुकचुकमा राखेको थियो ।

उनले यो सब अमेरिकाको हितमा गरेका थिएनन् । नितान्त आफ्नो हितलाई ध्यानमा राखेर संसारसँग दुश्मनी मोलिरहेका थिए । दबंग शैली देखाउँदा समर्थक बढ्छन् भन्ने उनको बुझाइ देखिन्थ्यो । यो निर्वाचनले अमेरिकाको यो अध्याय समाप्त गर्‍यो भन्ने लाग्छ ।

ट्रम्पले जति लोककल्याणकारी बजेट कटौती गरे, त्यो अमेरिकाको हितमा थिएन । उनी राष्ट्रपति भएपछि अमेरिकाको सैन्य खर्च वर्षेनी बढेको छ, समग्र खर्च घटेको छैन । जलवायु परिवर्तन वा डब्लुएचओमा लगानी रोक्दा अमेरिकालाई फाइदा हुने भएर होईन, आफ्ना अन्धभक्तहरू खुशी हुन्छन् भनेर उनले ती निर्णय गरेका हुन् ।

उनका अन्धसमर्थकहरूलाई कोरोना या जलवायु परिवर्तनको समस्या त अरुको हो भन्ने छ । त्यही भएर ट्रम्पले एककरोड अमेरिकी संक्रमित बनाए । कोरोनाले दुई लाखको ज्यान लिनलाग्दा पनि ट्रम्पले ‘चाइनीज भाइरस’ भनी रहे ।

अमेरिकाको आर्थिक दायित्व घटाउन नभई चुनाव जित्ने उद्देश्यले पनि उनले यस्ता कुरा गरेका हुन् । अमेरिकाको अन्तर्राष्ट्रिय सहयोग तुलनात्मकरुपमा निकै सानो छ । अमेरिकाको अर्थतन्त्रको तुलनामा उसले राष्ट्रसंघ, डब्लुएचओ जस्ता संस्थालाई गरेको सहयोग निकै सानो हो, जुन बजेटको शुन्य दशमलब दुई प्रतिशत जति मात्र हो । तर, ट्रम्पले हामीले अरुलाई किन सहयोग गर्ने भन्दा अन्धसमर्थकहरूलाई गजब लाग्यो । शिक्षामा पछि परेका, संसार बुझ्न नपाएका अमेरिकीहरूलाई उनको यस्तो भ्रमपूर्ण कुरामा विश्वास नै भयो ।

अमेरिकाका लागि नेपाल रणनीतिक हिसाबले त्यति धेरै महत्वको देश होइन । यो कारणले गर्दा व्यक्तिगत रुपमा बाइडनको ध्यान नेपालमा आकर्षित हुन गाह्रो छ । मन्त्रिपरिषद् वा अमेरिकी सहयोग नियोगमा उनले ल्याउने मान्छेहरूले चाहिँ नेपालप्रति सदभाव देखाउनेछन् ।
पैसाले जे पनि किन्न सकिन्छ भन्ने ट्रम्पको भ्रमलाई पनि यो निर्वाचनले तोडेको छ ।

सामान्यतः दुईपटक राष्ट्रपतिको निर्वाचन जित्ने परम्परालाई उनले निरन्तरता दिन सकेनन् । अब ओबामाकालका उपराष्ट्रपति जो बाइडन राष्ट्रपति बनेका छन् । उनले अमेरिकालाई डब्लुएचओ, पेरिस सम्झौता, आणविक सम्झौतामा जस्ता मुद्दामा फर्काउलान् । ओबामा प्रशासनले गरेको निर्णय बाइडनले दोहोर्‍याउनेछन् भन्ने लाग्छ । ती निर्णयहरु विश्व र अमेरिकाको हितमा छन् । फेरि, अमेरिकाले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको सहयोग खर्च मात्र होइन, यो लगानी पनि हो ।

संकीर्ण राष्ट्रवादलाई बाईबाई

कोरोना महामारीको बेला राष्ट्रपतिका रुपमा ट्रम्पले कहिल्यै आफ्नो जिम्मेवारी पूरा गरेनन् । कहिले चीन त कहिले डब्लुएचओलाई दोष दिदै बसे । कोभिड–१९ नियन्त्रणमा जिम्मेवारी लिएर नेतृत्वदायी काम गरेनन् । यसको पनि धेरथोर असर निर्वाचनमा परेको देखिन्छ ।

ट्रम्प पराजयको सबभन्दा महत्वपूर्ण पक्ष चाही उनको विभाजनकारी नीति नै हो । केही महिना पहिला त्यहाँ ‘ब्ल्याक म्याटर्स’ आन्दोलन भयो । ट्रम्प खासगरी काला र अल्पसंख्यकहरूलाई हेपेर बोल्थे । श्वेत सर्वोचतालाई देखिने गरी अँगालेका थिए । त्यहाँका मतदातालाई संसारमा हाम्रो सरकारले के ग¥यो भन्दा पनि अमेरिकाका लागि के ग¥यो भन्ने महत्वपूर्ण हुने भयो नै । अमेरिकी जनताले नश्लीय र रंगभेदी कुरा मन पराएनन् ।

चीनले मुस्लिममाथि जुन दमन गरिरहेको छ, त्यसमा अमेरिका बोलेको भए पक्कै पनि केही न केही प्रभाव पर्ने थियो । तर त्यो विषयमा ट्रम्पले मौन समर्थन जनाए । जसले गर्दा संसारभरि नै रंगभेदले बढावा पायो ।

ट्रम्प संकीर्ण राष्ट्रवाद र सर्वसत्तावादका पर्याय बनेका थिए । जसले गर्दा संसारभर धार्मिक, जातीय, नश्लीय राष्ट्रवादको जगजगी भयो । भारत, हंगेरी, ब्राजिल, फिलिपिन्सलगायत देशमा यस्ता कथित राष्ट्रवाद अहिले मौलाएको छ । ती देशका शासकहरूले ट्रम्पलाई हेरेर रंगभेद भनेको नराम्रो रहेनछ भन्ने रुपमा लिए । अमेरिकाले त गर्छ भने हामीले गर्न किन नहुने भन्ने भयो ।

अब ए यस्तो नीति गलत रहेछ भन्ने सन्देश जान सक्छ, संसारमै नयाँ लहर सुरु हुन्छ भन्ने लाग्छ । संसारभर सर्वसत्तावादीको बोलवाला निश्चित रुपमा कमजोर बन्छ । अमेरिकी चुनावको नतिजाले आत्मकेन्द्रित, अहंकारी, संकीर्ण राष्ट्रवाद, आफ्नै जात, आफ्नै धर्म, आफ्नै गुट भन्नेहरूको विपक्षमा लहर ल्याउने सम्भावना छ ।

कमला ह्यारिसलाई उपराष्ट्रपति बनाउने निर्णयले पनि संसारभर नै सकारात्मक सन्देश गएको छ । उनलाई ल्याएर बाइडनले महिलाको स्थान छ भन्ने सन्देश दिएका छन् । त्यो पनि ब्ल्याक, एसियन महिलालाई ल्याएर । एसियाली–अफ्रिकी मूलकी महिलालाई ल्याएर उनले अमेरिका गोरा पुरुषहरूको मात्र होइन भन्ने सन्देश दिएका छन् । यो निर्णयले अमेरिकाका सा–साना नानीहरूमा भविश्यमा म पनि राष्ट्रपति, उपराष्ट्रपति बन्नसक्छु भन्ने विश्वास जगाउने छ । यो वास्तवमै प्रेरणादायी कुरा हो ।

समग्रतामा अब अन्तर्राष्ट्रिय समुदायमा, राष्ट्र संघमा धमिलिएको अमेरिकाको छवि उज्यालिने धेरै सम्भावना छ । कुनै पनि देशको छवि त्यस देशको राजनीतिक प्रमुखमा पनि निर्भर हुन्छ । ट्रम्प अहंकारी, आत्मकेन्द्रित, विज्ञान नमान्ने र मैले भनेकै हुनुपर्छ भन्ने स्वाभावका छन् । बाइडन स्वभावको त्यसको ठीक विपरीत छ । उनी मिलसार र सबैसँग घुलमिल मात्रै हुँदैनन्, आवश्यकता अनुसार सम्झौता गर्न पनि तयार हुन्छन् । बाइडनको यो स्वाभाव संसार र अमेरिका दुबैका लागि फाइदाजनक हुन्छ भन्ने लाग्छ ।

दुर्भाग्यवश, ट्रम्पको कारणले अमेरिका धेरै ध्रुवीकृत भएको छ । अचम्म, ट्रम्पका पनि त्यत्रा समर्थक रहेछन् । ७० करोडले त उनलाई भोट नै दिए । बाइडनको ठूलो चुनौती भनेको ट्रम्प समर्थकको मन जित्नु हो । त्यो बुझेरै होला बाइडनले म अमेरिकामा एकता ल्याउँछु भनेर लागेका छन् । ब्लु अमेरिका, रेड अमेरिका, डेमोक्र्याटिक अमेरिका, रिपब्लिकन अमेरिका होइन, सबै अमेरिकन एक हुन भन्ने सन्देश दिन लागेका छन् । यो कुरा ट्रम्पले कहिल्यै गर्न चाहेनन् ।

नेपाललाई फाइदा

जो बाइडनको जितले नेपाललाई त्यति ठूलो फरक पर्दैन । अमेरिकाका लागि नेपाल रणनीतिक हिसाबले त्यति धेरै महत्वको देश होइन । यो कारणले गर्दा व्यक्तिगत रुपमा बाइडनको ध्यान नेपालमा आकर्षित हुन गाह्रो छ । मन्त्रिपरिषद् वा अमेरिकी सहयोग नियोगमा उनले ल्याउने मान्छेहरूले चाहिँ नेपालप्रति सदभाव देखाउनेछन् ।

गर्भपतनसम्बन्धी नेपालको नीति अमेरिकाकोभन्दा उदार छ । ट्रम्प प्रशासनलाई यो मन परेको थिएन । परिवार नियोजन सम्बन्धी नेपालमा आउने सहयोग अमेरिकाले काटिरहेको थियो । मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी बजेट पनि कटौती भएको थियो । ट्रम्पको तुलनामा बाइडन प्रशासन पक्कै उद्धार हुनेछ । नेपालजस्तो देशले चालेको कदमलाई स्वागत गर्नेछ ।

अप्रत्यक्ष रुपमा त नेपाललाई फाइदा नै हुन्छ । जलवायु परिवर्तन, स्वास्थ्य, डब्लुएचओ वा राष्ट्र संघमा अमेरिकी सहयोग बढ्नु भनेको नेपाल जस्ता देशलाई स्वतः फाइदा हुनु हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु