२४ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अनुशासन आयोगले आरोप प्रत्यारोप रोक्न र पार्टीको बैठक बोलाउन नेतृत्वलाई आग्रह गरेको छ ।

पार्टीमा ओली र प्रचण्ड-नेपाल समूहबीच विवाद चर्किरहेका बेला अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले आरोप प्रत्यारोप रोक्न आग्रह गरेका हुन् । सोमबार वक्तव्य जारी गर्दैै बोहोराले नेतृत्वलाई विगतमा ठूलठूला विवाद अन्तरपार्टी संघर्षबाट समाधान गरेको स्मरण गराएका छन् ।

पार्टी एकतादेखि स्थायी र केन्द्रीय कमिटीका निर्णयहरु कार्यान्वयन नभएको भन्दै अनुशासन आयोगका अध्यक्ष बोहोराले भनेका छन्, ‘२६ भदौको स्थायी कमिटी बैठकले कार्यान्वयनका निमित्त गरेका निर्णयहरु समेत आजपर्यन्त अलपत्र छन् । बरु त्यसलाई अनेकौं बहानामा पन्छाउने काम भइरहेको छ ।’

बोहोरानाले पार्टीमा अहिले देखिएको विवादको पनि विधान बमोजिम समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई प्रतिष्ठाको विषय नबनाऔं ।’

नेकपामा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँच सचिवालय सदस्यले सचिवालय बैठक बोलाउन लिखित रुपमै माग गरेका छन् । तर अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक नबोलाउन त भनेका छैनन् तर मिति तय भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय