पार्टीभित्र देखिएको विवाद टुंग्याउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तयार भएका छन्।

देउवा निवासमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले असमझदारीहरू हल गर्ने सहमति भएको छ।

केन्द्रीय समिति बैठकमा सहमतिको प्रस्ताव पेश गर्न समन्वयको भूमिका खेल्ने गरी महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ।

पार्टीभित्रका विवाद र महाधिवेशनबारे आवश्यक निर्णय गर्न कांग्रेसले यही बिहीबार केन्द्रीय समिति बैठक राखेको छ।

उक्त बैठक बस्नुअगाडि नै महामन्त्रीद्वय कोइराला र खड्काले सभापति र वरिष्ठ नेतासँग छलफल गरी केन्द्रीय समितिमा पेश गर्ने खाका बनाइसक्नेछन्।

‘अहिलेसम्मका छलफलबाट अविश्वास र आशंकाहरू हटेको छ। अब मिलेरै अगाडि बढ्नेमा नेताहरूबीच सैद्धान्तिक सहमति जुटेको छ,’ महामन्त्री खड्काले सेतोपाटीसँग भने।

यसअघि बसेका पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरूले विवाद हल गर्न र महाधिवेशनबारे आफ्ना धारणा राखेका थिए।

‘अहिलेसम्म भएका छलफलको निष्कर्षअनुसार समाधान खोज्ने भन्ने छ,’ उनले भने, ‘दुई पक्ष (देउवा-पौडेल) का नेता सहभागी रहने सानो टिममा थप छलफल गरेर केन्द्रीय समितिमा लैजाने खाका तयार गर्छौं।’

महामन्त्री खड्काले दिएको जानकारीअनुसार सहमतिका प्रस्तावबारे आजदेखि नै दुई पक्षका नेताबीच छलफल सुरू भएका छन्।

‘सभापति र वरिष्ठ नेतासँगको परामर्शमा एक/दुई दिनमा विवादका विषयहरू टुंग्याउने गरी प्रस्ताव तयार गरिसकिन्छ,’ उनले भने।

पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी बैठकले विवाद हल गर्नेबारे विभिन्न विकल्प दिए पनि ठोस केही निर्णय नगरेकोले आफूहरूले थप गृहकार्य गर्नुपरेको उनको भनाइ छ।

‘यही गर्ने भन्ने अहिलेसम्म कुनै ठोस बुँदा बनेको छैन,’ उनले भने, ‘के तरिकाले समाधान निस्कन्छ त्यहीअनुसार सहमतिको खाका लिएर केन्द्रीय समितिमा जान्छौं।’

कांग्रेसमा क्रियाशील सदस्यता छानविन गर्न समिति गठन गरिहाल्नु पर्नेमा नेताहरू छन्।

महाधिवेशन फागुनमा हुन सक्ने अवस्था नरहे अब कहिले महाधिवेशन गर्ने भन्ने कार्यतालिका पनि तयार गर्नुपर्नेछ।

‘समग्र विषयमा छलफल गरी सहमतिअनुसार नै अब केन्द्रीय समिति बैठक बस्छ,’ उनले भने, ‘विवाद गरि रहेर केन्द्रीय समिति सार्दै जानुको औचित्य पनि हुन्न।’ असोजदेखि कांग्रेसले केन्द्रीय समिति सार्दै आएको थियो।

उनले पार्टीभित्र देखिएको अविश्वास र आशंका संवादबाटै हल गरिएको पनि दाबी गरेका छन्।

‘भएको एउटा तर आशंकाले अर्कैअर्कै बुझ्दा केही विवाद देखिएको थियो। अविश्वास र आशंका धेरै हदसम्म निवारण भइसकेका छन्,’ उनले थपे।

१४ औं महाअधिवेशन स्वतन्त्र, निष्पक्ष तरिकाबाट गर्ने तथा महाधिवेशन सुनिश्चितताबारे पौडेलमा रहेको अविश्वास हटाइएको नेताहरूको दाबी छ।

‘महाधिवेशन निष्पक्ष तरिकाले गर्ने, क्रियाशील सदस्यतामा देखिएका विवाद हल गरेर जान नेताहरू तयार नै हुनुहुन्छ,’ महामन्त्री खड्काले भने, ‘सहमतिबाटै अगाडि बढ्ने कुरामा सभापति र वरिष्ठ नेतालगायत अरू साथीहरू हुनुहुन्छ।’

नेताहरूले आफ्ना तर्फबाट राखेका भनाइलाई सामुहिक बनाउने र केन्द्रीय समितिबाटै विभिन्न विषयमा निर्णय गरेर जाने खड्का बताउँछन्।

वरिष्ठ नेता पौडेललगायत २७ केन्द्रीय सदस्यले असन्तुष्टि जनाएको एक बुँदा विभाग गठनबारे पनि हो।

सभापति देउवाले महाधिवेशन नजिकिएका बेला प्रभावित पार्न ४७ मध्ये २० भन्दा बढी विभागमा संयोजकसहित सदस्य मनोनित गरेका थिए।

महाधिवेशन सकिएको छ महिनाभित्र गठन गर्नुपर्ने विभाग देउवाले नियमित चार वर्षे कार्यकाल सकेर थपिएको समयमा गठन गरेपछि पौडेलले महाधिवेशन निष्पक्ष नहुने भन्दै प्रश्न उठाएका थिए।

गठन गरेका विभाग खारेज गर्नुपर्ने अडान पौडेल पक्षले अहिलेलाई यसै राखेर अरू विषयमा समाधान खोजेर अगाडि बढ्न खोजेको छन्।

सभापति देउवा कुनै हालतमा पनि विभाग खारेज गर्ने पक्षमा नदेखिएपछि पौडेल समूह लचिलो बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय