मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा ८ र होम आइसोलेसनमा २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८ पुरुष र २ महिला छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा मंगलवार ५ जना कोरोना संक्रमणबाट मृत्यु भएको छ भने कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा २, न्यूरो कोभिड अस्पतालमा १ र होम आइसोलेसनमा २ जनाको मृत्यु भएको हो ।

नोबेल शिक्षण अस्पतालमा तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको मंगलवार मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । सोही अस्पतालमा झापा गौरादह–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । मृतकको पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि कात्तिक १३ गते अस्पताल भर्ना गरिएको थियो ।

झापाको हल्दिबारी–४ का ७० वर्षीय संक्रमित पुरुषलाई कात्तिक १५ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएकामा मंगलवार मृत्यु भएको छ भने उदयपुरको त्रियुगा–३ का २१ वर्षीय संक्रमित युवाको उपचारका क्रममा सोही अस्पतालमा मृत्यु भएको छ । मृतक युवालाई कोरोना पोजिटिभ आएपछि यही कात्तिक २२ गते उपचारका लागि भर्ना गरिएका प्रबन्धक दाहालले बताए ।

नोबेलमा मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय संक्रमित वृद्ध पुरुषको मृत्यु भएको छ । मृतकलाई कात्तिक २२ गते उपचारका लागि अस्पताल भर्ना गरिएका थियो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा सुनसरी इटहरी–५ का ६९ वर्षीया वृद्धा महिलाको मृत्यु भएको केन्द्रका प्रमुख व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । मृतकलाई कात्तिक १३ गते पोजिटिभ आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

सोही केन्द्रमा विराटनगर–३ का ७७ वर्षीय वृद्ध पुरुषको पनि उपचारका लागि भर्ना गरिएकामा मृत्यु भएको छ । मृतकलाई कोरोना पुष्टि भएपछि कात्तिक २२ गते केन्द्रमा भर्ना गरिएको थियो । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ की ७७ वर्षीया वृद्धा महिलाको आफ्नै घरमा मृत्यु भएको छ । मृतकलाई कात्तिक २४ पोजेटिभ देखिएको र होम आइसोलेसनमा बसेको नगरपालिकाले जनाएको छ । विराटनगर–३ का ८९ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा सोमवार राति मृत्यु भएको छ । कोरोना संक्रमणपछि मृतक होम आइसोलेसनमा बसेका परिवारले जनाएको छ । न्यूरो कोभिड अस्पताल विराटनगरमा मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको छ । मृतकलाई कात्तिक २१ उपचारका लागि भर्ना गरेको दिन पोजिटिभ देखिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले बताए । मृतकमा ज्वरो, निमोनिया, श्वासप्रश्वास, उच्च रक्तचाप, फोक्सो, मिर्गाैला र मुटुसम्बन्धी पुरानै समस्या रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय