मुख्य खबर

बिहारमा नितिशकुमार-बिजेपी गठबन्धनलाई बहुमत, मोदीले भने- अबको बिहार आत्मनिर्भर बिहार


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २६, १०:५२

बिहार विधानसभा निर्वाचनमा नितिशकुमार र भारतीय जनता पार्टीको एनडिए गठबन्धनले १ सय २५ सिट जित्दै पूर्ण बहुमत प्राप्त गरेको छ।

यस्तै उनीहरूलाई कडा टक्कर दिएको लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको गठबन्धनले १ सय १० सिट प्राप्त गरेको छ।

जितपछि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दशक बिहारको हुने र त्यसको लक्ष्य आत्मनिर्भर बिहार हुने बताएका छन्।

ट्विट गर्दै बिहारका जनतालाई जितका लागि उनले धन्यवाद दिए भने केन्द्रीय गृहमन्त्रीले विपक्षी दललाई निशाना साँधेका छन्।

‘बिहारमा जनता-जनार्दनको आशिर्वादले फेरि एकपटक लोकतन्त्रले विजय प्राप्त गरेको छ। विजेपीसँगै एनडिएका सबै कार्यकर्ताले जुन संकल्प-समर्पणभावका साथ काम गरेको त्यो अभिभूत गर्ने किसिमको छ। म कार्यकर्तालाई बधाई दिन्छु र बिहारका जनतालाई हृदयदेखि आभार प्रकट गर्छु’, उनले ट्विट गरेका छन्।

नतिजाले आत्मनिर्भर बिहारको नयाँ लक्ष्य दिएको मोदीको भनाइ छ।

‘बिहारले संसारलाई लोकतन्त्रको पहिलो पाठ पढाएको थियो। आज फेरि बिहारले संसारलाई लोकतन्त्रलाई कसरी मजबुत गरिन्छ भन्ने बताएको छ। कीर्तिमानी संख्यामा बिहारका गरिब, बञ्चित र महिलाहरूले भोट गरे र आज विकासका लागि आफ्नो निर्णायक फैसला सुनाएका छन्’, उनले ट्विटमा भने।

यस्तै केन्द्रीय गृहमन्त्री अमित शाहले जितपछि ट्विटमा विपक्षीलाई आफ्नो निशाना बनाएका छन्।

‘बिहारका हरेक वर्गले एकपटक खोक्रो वाचामा, जातिवाद र तुष्टिकरणको राजनीतिलाई जरैदेखि नकारेर एनडिएको विकासवादलाई मोहर लगाएका छन्। यो हर बिहारबासीको आशा र आकांक्षाको जित हो। नरेन्द्र मोदी र नितिशकुमारजी डबल इन्जिन विकासको जित हो। बिहारका कार्यकर्तालाई बधाई’, उनले ट्विट गरेका छन्।

बिहार विधान सभा निर्वाचनमा भारतीय जनता पार्टीले ७०, राष्ट्रिय जनता दलले ७५, जेदयू ४३ सिट जित्न सफल भएका छन्। यस्तै कांग्रेसले १९, लोक जनशक्ती पार्टीले १ तथा हिन्दूस्तान अवाम मोर्चाले ४ सिटमा जित हासिल गरेको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु