काठमाडौ :सरकारले यो वर्षको तिहारमा देउसी–भैलो नखेल्न आग्रह गरेको छ । देउसी–भैलो खेल्दा कोरोना संक्रमण फैलने जोखिम भएकाले यस्तो आग्रह गरिएको हो । गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै घरभित्रै बसेर चाडपर्व मनाउन आग्रह गरेको छ । चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड लागू गर्न र भिडभाड नगर्न आग्रह गरिएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बताए ।

धेरै जिल्लाले देउसी–भैलो खेल्न प्रतिबन्ध लगाउने निर्णय नै गरिसकेका छन् । उपत्यकाका तीनवटै जिल्लामा पनि रोक लगाउने तयारी छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधबार यससम्बन्धी निर्णय गरिसकेको छ । गृह मन्त्रालयले देउसी–भैलो खेल्न बालबालिकालाई घरबाहिर जान नदिन अभिभावकहरूलाई आग्रह गरेको छ ।

मन्त्रालयले पटाका, भुइँचम्पा, आतसबाजीजस्ता वस्तुको प्रयोगलाई पूर्ण रूपमा बन्देज गरिएको जनाएको छ । तिहार तथा छठको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि सबै जिल्ला प्रशासन कार्यालयलाई अनुगमन गर्न निर्देशन दिइएको प्रवक्ता बुढाले बताए ।

उपत्यकामा दिउँसो पनि मापसे चेकिङ
चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत उपत्यकामा प्रहरीले चेकजाँच बढाएको छ । बुधबारदेखि मुख्य सडकहरूमा चेकपोस्ट थपेर चेकजाँच गरिएको छ । ट्राफिक प्रहरीले दिउँसै मापसे जाँचसमेत थालेको छ । चाडपर्वको समयमा दिउँसोसमेत मदिरा सेवन गरेर सवारी चलाउने प्रवृत्ति हुने भएकाले दिउँसो पनि चेकजाँच थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चाडपर्वको समयमा लुटपाटका घटना बढ्न सक्ने भन्दै सुरक्षा जाँच कडा गरिएको हो । कडाइका कारण विगतका वर्षको तुलनामा चोरी तथा लुटपाट नगन्य मात्र भएको काठमाडौं परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । जुवातास नियन्त्रणमा पनि प्रहरीले निगरानी बढाएको छ ।

भाइटीकाको भोलिपल्ट बिदा
तिहारको भाइटीकाको भोलिपल्ट अर्थात् २ मंसिरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । किजा पूजाको अवसरमा बिदा दिने निर्णय भएको हो । सोमबारको मन्त्रिपरिषद्को बैठकले यससम्बन्धी निर्णय गरेकाले सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द हुने मन्त्रालयले जनाएको छ । साभार: नयां पत्रीका

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय