कोरोना

डेढ लाख बढी नेपालीले जिते कोरोना, उनीहरूको शरीरमा कहिलेसम्म रहला एन्टिबडी?


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २७, १४:४६

हामीकहाँ डेढ लाखभन्दा बढी मान्छे कोरोना संक्रमण भएर निको भइसके। कोरोनाले सताएको पीडा भुलेर धेरैजसो एक हिसाबले ढुक्क भएका छन्- अब हामीलाई फेरि कोरोनाले सताउँदैन।

विदेशमा भएका धेरै अध्ययन र कोरोना बिरामीमा गरिएको निगरानीले पनि पुनः संक्रमण दर एकदमै न्युन देखाएको छ। संसारभर रेकर्ड भएका पुनःसंक्रमित औंलामा गन्न सक्ने छन्।

शरीरमा एकपटक भाइरस छिरेपछि त्यसविरूद्ध लड्न एन्टिबडी विकास हुन्छ। यो एन्टिबडी शरीरमा केही समयसम्म रहिरहन्छ र त्यही भाइरसबाट पुनः संक्रमण हुन दिँदैन। यही आधार र अहिलेसम्मका तथ्यांक हेर्दा कोरोना लागेपछि तत्कालै फेरि लाग्ने सम्भावना एकदमै कम देखिएको द न्यूयोर्क टाइम्स लेख्छ।

तर यो कवच कति समयका लागि हो? एकपटक कोरोना जितेको मान्छे कहिलेसम्म ढुक्क हुन सक्ने स्थिति छ? यो एन्टिबडी शरीरमा कहिलेसम्म रहन्छ? र, कहिलेसम्म यसले हामीलाई जोगाइराख्छ?

यसबारे भने संसारका अध्येताहरू अझै यकिन हुन सकेका छैनन्।

द न्यूयोर्क टाइम्सका अनुसार गत मार्चमा अमेरिकाको नेसनल इन्स्टिच्युट अफ एलर्जिज एन्ड इन्फेक्सियस डिजिजका प्रबन्ध निर्देशक एन्थनी फौसीले एकपटक कोरोना लागेकालाई फेरि संक्रमण नहुने ठोकुवै गरेका थिए। तर त्यसको केही सातामै विश्व स्वास्थ्य संगठनले यसको कुनै प्रमाण र पुष्टि नभएको विज्ञप्ति जारी गरेको थियो।

कोरोना जितेकाको शरीरमा विकासित एन्टिबडीले कहिलेसम्म काम गर्छ भन्नेबारे अहिले नै यकिन भन्न सकिने गरी परीक्षणहरू भएका छैनन्। तर शरीरमा कोरोना भाइरस पसेपछि यसले रोग प्रतिरोधी क्षमता बढायो वा फेरि कोरोना नलाग्ने गरी प्रोटिनहरू (एन्टिबडी) बढायो भन्नेबारे केही दर्जन परीक्षण भएका थिए।

ती अध्ययनका आधारमा पनि वैज्ञानिकहरू यसबारे प्रस्ट हुन सकेनन्। यसका बाबजुद वैज्ञानिकहरू मान्छेले कोरोनाविरूद्ध प्रतिरोधी क्षमता विकास गर्नेमा विश्वास राख्ने द न्यूयोर्क टाइम्सले लेखेको छ। कति समयसम्म यो कवच रहन्छ भन्ने जान्न अझै लामो अध्ययन चाहिने उनीहरूको भनाइ छ।

‘यो भाइरसलाई एकपटक जितेपछि हामीमध्ये धेरैमा एन्टिबडी विकास हुन्छ भन्ने हामीलाई पक्का थाहा छ। तर कति समय भन्ने जान्न हामीले सकेका छैनौं,’ हार्वर्ड टि एच चान स्कुल अफ पब्लिक हेल्थका रोग प्रतिरोधी क्षमता विशेषज्ञ डा. माइकल मिनाका भनाइ उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ।

सामान्यतया जब हाम्रो प्रतिरोधी क्षमतामा कुनै भाइरसले आक्रमण गर्छ तब सेता रक्तकोषहरूले ती भाइरससँग लड्न एन्टिबडी सिर्जना गर्छन्। यो भाइरस परास्त भएपछि यदि फेरि हामी यसको सम्पर्कमा आयौं भने सामान्यतया हाम्रो प्रतिरोध क्षमताले उक्त खतरा पहिचान गरिहाल्छ र नयाँ एन्टिबडी बनाउन थाल्छ। यो प्रक्रियाले गर्दा हामी भाइरसका कारण गम्भीर बिरामी हुनुअघि नै त्यो एन्टिबडीले संक्रमण नास गरिदिन्छ।

यसअघि वैज्ञानिकहरूले सार्स, मर्स लगायत तीन प्रकारका कोरोना र रूघा लगाउने चार प्रकारका गरी ७ भाइरसमा एन्टिबडीको अध्ययन गरेका थिए। एकपटक संक्रमित भएकालाई फेरि त्यही भाइरसले कहिले सताउन सक्छ भन्ने लामो अध्ययन भएको थियो। जसमा सार्सको पुनः संक्रमण करिब दुई वर्षमा, मर्सको तीन वर्षमा र रूघा एक वर्षमै दोहोरिने पत्ता लगाएका थिए।

तर अहिलेको नोभेल कोरोना भाइरस तीभन्दा फरक छ वा समान भन्ने यकिन नभएको मिना बताउँछन्।

‘हामीलाई नोभेल कोरोना भाइरस ती मौसमी भाइरसजस्तै हो वा फरक छ भन्ने थाहा छैन,’ मिनाले भनेका छन्।

कोभिड-१९ रोग निम्त्याउने भाइरस हामीमाझ नयाँ भएकाले पनि यो अलमल भएको हो। वैज्ञानिकहरू यसबारे जान्न कम्तिमा दुई वर्ष समय चाहिने बताउँछन्।

अहिलेसम्म भएका अध्ययनले भने दुई सातादेखि तीन महिनासम्म शरीरमा एन्टिबडी रहने देखाएको छ।

नेचर मेडिसिनमा प्रकाशित एक अध्ययनका अनुसार कोरोना भाइरसबाट जोगाउने प्रोटिन शरीरमा तीन महिनासम्म रहन्छ। यो पनि त्यस्ता व्यक्तिमा मात्र जो पहिलोपल्ट संक्रमित हुँदा बिरामी परेका थिएनन् वा लक्षणै देखाएका थिएनन्।

‘यी सबै कुराबाट हामीले सचेत हुनुपर्ने चाहिँ देखिएको छ। एकपटक कोरोना लागेपछि अब जोगियौं भनेर पूरै ढुक्कै हुनुस् भन्न हामी सक्दैनौं,’ उक्त अध्ययनमा सहभागी वैज्ञानिकहरूले भनेका छन्।

यसको अर्थ कोरोना जितेकाहरू सबै फेरि संक्रमित हुन सक्छन् भन्ने चाहिँ होइन। शरीरमा थोरै मात्र एन्टिबडी भए पनि भाइरसबाट जोगिन सकिने वैज्ञानिकहरूले बताएका पनि उक्त अध्ययनमा उल्लेख छ।

भाइरोलोजिस्टहरूका अनुसार कोरोना निको भएपछिका दुई-तीन महिनामा एन्टिबडी कम हुँदै जान्छ। यो सामान्य प्रक्रिया भएको पेन्सलभिनिया युनिभर्सिटीका रोगप्रतिरोधी विशेषज्ञ स्कट हेन्सलेले बताएका छन्।

उनका अनुसार शरीर संक्रमणमुक्त भएपछि एन्टिबडीको मात्रा खस्किनु सामान्य प्रक्रिया हो। आवश्यक परेपछि यो आफैं बढ्न थालिहाल्छ।

‘संक्रमणमुक्त भएको केही समयपछि एन्टिबडी कम हुनु त शरीरको सामान्य र स्वस्थ प्रक्रिया हो,’ उनका भनाइ उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ, ‘कम हुनुको अर्थ शरीरमा एन्टिबडी नै छैन र उक्त व्यक्ति सुरक्षित छैन भन्ने हुँदैन।’

इम्पेरियल कलेज, लन्डनका सरूवारोग विशेषज्ञ डाक्टर पल इलियट पनि यसमा सहमत छन्।

उदाहरणका लागि कसैलाई लक्षणै देखिएको थिएन भने उसको शरीरले गम्भीर बिरामी भएकाको तुलनामा थोरै मात्र एन्टिबडी सिर्जना गरेको हुन सक्छ। यस्तोमा केही समयपछि उनीहरूको एन्टिबडी कम पाइएको डाक्टर इलियटले बताएका छन्। एन्टिबडीको यो प्रक्रियालाई उनी एकदमै सामान्य मान्छन्।

अर्को कुरा, प्रतिरोधी क्षमतामा काम गर्ने तीन भाग हुन्छन् जसमध्ये एन्टिबडी एउटा हो। त्यसैले एन्टिबडी हुनु मात्र भाइरस नलाग्ने हुनुको आधार भने नभएको डाक्टर इलियट तर्क गर्छन्।

उनले न्यूयोर्क टाइम्ससँग भनेका छन्, ‘पूरा प्रतिरोधी क्षमतामा एन्टिबडीको मात्र भूमिका हुँदैन। यसका अरू तीन हाँगा छन्। तर के चाहिँ हो भने शरीरमा भएको थोरै एन्टिबडीले पनि रोगबाट जोगाउने क्षमता राख्छ।’

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु