मुख्य खबर

स्वदेश फर्किए सन्दीप, तीन सातापछि अष्ट्रेलिया जाने


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २७, १५:११

२७ कात्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् ।

दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् । युएईमा भएको आईपीएलमा दिल्लीले फाइनलसम्म पुग्दा १७ खेल खेल्दा सन्दीपले एक खेल पनि खेल्न पाएनन् । मंगलबार भएको फाइनलमा दिल्लीलाई ५ विकेटले पराजित गर्दै मुम्बई इन्डियन्सले उपाधि जितेको थियो ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी-२० खेल्न जुलाई अन्तिममा वेष्ट इन्डिज पुगेका सन्दीप उतैबाट आईपीएल खेल्न युएई गएका थिए । सन्दीप तीन महिना भन्दा बढी समयपछि नेपाल फर्किएका हुन् ।

लामो समय मुलुकबाहिर रहेकोले सन्दीपले केही समय नेपालमै परिवारसंग समय बिताउने र त्यसपछि बिग बास लिग (बीबीएल) का लागि अष्ट्रेलिया जाने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । ‘धेरै समय बाहिर भयो । त्यसैले २०-२५ दिन नेपाल बसेर जाने कुरा छ । सायद २-३ म्याच छुट्छ होला’ उनले भने ।

यसअघि दुई संस्करण लगातार मेलवर्न स्टार्सबाट खेलेका सन्दीपले यस पटक नयाँ टिमबाट बीबीएल खेल्दैछन् । ‘यो सिजन उनले स्टार्सबाट खेल्नैनन् । बीबीएल खेल्ने पक्का हो । तर कुन टिमबाट खेल्छन् भन्ने आइतबार वा सोमबार टुङ्गो लाग्नेछ’ शिवाकोटीले भने ।

शिवाकोटीले अष्ट्रेलियन क्रिकेट बोर्डले नै यसबारे घोषणा गर्ने भएकोले कुन टिमबाट खेल्ने निर्णय हुन केही ढिला भएको बताए ।

बीबीएल डिसेम्बर १० देखि शुरु हुँदैछ ।

बिहीबार नेपाल फर्किएपछि सन्दीपले ट्विटरमा लेखेका छन् ‘ कथा सकिएको छैन, विस्तारै शुरु हुँदै छ ।’ उनले आईपीएल खेल्न नपाएको विषयलाई ट्विटरमा संकेत गरेको अनुमान छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु