राष्ट्रिय खबर

नागढुंगा सुरुङ मार्गको काम सुरू, सिद्धबाबामा टेन्डर तयारी


  काठमाडौं   सवाल नेपाल   २०७७ कार्तिक २८, ११:३१

गएको एक दशकदेखि देशका विभिन्न दर्जन ठाउँमा सुरुङ मार्ग बनाउने घोषणा हुँदै आए पनि बल्ल एक ठाउँमा निर्माण कार्य सुरू भएको छ।

नागढुंगादेखि धादिङको सिस्ने खोलासम्मको सुरुङ मार्ग निर्माणको काम तिहारलगत्तै सुरू हुने सडक विभागले जानकारी दिएको छ। विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार अरू काम सुरू भइसके पनि सुरुङ खन्न भने तिहारलगत्तै थालिनेछ।

जापानी सहयोगमा निर्माण हुन लागेको यो सुरुङ मार्ग निर्माणको जिम्मा पनि जापानी कम्पनी हाज्मा इन्डोले पाएको छ। अहिले नै दैनिक २ सय मजदुर परिचालन भइरहेको र यसमा अधिकांश नेपाली रहेका सापकोटाले जानकारी दिए।

२.६८ किलोमिटर लामो यो सुरुङ निर्माणका लागि १५ अर्ब रूपैयाँको ठेक्का सम्झौता भएको छ। ४० महिनाभित्र सक्ने सम्झौता भए पनि काम सुरू हुनै समय लागेकाले केही समय धकेलिने सम्भावना छ।

योसँगै नेपालमा सुरुङ मार्ग निर्माणको काम सुरू भएको र यसको अनुभव तथा प्रविधिले पछिका अरू आयोजनामा काम सुरू गर्न सजिलो हुने सापकोटाको भनाइ छ।

‘हामीले यो आयोजना निर्माण सुरू गरेर सम्पन्न गरिसक्दा यसका थुप्रै अनुभव हुने छन्। सुरुङका मापदण्डदेखि नियमनका कुरा पनि भएका छन्। यसबाट हामीलाई भविष्यमा धेरै फाइदा हुन्छ,’ सापकोटाले भने।

जटिल भौगोलिक बनावट भएका ठाउँमा अविच्छिन्न यातायात र दुरी छोट्याउन सुरुङ प्रविधि उपयुक्त हुने उनको भनाइ छ।

नागढुंगा सुरुङसँगै सरकारले देशका अन्य करिब दर्जन ठाउँमा सुरुङ निर्माण गर्ने घोषणा गरेको थियो। यीमध्ये कतिपय ठाउँमा अध्ययन भएका छन् भने कति घोषणामै सीमित भएका छन्। अध्ययन अनुसन्धानकै लागि पनि बजेट तथा प्रविधि नभएकाले दाताकै भर पर्नुपर्ने भएकाले काम ढिला भएको जानकारहरू बताउँछन्।

विभागका प्रवक्ता सापकोटाका अनुसार बुटवल-पाल्पा सडक खण्डको सिद्धबाबामा सुरुङ मार्ग निर्माणका लागि टेन्डर आह्वान हुने तयारी भइरहेको छ। स्वीस सरकारले सम्भाव्यता अध्ययनदेखि विस्तृत अध्ययन प्रतिवेदनसम्म सहयोग गरेको यो आयोजना निर्माणका लागि बजेट सुनिश्चतता अर्थ मन्त्रालयले अघिल्लो वर्ष नै दिएको छ।

सुरुङका लागि मापदण्ड निर्धारणको सरकारी निर्णय ढिला भएकाले भर्खर टेन्डर दस्तावेजमा काम भइरहेको सापकोटाले जानकारी दिए।

‘यो आयोजनाका लागि टेन्डर निकाल्ने तयारी गरिरहेका छौं। स्रोत सुनिश्चित भएपछि हामीले मापदण्ड तथा अन्य काममा समय खर्चिएका थियौं। अब तिहारलगत्तै यसको टेन्डर आह्वान हुन्छ होला,’ उनले भने।

सिद्धबाबा सुरुङका लागि ८ अर्ब लागत लाग्ने स्वीस अध्ययनले देखाएको छ। यसमा अनुमानित रकम बढ्न सक्ने छ।

सरकारले टोखा–छहरे, बिपी राजमार्गको खुर्कोट–चियाबारी, दिपायलको विपिननगर–खुटिया र थानकोट–चित्लाङमा सुरुङ बनाउन सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको थियो। तर अहिलेसम्म अध्ययन भएको छैन।

सरकारले सम्भाव्यता अध्ययनका लागि दाता राष्ट्रहरूलाई आग्रह गरेको थियो। त्यसमध्ये सिद्धबाबा र कोटेश्वर-जडीबुटी बाहेक अन्यत्र कतै पनि काम भएको छैन। सरकारले सुरुङको अनुभव र प्रविधि भएका मुलुकसँग अध्ययन तथा प्राविधिक सहयोग गरिदिन प्रस्ताव गरेको थियो।

कोटेश्वर-जडीबुटी सुरुङका लागि भने जापानी सरकारले अध्ययन गरिरहेको छ। यो खण्डको अध्ययन अन्तिम चरणमा पुगेको र छिट्टै निर्माणको तयारी सुरू हुने सापकोटाले जानकारी दिए।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु