२७ कात्तिक, काठमाडौं । तस्वीरमा देखिएको दृश्य संखुवासभाको हो । कोरोनाबाट बच्न विभिन्न निर्देशनहरु दिइरहेको सरकारकै मुखियाले कसरी स्वास्थ्यसम्बन्धी मापदण्ड मिचिरहेका छन् भन्ने दृष्टान्त हेर्न अन्त जानु पर्दैन ।

मानिसहरु भुईमा छन् । हातमा मास्क बोकेका प्रधानमन्त्री केपी शर्मा ओली नमस्कार फर्काइरहेका छन् । भीडमा मास्क नलगाएका बालवालिका पनि देखिन्छन् ।

कोरोना महामारीको जोखिमकै कारण लाखौं बालबालिकाले विद्यालय जान नपाएको महिनौं भइसक्यो । तर, केपी ओलीको स्वागतमा चाहिँ बालबालिकाहरुमा कोरोनाको कुनै डर भएन ।

कोरोना संक्रमण रोकथामका लागि संखुवासभामा सार्वजनिक सभा समारोह गर्न जिल्ला प्रशासन कार्यालयले रोक लगाएको छ । राजनीतिक कार्यक्रमहरु रोकिएका छन् ।

प्रधानमन्त्री ओली संखुवासभा जानुभन्दा दुई दिनअघि मात्रै जिल्ला प्रशासन कार्यालयले मंसिर २ सम्मका लागि निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासनले जारी गरेको निशेधाज्ञामा राजनीतिक कार्यक्रम, शुभकामना आदान–प्रदान र उदघाटन÷शिलन्यास कार्यक्रमहरु गर्न नपाइने भनिएको छ । भीडभाड हुने कुनै गतिविधि गर्न नपाइने भनिएको छ ।

संखुवासभामा मंसिर २ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको १२ बुँदे सार्वजनिक सूचनाले भेला तथा ठूलो जमघटलाई पूर्णतः रोक लगाएको छ ।

१२० दिन लामो देशब्यापी लकडाउनको साउन ७ मा अन्त्य गरेपछि प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषद् बैठकले स्थानीय प्रशासनलाई संक्रमणको अवस्था हेरेर निर्णय लिन सक्ने अधिकार दिएको छ । त्यसैअनुसार, स्थानीय प्रशासनहरूले निषेधाज्ञा लगाउने र हटाउने गरिरहेका छन् ।

देशकै कार्यकारी प्रमुखले भ्रमण गर्न चाहेपछि स्थानीय प्रशासनले यसलाई रोक्न सक्ने अवस्था पनि रहेन । तर, यसबाट स्थानीय प्रशासनले जारी गरेको आदेशको धज्जी उडेको छ ।

प्रधानमन्त्रीले बुधबार संखुवासभाको दुई ठाउँ (किमाथांका र फ्याक्सिला) मा सम्बोधन गरे भने जम्बो टीमसहित अनुगमनमा निस्किए ।

प्रधानमन्त्रीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापासमेत भएकाले टोली ठूलै भयो । अझ त्यहाँका जनप्रतिनिधि र प्रशासन प्रमुख सामेल हुँदा जमघट ठूलै हुन पुग्यो ।

किमाथांकामा आयोजित सभामा ६० जना जति सहभागी थिए । मकालु गाउँपालिका–५ फ्याक्सिलामा भने अढाइ सय बढी सहभागी थिए । ‘देशकै प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्री आउने भएपछि मानिसहरु आउने नै भए’, स्थगलत रिपोर्टिङ गर्न फ्याक्सिला पुगेका पत्रकार अनिश बिष्ट भन्छन् ।

प्रधानमन्त्री ओली पहिलो पटक संखुवासभा पुगेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता–कार्यकर्ता उत्साहित भए । यसले पनि भेला बढायो ।

प्रमुख जिल्ला अधिकारी जीवन आचार्य प्रधानमन्त्री संखुवासभा आउने कार्यक्रम तीन दिन अगाडि तय भएको बताउँछन् । यदि, त्यस्तो हो भने निषेधाज्ञा जारी गर्ने निर्णय भएपछि मात्रै प्रधानमन्त्रीको भ्रमण तय भएको देखिन्छ ।

अर्थात्, सत्तारुढ नेकपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगिसकेका बेला प्रधानमन्त्रीले महामारीकै बेलामा चीनसँगको सीमामा नवनिर्मित सशस्त्र प्रहरीको बीओपीदेखि अरुण तेस्रोसम्मको निरीक्षण गर्ने कार्यक्रम बनाए ।

पूर्वी पहाडमै संखुवासभा बढी संक्रमित

संखुवासभा पूर्वी पहाडी नेपालकै बढी संक्रमित जिल्ला हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संखुवासभालाई बढी संक्रमित हुने दोस्रो वर्गीकरणको जिल्लामा राखेको छ । मन्त्रालयले शून्य, दुई सयसम्म, दुई सय बढी र चार सय बढी संक्रमित गरी संक्रमणको हुने जिल्लाको वर्गीकरण गरेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार, संखुवासभामा २०५ जना (१६७ पुरुष र ३८ महिला) मा संक्रमण पुष्टि भएको छ । तर, स्थानीय प्रशासनको तथ्याङ्कमा भने १५७ जनामा संक्रमण देखिएको छ । बाह्य जिल्लामा संक्रमित हुनेको तथ्याङ्क जिल्ला प्रशासनसँग छैन ।

अहिले पनि संखुवासभामा दश जना संक्रमित उपचारत छन् । दुई जनाको कोरोनाबाट मृत्यु भइसकेकोे छ । धर्मदेवी नगरपालिकाका एक पुरुष र खाँदबारी नगरपालिकाकी एक महिलाको संक्रमणबाट मृत्यु भएको छ ।

तर, प्रजिअ आचार्य, संखुवासभालाई संक्रमणको जोखिम रहेको जिल्ला मान्दैनन् । भन्छन्, ‘संखुवासभामा सामान्य प्रभाव मात्रै छ, लामो समय संक्रमण नै नदेखिएको जिल्ला हो ।’

तर, उनकै प्रशासनले जारी गरेको निषेधाज्ञाका नियमहरुले भने संक्रमणको जोखिम कम रहेको मान्न गाह्रो पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय