कोभिड–१९ ले विश्व अर्थतन्त्र तहसनहस बनाइरहँदा नेपालमा संक्रमण फैलिन नदिन सरकारले चैत ११ देखि लकडाउन गरेलगत्तै सुनचाँदी व्यवसायी महासंघले पनि भाउ निर्धारण बन्द गर्‍यो । करिब अढाइ महिनापछि जेठ २५ देखि सुनचाँदीको भाउ पुनः निर्धारण गरियो । तर अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिले व्यापारमा सहजता ल्याएन ।

‘सुनको तोलाकै १ लाख नाघ्यो । व्यापार हुने कुरै भएन,’ सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले भने, ‘त्यसपछि करिब आठ महिना व्यापार सुनसान थियो । तिहारले भने केही राहत दिएको छ ।’ तिहारकै मुखमा सुनको भाउ तोलामै ३ हजार ४ सय रुपैयाँले घट्यो । धनतेरसका दिन (शुक्रबार) भने चहलपहल देखिएको व्यवसायी बताउँछन् । ‘महिनौंदेखि व्यापार ठप्प थियो । बिहीबारदेखि केही राहत मिलेको छ,’ गोल्ड स्पोर्टका प्रबन्ध सञ्चालक निर्मल ज्योति तुलाधारले भने, ‘विगतका वर्षको तुलनामा धनतेरसमा व्यापार १० प्रतिशत मात्रै छ तैपनि सन्तोषजनक नै मानेका छौं ।’

लक्ष्मीपूजाअघि मनाइने धनतेरसका दिनलाई सबैभन्दा बढी कारोबार हुने दिनका रूपमा हेरिन्छ । धनतेरसमा गहना भित्र्याउँदा लक्ष्मीको बास हुने मान्यता रहेकाले सर्वसाधारणले आफ्नो क्रयशक्तिअनुसार गहना/सिक्का किन्छन् । जसले गर्दा अन्य दिनको तुलनामा व्यवसायीको कारोबार पनि बढ्छ । व्यवसायीका अनुसार धनतेरसलाई लक्ष्य गरी प्रायः उपभोक्ताले सिक्का, औंठी र बाला किन्ने गर्छन् ।

‘सबैभन्दा बढी चाँदीका १० ग्रामका सिक्काको माग छ । त्योबाहेक २०/५० र एक सय ग्रामका सिक्काको पनि कारोबार हुन्छ,’ तुलाधरले भने, ‘तर कोभिडका कारण सर्वसाधारण डराएका छन् । गहना आधारभूत आवश्यकता नभएकाले पनि विगतका वर्षको तुलनामा केही कम छ ।’

आरबी डायमन्ड ज्वलेर्सका सञ्चालक रमेश महर्जनको भनाइ पनि उस्तै छ । धनतेरसकै कारण सुनचाँदी बजारमा चहलपहल बढेको उनले जानकारी दिए । ‘कोभिड–१९ ले अर्थतन्त्रको अवस्था ठीक छैन । यद्यपि सक्नेले ठूला र नसक्नेले सिक्कालगायत साना गहना खरिद गरिरहेका छन्,’ सुनचाँदी, रत्न तथा आभूषण महासंघका अध्यक्षसमेत रहेका महर्जनले भने, ‘धनतेरसकै कारण अन्य दिनको तुलनामा व्यापार दोब्बर छ । खुद्रा व्यापार बढेको देखिन्छ । व्यवसायीलाई केही राहत पुगेको छ ।’

मुख्यतः लक्ष्मीपूजाका दिनका लागि यस्ता गरगहना जोड्ने गरिन्छ । सुनचाँदी भित्र्याएर पूजा गर्दा शुभ साइत हुने मान्यता छ । महासंघका अनुसार धनतेरसका दिन मुलुकभर करिब ३ सय किलो चाँदी बिक्री हुन्छ । धनतेरसको दिन व्यापार राम्रो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘बिहीबारसम्मको अवस्था ठीक थिएन । शुक्रबार सन्तोषजनक छ । सबै पसलमा ग्राहकको चाप बढेको छ,’ शाक्यले भने, ‘सुनचाँदीको माग बढेको छ । सर्वसाधारणले गहना/सिक्का पनि किन्न थालेका छन् ।’ कोभिड–१९ को बढ्दो संक्रमणका कारण यसपालिको तिहारमा गत वर्षको तुलनामा २५ प्रतिशत मात्रै कारोबार हुने अनुमान गरिएको थियो । तर कारोबार ५० प्रतिशतसम्म पुगेको छ । उपत्यकामा केही व्यापार भए पनि जिल्लामा त्यति सन्तोषजनक कारोबार नरहेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले बताए । ‘न्युरोडका पसलमा व्यापार बढेको छ । राजधानी भएकाले व्यापार ठीकै छ,’ उनले भने, ‘जिल्लामा भने व्यापार त्यति सन्तोषजनक देखिएन । धनतेरसका दिन दैनिक २०/३० करुवा/थाल बिक्री हुने गहना पसलमा ५/७ वटाको मात्र कारोबार भयो ।’

गहना व्यवसायी मात्र होइन, अन्य क्षेत्रका उद्योगी व्यवसायीले पनि उत्साहसाथ धनतेरस मनाउने गरेका छन् । उनीहरूले आवश्यकताअनुसार सुनचाँदी र काँसका सामान किन्ने गरेका छन् । कतिपयले विलासिताका सामान किन्छन् । कतिपयले तामझाम गरी पूजाआराधना गर्छन् । काँसका सामान किनेर धनतेरस र लक्ष्मीपूजा मनाउने नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।

‘धनतेरसमा खरिद गर्नु भनेको लक्ष्मीपूजाकै लागि हो । लक्ष्मीपूजाको एक दिनअगाडि तयारी हुन्छ,’ उनले भने । विभिन्न परिकारका मिठाई खाने र परिवार जम्मा भएर तिहार मनाउने गरेको उनले सुनाए । ‘कोभिडका कारण बाहिर जाने अवस्था पनि छैन । परिवारबाहेक सीमित रूपमा मात्रै तिहार मनाउने योजना छ,’ उनले भने ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरको भनाइ पनि उस्तै छ । कोभिड–१९ का कारण भौतिक दूरी कायम गरेर भेटघाट गरिरहेको उनले बताए । ‘पहिले धनतेरसका दिन चाँदीका सामान किन्थ्यौं । अहिले आआफ्नो तरिकाले आवश्यकताअनुसार किन्ने गरिएको छ, कसैले चाँदीको कसैले सुनको असर्फी ल्याउने चलन छ,’ उनले भने, ‘अहिले लक्ष्मीपूजा घरघरकै मिलेर गर्छौं । धनतेरसका दिनमा पनि पूजा गर्छौं ।’

चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि घरमै बसेर दाजुभाइ/बहिनीलाई सम्झेर तिहार बनाउने बताए । ‘यसपालिको तिहारमा घरमै बस्ने, घरमै पूजा गरी फोनमार्फत आशीर्वाद लिने योजना छ,’ उनले भने, ‘विगतमा नयाँ सामान किनेर लक्ष्मीपूजा गर्थ्यौं । यसपालि स्वास्थ्यलाभको कामनाबाहेक केही सोचेका छैनौं । साथीहरूलाई फोनमा शुभकामना दिइरहेका छौं ।’ कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय