मुख्य

फूल बेचेको भनेर गाउँले आँखा तर्थे, तिहारमै १०-१२ लाखको बेच्छन् उनी


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर २, १०:५८

यो वर्ष फूल लगाउनुअघि उनले पात्रो हेरेनन्। अघिपछि पात्रो नहेरी फूल रोप्दैनथे।

उनलाई यो वर्ष लाग्यो, यस्तो कोरोनाको कहर छ के हेर्नू! चाडवाड र मेला-महोत्सवलाई लक्षित गरेर फूलाउनु पर्ने भए पो हेर्नू!

पोहोर तीन बिघा जमिनमा फूल खेती गरेका पुष्पराज वन्तले यो वर्ष ३ कठ्ठामा मात्र सयपत्री लगाए।

‘यो वर्ष असारमा हो फूल रोप्नु पर्ने। त्यसबेला कोरोनाले तिहारै नहोला जस्तो भयावह थियो। अनि फूल लगाइनँ,’ पुष्पराजले भने।

गत तिहारमा कैलालीको गोदावरी नगरपालिका–४ का पुष्पराजले १२ लाख रूपैयाँको सयपत्री माला बेचेका थिए। त्योभन्दा अघिल्लो वर्ष दस लाखको कारोबार भएको थियो।

तर यो सफलतासम्म आइपुग्न र धनगढीमा फूल व्यवसायीको परिचय बनाउन उनलाई २० वर्ष लाग्यो।

२०५७ सालतिर उनी गाउँका किसानका घरबाट दूध किनेर मोटरसाइकलमा धनगढी बजारमा बेच्थे। एकदिन यसै कुरा चलिरहेका बेला कसैले उनलाई सुनायो- काठमाडौंमा त तिहारका माला पनि दिदीबहिनीले बनाउँदैनन्। बजारबाट किन्छन्।

उनी छक्क परे! आफ्नो गाउँठाउँमा त्यस्तो चलन थिएन।

निकै दिनपछि धनगढीमा पनि फूल बेच्न सकिन्छ कि क्या हो भन्ने सोचाइ उनको मनमा आयो।

त्यस बेला उनी डेरामा बस्थे। फूल खेती भई पो हाल्छ कि भनेर उनले त्यही वर्ष ५ कठ्ठा जमिन भाडामा लिए र सयपत्री लगाए।

३५/४० हजार खर्चेर उनले ती फूल लगाएका थिए। तिहारका बेला टिपेर माला उने। १३ सय वटा माला भए। ती माला पाइडल रिक्साभरी हाले र बेच्न हिँडे। उनले एउटा मालाको १० रूपैयाँ तोकेका थिए।

‘३५–४० हजार खर्च गरेर खेती गरेँ, बिक्री जम्मा १३० वटा माला भयो। आम्दानी १३ सय मात्र भएपछि मैले यसमा फाइदा छैन जस्तो ठानेँ,’ उनले भने।

त्यत्रो जग्गा भाडा लिएर लगाएको फूल नबिकेपछि परिवार र साथीभाइले कुरा काट्न थाले।

‘फूल बेचेको भनेर गाउँले साथीभाइले मलाई यत्रा आँखाले हेर्थे,’ उनले सम्झिए, ‘फूल बेचेर पनि कहीँ पैसा कमाउँछन् भनेर कतिपयले हप्काए पनि।’

पुष्पराजले हार खाएनन्। उनले नर्सरी स्थापना गरे। फूलसँगै बिरूवा पनि बेच्न थाले। दूध बेच्न पनि छाडेका थिएनन्। दूध किन्नेलाई उनी फूलको एक बुके पनि दिन्थे।

‘एक लिटर दूधसँगै एउटा बुके दिएँ,’ उनले भने, ‘नर्सरीबाट पनि ग्राहक पहिचान भयो।’

त्यसपछि केही मान्छेले मन्दिर जान, कार्यालयमा कर्मचारी आउँदा–जाँदा यति रूपैयाँको फूल ल्याइदिनू है भन्न थाले। थोरै माग बढेपछि फूल खेतीबारे उनमा अझै चासो बढ्यो।

‘मैले सिक्न चाहेँ, खोजी गर्न थालेँ। अनि भारतबाट ठूलो मात्रामा फूल नेपाल आउँदो रहेछ भन्ने थाहा पाएँ,’ उनले भने।

धनगढीमा हुने मेला-महोत्सवका लागि पनि सुरूका केही वर्ष भारतबाटै फूल ल्याउनुपर्ने बाध्यता रहेछ। त्यसपछि उनले तीन बिघा जग्गा भाडामा लिएर सयपत्री खेती सुरू गरे।

‘यस बेलासम्म त मैले बजार कहाँ छ थाहा पाइसकेको थिएँ। माग जहाँ छ त्यसैका लागि फूल लगाउन थालेँ,’ उनले भने।

घरमा फूल टिपेर माला गाँस्ने काम उनकी श्रीमती र अरू परिवारका मानिसले गर्छन्।

‘अहिले धनगढीका १० वटा पसलमा मात्रै दस हजार बढी मालाको माग मकहाँ आउँछ,’ उनले भने।

कस्मेटिक पसल, विवाह–ब्रतबन्ध, पूजा, हरेक वर्ष लाग्ने महोत्सव, नेताहरू आउने कार्यक्रम, प्रमुख अतिथिलाई लगाउने किलोका किलो तौल भएका माला उनले बनाउने गरेका छन्।

उनका फूल र माला सूदुरपश्चिममा मात्र नभई सुर्खेत, रूकम, काठमाडौंसम्म जान्छन्।

‘यस वर्ष मसँग फूल छैन। माग भने निरन्तर बढेको बढ्यै छ,’ उनले भने।

यो तिहारमा फूल अभाव हुने भयो नै। अहिले बजारमा फूलको मालाभन्दा पनि प्लास्टिकका माला बाहिरबाट निकै बढी आएको उनले सुनाए। त्यो देखेर उनलाई थकथकी लाग्छ।

माग हेर्दा उनलाई लाग्छ, धनगढीमा अरू ४/५ जना पुष्प व्यवसायीको खाँचो छ।

अहिले पनि भारतबाट आयात हुने फूल रोक्न सकिएको छैन। यहाँ आवश्यकता अनुसारको फूल उत्पादन हुन नसकेको उनको अनुभव छ।

फूल खेती गरेरै उनी २०६९ सालमा उत्कृष्ट कृषकका रूपमा राष्ट्रपतिका हातबाट सम्मानित भएका थिए।

‘त्यति बेलाका राष्ट्रपति डा. रामवरण यादवले मलाई दोसल्ला ओडाएर प्रमाण पत्र दिनुभयो,’ उनले खुसी हुँदै सम्झिए।

सरकारकै सहयोगमा त्यसैबेला १० महिने तालिम लिन इजरायल जान पनि पाएका थिए उनले। त्यहाँबाट आएर भारतको बैगलुरूमा फूल व्यवसाय र बजारबारे अध्यनन गर्न गएपछि थप व्यवसायिक ज्ञान पाए।

अहिले उनले पुष्प खेतीसँगै भेडे खुर्सानी र कागती खेती पनि गरिरहेका छन्। फूल व्यवसाय गरेरै ५ कठ्ठा जमिन किनेका उनले त्यसैलाई धितो राखेर ऋण निकालेपछि १८ कठ्ठामा छानो बनाएर भेडे खुर्सानी र ८ बिघामा कागती खेती गरेका हुन्। यो काममा उनले एक साथीसँग सहकार्य गरेका छन्।

उनी आफ्नै लगानीमा धनगढी विमानस्थल जाने बाटोमा गायत्री नर्सरी चलाइरहेका छन्। अहिले आफ्नो कृषिमा ५ करोड जति लगानी पुगेको बताउँछन्।

सुरूवातमा डेरामा बस्ने उनले अहिले १० कठ्ठा जमिन किनेर, दुई तलाको घर बनाउन सकेका छन्। आफ्नो घर मात्र बनाएका छैनन्, अरूलाई पनि काम दिएका छन्।

‘आफ्नो घर र जमिन किन्न सकेँ। अरु १७ जना कर्मचारी राखेर खेती गरिरहेको छु,’ उनले भने, ‘धेरै आर्थिक लाभ नभए पनि १७ जनालाई रोजगार दिन पाउँदा धेरै सन्तुष्ट छु।’

अरू यस्तै दुई-चार जनाले पुष्प खेती गरेर थप रोजगारी सिर्जना हुने सम्भावना उनी देख्छन्।

उनका अनुसार विज्ञहरूले कैलालीको मलवारा र खानीडाँडा क्षेत्रमा फूल खेतीको राम्रो सम्भावना रहेको बताएका छन्।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु