मुख्य

लकडाउनभरि सिर्जनामा मस्त कलाकार


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर २, ११:४२

नवलपुरको गैंडाकोटका चित्रकार भीमप्रसाद शर्माले लकडाउनका बेला ८० वटा व्यावसायिक चित्र बनाए।

तीन वटा शीर्षकमा तयार पारिएका चित्रलाई छुट्टाछुट्टै प्रदर्शन गर्ने तयारीमा उनी छन्।

अन्य काम गर्न नपाएपछि एकोहोरिएर चित्र बनाउन पाएको शर्मा बताउँछन्।

‘मैले कर्म, कोरोना भाइरस र सम्बन्धन-२ शीर्षकमा ८० वटा चित्र तयार पारें,’ उनले भने, ‘अरू समयमा भएको भए यति बनाउन धेरै समय चाहिन्थ्यो।’

उनले सम्बन्धन–२ का लागि काठमा गौंथलीको जीवन तयार पारेका छन्।

लकडाउनका बेला चित्र बनाउँदै भीमप्रसाद शर्मा। तस्बिर : राजेश घिमिरे
गत डिसेम्बरमा काडमाडौंस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्बन्धन शीर्षकमा उनले गौंथलीका विभिन्न रूपमा चित्रहरू प्रदर्शन गरेका थिए। बनाएका चित्रहरूको बिक्री कम भए पनि कलाकारले आफ्नो सिर्जनशीलता पस्कने मौका पाएको शर्मा बताउँछन्।

‘हामीले तत्कालै प्रत्यक्ष प्रदर्शन गर्ने अवसर पाएनौं, कलाको विषयमा भेट भएर विचार विमर्श गर्न पाएनौं तर यो अवधिमा पहिले भन्दा बढी काम भएकोजस्तो लाग्छ,’ उनले भने, ‘कुनै दिन यसले आफ्नो मूल्य पाउँछ।’

उनले सबै ध्यान चित्रमा दिन पाउँदा विगतभन्दा राम्रा चित्र तयार भएको बताए।

ललितकला प्रज्ञा प्रतिष्ठानको मूर्तिकला विभागका प्रमुख लालकाजी लामाले लकडाउनकै अवधिमा बनाएको मदन भण्डारी र जीवराज आश्रितको मूर्ति दासढुंगामा ठडिएको छ।

पहिलेको मूर्ति पुरानो भएपछि उनलाई नयाँ मूर्ति बनाइदिन भनिएको थियो। यसबाहेक उनले धेरै मूर्ति र चित्र यस अवधिमा तयार पारे ।

‘विगतमा नभ्याएर थाँती राखेका थुप्रै अर्डरहरू बाँकी थिए, ती सबै यही अवधिमा सकें,’ उनले भने, ‘धेरै ढुंगालाई मूर्तिको अकार दिएँ, चित्रका कामहरू पनि गरिरहेको छु ।’

मदन भण्डारीको मूर्ति बनाउँदै लालकाजी लामा। तस्बिर सौजन्य : लालकाजी लामा​​​
उनले राम्रो जनसम्पर्क भएका र प्रविधिको प्रयोग गर्ने कलाकारलाई लकडाउनले धेरै असर नगरेको बताए।

अन्तर्राष्ट्रिय वाटर कलर सोसाइटी नेपालका उपाध्यक्षसमेत रहेका लामाले नेपाली चित्रकारहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न प्रविधिका माध्यमबाट चित्रकला प्रदर्शनी गरिएको बताए।

उक्त संस्थाले हालै १०० घण्टाको रिले चित्रकला कार्यशाला आयोजना गरेको थियो। देशभरका ७३ जना चित्रकारहरूले लगातार १०० घण्टासम्म काजगमा पानी चित्र कोरेका थिए।

त्यसलाई विश्व रेकर्डका रूपमा दर्ज गर्ने तयारी सोसाइटीको छ ।

‘यस्ता गतिविधि अझ बढाउँदै जान्छौं,’ उनले भने, ‘समयअनुसार प्रविधिको प्रयोग गर्दै व्यवसायलाई अगाडि बढाउनुको विकल्प छैन।’

चित्रकार दामोदर बराल प्रायः चित्र विदेशीका लागि बनाउँछन्।

पर्यटकीय नगरी सौराहामा उनको स्टुडियो र पसल छ। सौराहामा विदेशीको चहलपहल बढी हुँदा उनको व्यवसाय निकै राम्रो थियो। तर लकडाउनले व्यवसाय बिग्रियो ।

तैपनि उनलाई यो अवस्थाले चित्र बनाउन भने रोकेन। लकडाउनको अवधिमा उनले करिब ३ लाख रुपैयाँभन्दा बढी मूल्यका चित्रहरू तयार पारेका छन्।

‘सधैं यस्तै अवस्था त नरहला नि,’ उनी भन्छन्, ‘व्यापार ठप्पै भए पनि कामलाई रोकेको छैन।’

चित्र बनाउँदै कलाकार चित्रकार दामोदर बराल। तस्बिर : राजेश घिमिरे ​​​
बराल आफूले बनाएका चित्र लिएर प्रदर्शन तथा बिक्रीका लागि विभिन्न देशहरूमा पुगिरहन्छन्। गत वैशाखमा अष्ट्रेलियामा हुने प्रदर्शनीमा सहभागी हुने उनको तयारी थियो तर लकडाउनले रोकिदियो। यो साल चित्र बोकेर युरोप पनि पुग्ने तयारीमा उनी थिए। तर समयले साथ दिएन ।

नेपालमै गर्ने भनिएको विश्वका प्रतिष्ठित चित्रकारहरूको चित्रकला कार्यशाला पनि कोरोना भाइरसको महामारीले प्रभावित बनाइदियो।

‘यस्ता ठूला कार्यक्रममा असर पुग्दा धेरै कुरा गुमाइयोजस्तो लाग्छ,’ उनी भन्छन्, ‘तै पनि यसबाट पाठ सिक्दै पेसालाई निरन्तरता दिन लागिपरेको छु।’

चितवनको माडी घर भएका दिनेश्वर महतो लकडाउन सुरू भएपछि दुई महिना जति क्वारेन्टिनमै बन्द भए। लकडाउन बढ्दै जान थालेपछि भने उनलाई यसै बस्न मन लागेन।

‘हामीले काम गर्ने पनि त बन्द कोठामै हो । किन यसै थन्किएर बस्ने भन्ने लाग्यो,’ उनले सुनाए, ‘मैले दुई ट्याक्टर ढुंगा झारेर मूर्ति बनाउन थालें।’

मूर्तिकार दिनेश्वर महतो चित्र पनि बनाउँछन्। आफूले बनाएको चित्र देखाउँदै । तस्बिर : राजेश घिमिरे
मूर्तिको काम भइरहेको थाहा पाएपछि धेरैले अर्डर गर्न थालेको उनले बताए ।

पछिल्लो पाँच महिना उनको व्यस्तता निकै बढेको छ। धेरैले मूर्ति बनाउन आइदिन आग्रह गरेका छन् तर उनी गएका छैनन्।

‘बाहिर जान त कोरोना भाइरसको डर छ, म घरमै बसेर बनाउँछु भन्दै आएको छु,’ उनले भने, ‘यो अवधिमा धेरै मूर्ति बिक्रीका लागि तयार भएका छन्।’

चितवन राष्ट्रिय निकुञ्जले घेरिएको माडीमा आदिवासी महतो जनावरका मूर्ति नै बढी बनाउँछन्। मूर्तिका अलावा उनी चित्र पनि कोर्छन्। उनले भोर्लाको पातमा बनाएका चित्रहरू विदेशीलेसमेत मन पराएर खरिद गर्ने गरेका छन्।

चित्रकार प्रकाश थापा ‘प्रथा’ले लकडाउनमा कार्टुन चित्र धेरै बनाए।

कार्टुनिष्ट क्लबले गर्न लागेको कार्टुन चित्र प्रदर्शनीमा उनले बनाएको कार्टुन पनि प्रदर्शन हुँदैछ।

उनले यो अवधिमा बिक्रीका लागि धेरै पोट्रेट चित्र बनाए।

चित्रकार प्रकाश थापा । तस्बिर: राजेश घिमिरे
‘लकडाउनको समयलाई सदुपयोग गर्दै धेरै आफन्तलाई चित्रहरू बनाएर उपहार दिएँ,’ उनले भने, ‘उत्तिकै संख्यामा अर्डर अनुसारका चित्र पनि बनाएँ।’

अन्य समयमा जस्तो व्यवसायिक काम नभए पनि लकडाउनको भरपुर उपयोग गरेको उनले बताए। सानैदेखि कलामा रूची भएका चित्रकार वरूणबाबु घिमिरेको २०७६ साल असाध्यै व्यस्त भएर बित्यो।

मनमा लागेका सबै काम उनले थाँती राखेका थिए। लकडाउन उनका लागि ती कामहरु गर्ने अवसर बनेर आए।

उनलाई चितवनको पहिचान झल्कने संस्कृतिदेखि यहाँका वन, वन्यजन्तु, चराचुरूङ्गीको चित्र कोर्न खुब मन थियो।

‘लामो समयदेखि पेन्टिङमा रहे पनि ग्राहकले अर्डर गरेका व्यवसायिक चित्रहरू मात्रै बनाउन भ्याएको थिएँ तर आफूलाई मन लागेको चित्र बनाउने अवसर नै मिलिरहेको थिएन,’ उनले भने, ‘लकडाउन सुरू भएपछि त्यस्ता धेरै चित्रहरु कोरेर सजाएको छु।’

लकडाउन यति लम्बियो कि उनीसँग रहेको स्टक रंगलगायतका सामग्रीहरू केही दिन चित्र बनाएपछि सकिए। अर्डर आउँदा पनि उनले बजार बन्द भएकाले चाहेर पनि थप चित्र कोर्न पाएनन्।

‘जति दिन काम गरें पुरै खुलेर गरें, यसअघि कहिल्यै पनि यसरी खुलेर काम गर्ने अवसर मिलेको थिएन,’ उनले सुनाए।
उनलाई अब फेरि पहिलेकै जस्तो अवस्था आउने आशा लागेको छ ।

‘अर्डरहरू धमाधम आइरहेका छन्,’ घिमिरेले भने, ‘जन्मदिन, विवाह वर्षगाँठ तथा अन्य शुभकामनाहरूका लागि स्केच तथा पोट्रेट चित्र उपहार दिने चलन बढेको छ।’

लामो समयदेखि कला क्षेत्रमा आवद्ध रहेका व्यक्तिहरू गुनासो राज्यसँग भने धेरै छ। उनीहरू राज्यबाट सधैँ उपेक्षित हुने गरेको गुनासो गर्छन्।

‘कला क्षेत्रको नेतृत्वमा कला नै नजानेका मान्छेलाई पठाएर हाम्रो अपमान गर्ने काम राज्यले गर्ने गरेको छ,’ चित्रकार प्रकाश थापा भन्छन्, ‘हामी देशलाई विश्वभर चिनाउनुपर्छ भनेर लागिपरेका छौं तर सरकारले हामीलाई पनि चिन्न सकेको छैन।’

चित्रकार भीमप्रसाद शर्माका अनुसार परम्परागत चित्रकलाको क्षेत्रमा नयाँ पुस्ताको आकर्षण घट्न थालेको छ। यसको कारण पनि यस क्षेत्रमा व्यवसायिकता बढ्न नसक्नु रहेको उनी ठान्छन्।

‘व्यावसायिकता बढाउन राज्यको भूमिका असाध्यै थोरै भयो,’ उनी भन्छन्, ‘पुरानो पुस्ताले कति दिन धान्ने हो थाहा छैन।’

चित्रकला क्षेत्रमा चासो राख्ने युवाहरूको ध्यान हातले चित्र बनाउनेमा भन्दा बढी डिजिटल माध्यमबाट बनाउनेमा गएको शर्मा बताउँछन्।

‘हातैले चित्र बनाउनेतर्फ पनि उनीहरूलाई अकर्षित बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘यसका लागि सरकारले कला क्षेत्रमा प्रोत्साहन गर्ने नीति ल्याउनु पर्छ।’

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु