नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधवारका लागि निर्धारित सचिवालय बैठक पूर्वनिर्धारित कार्यक्रम अनुसार बस्ने जानकारी गराएका छन् । बुधवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै उनले बैठक दिउसो १ बजे बालुवाटारमा बस्ने जानकारी गराएका हुन ।

बुधवारको बैठक बस्ने नबस्ने अन्यौलताकाबीच प्रवक्ता श्रेष्ठले निर्धारित समयमै बैठक बस्ने जानकारी गराएका हुन् । गत शुक्रवार बसेको बैठक निरन्तरता स्वरुप बुधवारका लागि राखिएको थियो । पार्टीमा देखिएको समस्या समाधान बैठकको एकमात्र कार्यसूची तय भएको थियो ।

गत शुक्रवारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले फरक राजनीतिक प्रतिवेदन र अध्यक्ष ओलीलाई सम्वोधन गर्दै ७ पेज लामो पत्र बुझाएपछि नेकपा विवाद जटिल मोडमा पुगेको छ ।

ओली पक्षका नेताहरुले प्रचण्डले पेश गरेका प्रस्ताव फिर्ता नगर्दासम्म कुनै कमिटीको बैठक बस्न नसक्ने बताउँदै आएका छन् ।

प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ समूहले सो पत्र आफूहरुको सामूहिक भन्दै फिर्ता नगर्ने अडान लिएका छन् । प्रस्ताव फिर्ता लिनुपर्ने ओलीपक्षको दवाव र फिर्ता नगर्ने प्रचण्ड पक्षको अडानका कारण आजको लागि पूर्वनिर्धारित सचिवालय बैठक प्रभावित हुने संकेत देखिएको छ ।

सचिवालय बैठक बोलाउन माग गर्दै सचिवालयका बहुमत सदस्यले कात्तिक २२ गते लिखित पत्र दिएपछि कात्तिक २८ मा सचिवालय बैठक बसेको थियो । शुक्रवार केहीबेरका लागि बसेर सचिवालय बैठक बुधवार सम्मका लागि स्थगित भएको थियो ।

राजदूत सिफारिश, मन्त्रिपरिषद् विस्तारलाई लिएर नेकपामा चुलिएका विवाद प्रचण्डको पत्रसँगै नयाँ चरणमा प्रवेश गरेको छ । हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय