राष्ट्रिय खबर

यसपालिको छठ घरमा मनाउने कि जलाशयमा ?


  काठमाडौ   सवाल नेपाल   २०७७ मंसिर ३, १९:४५

काठमाडौं । सूर्य पुजाको रुपमा मनाउने छठ पर्व यसपालि घरमै मनाउने कि बाहिर जलाशयमा, भक्तालुमा अन्योल देखिएको छ । छठ पर्व नै यस्तो पर्व हो जो घरभन्दा बाहिर जलाशयहरुमा मनाइन्छ । व्रतालुहरुले जलमा पसेर उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ (पुजा) दिएर छठ मनाउने गरेको पाइन्छ । तर यसपटक कोरोना महामारीको कारण कहाँ मनाउने भनि भक्तालुहरुमा अन्योल देखिएको छ । यसको सबभन्दा ठूलो समस्या काठमाडौं उपत्यकामा देखिएको छ ।

काठमाडौं उपत्यकामा छठ पर्व मनाउन उपत्यकाका तीनटै जिल्लाका सिडियोले रोक लगाएका छन् । कोरोना महामारीको कारण देखाउँदै कुनै पनि जलाशयमा छठ पर्व मनाउने नपाइने भनि सूचना नै जारी गरिएको छ । त्यो सूचनाले छठ पर्व मनाउने व्रतालुका लागि अन्योल सृजना गरेको छ ।

उपत्यकामा छठ पुजाको संयोजन गर्दै आएका सतिश झाले छठ पर्व आस्थाको पर्व भएकाले कसैले रोकेर नरोकिने भन्दै सरकारले तोकेको मापदण्ड अनुसार मनाउने प्रयास गरिने बताए । उनका अनुसार आफूले तीनटै जिल्लाका सिडियोसँग यस विषयमा पटक पटक कुरा गर्दा पनि उनीहरु अनुमति दिन तयार भएनन् । तर आफूले आस्था र विश्वासको पर्व छठलाई सचेततापूर्वक जलाशयमा नै गएर मनाउन दिनुपर्ने अडान लिएपछि बल्ल अनुमति दिएको उनले बताए ।

घाटमा २५ जनाभन्दा बढी मान्छे राख्न नहुने, मान्छे आए भने समाजिक दुरी कायम गर्ने, माक्स लगाउने जस्ता मापदण्ड अपनाउनु पर्ने सर्तमा अनुमति दिनेकाले आफूहरु तयारीमा जुटेको उनले बताए ।

सतिश झाका अनुसार दशैं लगतै उनीहरुलाई सँस्कृति मन्त्रालयमा पनि बोलाएर यस विषयमा छलफल गरिएको थियो । त्यसमा गृहमन्त्रालयका पनि प्रतिनिधि थिए । उसले तराई मधेशमा दशैंको समयमा भएको भीडभाडको फोटो देखाएर यसरी भिडभाड गरेर पर्व मनायो भने त्यसको जिम्मेवारी कसले लिने भनि प्रश्न गरेको बताए ।

उनले भने, ‘त्यसको जवाफमा मैले कालीमाटी तरकारी बजारमा यस्तो भीड दिनुहुँ हुन्छ, न्युरोड, असनमा गएर हेर्नुस् दिनहुँ यस्तो भीड हुन्छ, तराई मधेशमा भएको भीडभाडको मात्र भिडियो देखाएर छठ पर्व रोक्न सकिदैन भनेको थिए त्यो दिन उहाँहरुले उपत्यकामा कुनै पनि हालतमा पर्व मनाउन दिइँदैन । तपाईहरु यसको लागि प्रयास नगर्नु भन्नुभएको थियो । तर म प्रयास गर्न कहिल्यै छाडिनन् ।’

उनले आफ्नो छठ नभए पनि आफू विगत केही वर्षदेखि छठ पर्व मनाउनका लागि यहाँ संयोजन गर्दै आएको बताउँदै थापाथलीको कुपण्डोलमा घाट निर्माण तयारी भइरहेको बताए ।

बोलबम कमरिया संघका अध्यक्ष रामअज्ञा रौनियारले पनि सरकारले तोकेको मापदण्ड अनुसार छठ पर्व मनाउने तयारी भइ रहेको बताए । शुरुमा अनुमति दिन तयार थिएन तर वडा नम्बर १३ का अध्यक्ष रुपनारायण महर्जनलाई आग्रह गरेपछि उनले समाजिक दुरी कायम गर्दै भीडभाड नहुने गरी छठ पर्व मनाउन अनुमति दिएको बताउँदै अध्यक्ष रौनियारले पुरानो छठ पुजा घाट टंकेश्वर मन्दिर नजिक पुजाको तयारी भइरहेको बताए ।

सकभर भीडभाड नहोस् भनि आफूहरुको प्रयास हुने र मान्छे अहिले आफै पनि सचेत भएको भन्दै पहिला जस्तो भीडभाड नहुने कुरामा आफूलाई विश्वास लागेको उनले बताए ।

पहिला एउटा घाटमा पाँच सयदेखि हजार जनाको भीडभाड हुन्थ्यो तर यसपटक त्यति नहोला जस्तो आफूलाई लागेको उनले बताए । कोरोनाका कारण धेरैजना घर नै गइसकेको र काठमाडौंमा भएका व्यक्ति पनि भीडभाडबाट डराउन थालेकाको उनले बताए । तर विगत १० वर्षदेखि छठ पुजा सेवा समाजको नामबाट संगठित भएर छठ पर्व मनाउँदै आएका राकेश मेहताले सरकारले अनुमति नदिएको कारण यसपाली बाहिर जलाशयमा गएर छठ नमनाउने बताए ।

कुपण्डोलको राममन्दिर नजिक बागमती नदीमा छठ घाट स्थापना गरी पुजा समारोहको आयोजना गर्दै आएका मेहताले यसपालि सूचना नै निकालेर कोरोना महामारीका कारण घरघरमै छठ मनाउनका लागि आग्रह गरेका छन् ।

उनले राममन्दिर नजिक होडिङ बोर्ड नै लगाएका छन् । राममन्दिुर राजतिर्थ फुटबल ग्राउण्डमा हुने छठ पुजा यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को बढ्दो महामारीको त्रास र नेपाल सरकारको निर्णय अनुसार सर्व साधारणको स्वास्थ्यलाई ध्यानमा राखी छठ पुजा स्थगित गरिएको छ । यसपटक २०७७ मंसिर ५ गते शुक्रवार हुने कत्तिककी छठको पुजा आआफ्ना घर निवासमा मनाउन आग्रह छ भनि समाजले सूचना नै जारी गरेको छ ।

उनले भने, ‘यसपालिको चैती छठ पनि हामीले घरमै मनाएका थियौं र यो पर्व पनि घरमै मनाउने छौं । ललितपुर उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष राजेश महर्जनसँग अनुमति माग्दा उहाँले अनुमति दिने काम सिडियोको हो भन्नुभयो । ललितपुर जिल्लाका सिडियोसँग यो विषयमा कुरा गर्दा उहाँले यसपाली पुजा गर्न बल नगर्न आग्रह गर्नुभयो । यो ठूला रिक्स हो, अवस्था राम्रो छैन केही भइ दियो भने यसको जिम्मेवारी कसले लिने त्यसैले यसपाली छठका लागि प्रयास नगर्नु भनेको कारण बाहिर नदी किनारमा मनाई छठ पर्व मनाउने कुरा स्थगित गरेका छौँ ।’

स्वास्थ्य भन्दा ठूलो अरु कुनै कुरा नभएको र मनमा आस्था छ भने घर वा बाहिर जहाँ पनि मनाउन सकिन्छ भन्दै उनले सरकारले जारी गरेको सूचनालाई आफूहरुले अवज्ञा नगरेको बताए । घरको आँगन, वगैचा, वा छतमा पानीको व्यवस्था गरेर पनि यो पर्व मनाउन सकिन्छ, कोरोना महामारी हट्यो भने पुनः धुमधामका साथ जलाशय, नदी, पोखरीमा गएर नै मनाउने भन्दै यसपाली घरमै छठ पर्व मनाउने निर्णय गरेको बताए ।

काठमाडौं छठ पुजा आयोजना गर्दै आएका पर्सा मिलन केन्द्रका अध्यक्ष ललन प्रसाद साहले पनि यसपालिको छठ पुजा कार्यक्रम स्थगित गरेको बताए । आफूले पनि सिडियोबाट अनुमति लिने प्रयास गरेको तर अनुमति नदिएको कारण धेरै बल नगरेको उनले बताए । काठमाडौं उपत्यकामा कोरोना महामारीको अवस्था चिन्ता जनक भएकाले भीडभाड गरेर पर्व मनाउन कसरी सकिएला भनेर नै आफूहरुले यसपालिको पर्व स्थगित गरेको उनले बताए ।

उनले भने, ‘छठ पूजाको आयोजना गरेपछि जति नियन्त्रण गरेपनि भीड नियन्त्रण हुन सक्दैन, छठ पूजाप्रति धेरैको आस्था छ, त्यो आस्थाका कारण हेर्नका लागि एकएकजना भएपनि आए भने भीड हुन्छ, त्यो भिडबाट कोरोना सर्ने सम्भावना धेरै हुन्छ, जोखिम हुन्छ त्यसलाई मध्यनजर गर्दै छठ पुजा स्थगित गरेका छौँ । वितगमा गौरीघाटमा छठ पुजाकाको आयोजना हुन्थ्यो, हजरौं मान्छेको भिड हुन्थ्यो, यसपाली त्यति भीड नभएपनि आधा भीड त अवश्य हुन्छ त्यसले गर्दा सरकारले दिएको निर्देशन तथा तयार गरेको मापदण्डलाई माहीले पालना गरेका छौँ ।’

राष्ट्रियता, गणतन्त्र र हिन्दु राष्ट्रका लागि अभियान सञ्चालन गरेका राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले छठ पर्व रोक्न सरकारले जारी गरेको निर्देशनलाई विरोध गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गरी सरकारको यसखालको कार्यले सम्पूर्ण नेपालीहरुको भावनामाथि कुठाराघात मात्र नभई धर्म सँस्कृतिमाथि ठाडो योजनावद्ध प्रहार भएको दावी गरेका छन् । सरकारले यस्तो गर्नुको पछाडी विदेश विधर्मी शक्तिको दवाव हुन सक्ने दावी अभियानले गरेको छ ।

राजनीतिक दलका आमासभाहरु दिनदिनै भइरहेका छन्, यहाँसम्म कि प्रधानमन्त्री केपी शर्मा अ‍ोलीकै समर्थनमा जुलुसहरु निकालिएका छन् तर छठ पुजाका लागि पोखरीहरु बन्द गर्नुको अर्थ के भनि अध्यक्ष यादवले प्रश्न गरेका छन् । भाइ टिका दिन रानी पोखरी खुल्ला गर्नु तर छठ पर्वका खोल्न नमिल्ने भन्नुको पछाडि कस्तो रहस्या रहेको छ भनि सहजै बुझ्ने सकिने उनले टिप्पणी गरेका छन् ।

‘रानीपोखरी हालै पुनः निर्माण भएको छ । विगतमा रानीपोखरीमा छठ पुजा हुन्थ्यो । त्यहाँ प्रधानमन्त्रीदेखि लिएर राष्ट्रपति समेत पुजाआजाका लागि आउँथे तर यसपटक रानीपोखरीमा पुजा गर्न अनुमति दिएको छैन,’ छठ पुजा आयोजक सतिश झाले भने, ’हामीले रानीपोखरी खोल्नुपर्छ भनि निकै प्रयास गरेको तर महानगरपालिकाका मेयरले रानीपोखरी निर्माधिन अवस्थामा रहेको कारण त्यसलाई खोल्न नमिल्ने जवाफ दिनुभएका थियो । वडा नम्बर १० का अध्यक्षलाई रानीपोखरीका लागि कुरा गर्न जाँदा उहाँले सिडियोबाट निर्देशन भएको छ कि रानीपोखरीमा पुजा गर्नका लागि अनुमति माग्न आए भने कसैलाई नदिनु भनिएको छ त्यसैले छठ पुजाका लागि रानीपोखरी दिन मिल्दैन भन्नुभएको थियो । त्यसैले हामी त्यसका लागि त्यति प्रयास गरेनौं तर नदीहरुको खुल्ला ठाउँमा समाजिक दुरी कायम गरी छठ मनाउने योजना छ ।’

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु