दमक/ भन्नलाई त छोरा छोरी बराबरी भनिन्छ तर हिन्दु नेपालीहरुको संस्कार अनुसार आफनै बाबुआमाको किरिया गर्न छोराहरु कोरा बस्छन छोरीहरु अलग्गै बस्नुपर्छ । तर छोराले मात्रै बाबु आमाको काज किरिया गर्ने हिन्दु नेपालीहरुको संस्कारलाई चुनौती दिदैं झापा दमक २ की प्रनिता पौडेल आफना स्वर्गीय बुबा काशिनाथ पौडेलको किरियामा बसेकी छिन ।

छोरीले आमाबुवा र अन्य परिवारका सदस्यको मृत्यु भएमा किरिया बस्नु हुदैन भन्ने मान्यता गलत छ भन्ने पुष्टि गर्न प्रनिता गत मंसिर १ गते निधन भएका आफना बुबा ७० बर्षिय काशिनाथ पौडेलको किरिया गर्न कोरा बसेकी हुन ।

स्वर्गीय पौडेल मधुमल्ला गाविसका पूर्व अध्यक्ष पनि हुन । उनको १ मसिंर (भाइटिकाको दिन)नै काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो । उनी पछिल्लो समय मधुमल्लाबाट दमक ५ हुदैं दमक २ मा बसाइसरी आएका थिए । काशिनाथले आफनो निधन हुनु अघिनै आफनो मृत्युपछि किरिया गर्न छोरीलाई आग्रह गरेका थिए । प्रनिता स्वर्गीय पौडेलकी जेठी छोरी हुन । स्वर्गीय पौडेलका एक मात्रै छोरा प्रकाश बैदेशिक रोजगारका सिलसिलामा साउदी अरबमा छन । बुहारी जानुका पौडेलले भनिन– उहा ( श्रीमान) विदेशमै हुनुहुन्छ, आउने कोशिस त गरिरहनु भएको छ तर आउने चाजोपाजो मिलिरहेको छैन । स्वर्गीय पौडेलकी श्रीमति गोमा, छोरा प्रकाश, छोरीहरु प्रनिता र प्रभा छन ।

समाजमा छोरा र छोरीबीच हुने विभेदलाई चुनौती दिन र बुबाको अन्तिम इच्छा अनुसार पनि आफू किरिया बसेको प्रनिताले बताइन । पौडेल युवा मञ्च दमककी कोषाध्यक्ष समेत रहेकी प्रनिताले समाजलाई देखाएको बाटोलाई सकारात्मक रुपमा लिनुपर्ने पौडेल युवा मञ्च दमक नगरका सल्लाहकार संयोजक समेत रहेका राष्ट्रिय युवा संघ नेपालका दमक नगर अध्यक्ष राम पौडेल बताउछन ।

हिन्दु संस्कारमा छोरीले बाबु आमाको किरिया गर्नु हुदैन भन्ने स्पष्ट कहिं कतै नरहेको सो कर्म गराउन चार दिनदेखि खटिएका पुरोहित फणिन्द्र प्याकुरेल बताउछन । प्याकुरेल भन्छन– उहिले ऋषिमुनीहरुको पालामा समेत छोरीले बाबुको किरिया गरेको ईतिहास पाइन्छ । व्यवहारमा भने ७० बर्षको उमेरमा आफूले पहिलो पटक छोरीले बाबुको दशगात्र कर्म गराएको प्याकुरेल बताउछन ।
शिक्षकदेखि जनप्रतिनिधिको भुमिकामा काशिनाथ ?

 

काशिनाथ पौडेलको पुर्खयौली घर ताप्लेजुङको तेल्लाबुङ हो । बुबा जयनारायण पौडेल र आमा सावित्रा उ बेला गरिखान आसामको

ओदालगुढी भन्ने ठाउ गएको बेला २००४ साल जेठ १८ गते माइला छोराका रुपमा काशिनाथको जन्म भएको हो । उनी २० बर्षको छदा २०२४ सालमा आसामबाट साविकको मोरङ मधुमल्ला बसाई सरेर आएका हुन ।

उस बेला आसाममा पढे लेखेका काशिनाथले मधुमल्लाको मनोहर जनता माविमा शिक्षण पेशा शुरु गरे । शिक्षणसंगै उनको राजनीतिक र सामाजिक काममा पनि सक्रियता बढयो । २०३६ सालमा नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङको नेतृत्व सम्हाल्दै आन्दोलनमा होमिएका पौडेललाई तत्कालिन शासकहरुले २०४२ सालमा कारवाही स्वरुप वेजिल्ला सरुवा गरि राजीनामा दिन बाध्य बनाएका थिए । २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पहिलो स्थानिय निकायको निर्वाचन २०४८ मा उनी तत्कालिन नेकपा एमालेको तर्फबाट उम्मेदवार भई मधुमल्ला गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । उनको कार्यकुशलताका कारण २०५४ सालको स्थानीय निर्वाचनमा समेत दोश्रो पटक उनी गाविस अध्यक्षमा निर्वाचित भए । पदमा भएको बेला होस वा नभएको बेला सधैं सामुदायिक वन, शिक्षण संस्था, सहकारी, खोला नदी तटबन्धन लगायतका कामहरुमा अग्रपक्तिंमा रहेर भुमिका निर्वाह गर्ने गरेका उनको योगदान प्रशंसनिय रहेको मधुमल्ला निबासी सञ्चारकर्मी सन्तोष गौतम बताउछन ।

प्रतिक्रिया

सम्बन्धित खवर