संखुवासभाको पाँचखपन नगरपालिका–४ फापुङमा अज्ञात समूहले राखेको बम निष्क्रिय गरिएको छ ।

वाना–खाँदबारी सडकखण्डमा राखिएको बम नेपाली सेनाले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता सन्तोष बुढाथोकीले जानकारी दिए ।

बुधवार अज्ञात समूहले सो सडकखण्डमा बेवारिसे बम राखेको थियो । बेवारिसे बम बिहीवार बिहान ८ बजे बराह दल गुल्लको टोलीले निष्क्रिय पारेको प्रवक्ता बुढाथोकीले बताए । बम कसले र कुन उद्देश्यले राखेको भन्ने खुल्न नसके पनि पछिल्लो गतिविधिका आधारमा नेत्रविक्रम चन्द ‘विप्लव’का कार्यकताले राखेको हुनसक्ने प्रवक्ता बुढाथोकीको भनाइ छ । बम राख्ने समूहको खोजी तीव्र पारिएको बताइएको छ ।

खाँदबारी–वाना सडक खण्डमा शंकास्पद वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । संखुवासभामा मंसिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा चन्दका कार्यकर्ताबीच गोली हानाहान भएको थियो । घटनामा संलग्न भएका आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेर अनुसन्धान गरिएको जनाएको छ ।

चन्द कार्यकर्ताले पछिल्लो समय संखुवासभामा आफ्नो गतिविधि बढाएपछि प्रहरीले पनि सक्रियता बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय