राष्ट्रिय खबर

पर्यटक होइन, भरिया भएर सगरमाथा आधार शिविर पुगेका अमेरिकी


  काठमाडौं   सवाल नेपाल   २०७७ मंसिर ५, १०:४०

विरानो देशमा पनि पराइ बनेर घुम्न मन नपराउने पर्यटक हुन्, नथानिएल मेनिन्गर। जुन देश पुग्यो त्यहीँको जीवनशैलीमा भिज्ने उनको आफ्नै शैली छ।

जोखिमपूर्ण रोमाञ्चको खोजीमा नयाँ अनुभव सँगाल्दै संसार चहार्नु उनको सौख हो। ‘एक्स्ट्रिम’ र ‘क्रेजी’ कुरा मन पराउँछु भन्ने उनका सौखको कुनै सीमा नै छैन।

सन् २०१४ मा उनी स्पेनको पाम्पलोनामा थिए। हरेक वर्ष जुलाईमा हुने बुल रन (साँढे दौड) महोत्सवमा सहभागी हुन उनले स्थानीय बुल फाइटरहरूसँग दुई महिना तालिम लिएका थिए। ‘फर्स्ट ह्यान्ड’ अनुभव लिन चाहने उनी स्पेन, बार्सिलोनामा स्ट्रिप डान्सरसमेत बनेका थिए।

स्पेनपछि उनी संसारकै उत्कृष्ट पाचौं ‘स्कुबा डाइभिङ’ गन्तव्य मानिने बेलिजको ‘ग्रेट ब्लु होल’ पुगे। त्यसपछिका छ महिना उनले दक्षिण अमेरिका यात्रामा बिताए। बन्जी जम्पिङ, स्काइङलगायत ‘एडभेन्चरस’ अनुभव बटुले।

नथानिएल मेनिन्गर
फरक भूगोलको फन्को मार्दै सन् २०१९ मा उनै मेनिन्गर नेपाल आइपुगे। त्यसबेला उनले तय गरेको सगरमाथा बेसक्याम्प (इबिसी) यात्रा अहिले चर्चामा छ।

उनी नेपाली भरियाहरूसँगै भारी बोकेर संसारकै सबभन्दा अग्लो शिखरको आधार शिविर पुगेका थिए। रमाइलोका लागि होइन, भरियाको भोगाइ नजिकबाट अनुभूत गर्न।

नेपालमा भरिया बनेका उनले आफ्ना अनुभव आफूमा मात्रै सीमित राखेनन्। भरिया जीवनलाई नजिकबाट अरूले पनि बुझून् भनेर डकुमेन्ट्री बनाए।

‘द पोर्टर’ नामको यो डकुमेन्ट्री यस पटकको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा छानिएको छ। भर्चुअल रूपमा हुने किम्फको १८ औं संस्करण यही डिसेम्बर १० देखि १४ सम्म चल्नेछ।

किम्फ महोत्सव पूर्वतयारीका रुपमा ‘द पोर्टर’ गत अक्टोबर १३ देखि १९ सम्म अनलाइन प्रदर्शन भइसकेको छ। प्रदर्शनपछि चलाइएको जुम प्यानल छलफलमा नेपाली भरियाका समस्या, हिमाली जनजीवन र नेपालको पर्यटनबारे कुराकानी समेत भएको थियो।

‘नेपाल र संसारभरका दर्शकले द पोर्टर हेरून् भन्ने चाहना थियो। किम्फले त्यो अवसर दिएको छ। एकदमै खुसी छु,’ हाल अमेरिकामै रहेका मेनिन्गरले सेतोपाटीसँग अनलाइन वार्तामा भने।

नेपालको प्रकृतिमा विदेशीलाई आकर्षित गर्ने जादू छ। यो जादू मेनिन्गरको देश अमेरिकासम्म फैलिएको छ। उनले भने, ‘जसरी नेपालमा अमेरिकाबारे फेन्टासी छ, त्यसरी नै अमेरिकीहरूमा नेपालबारे फेन्टासी छ।’

मेनिन्गर आफैं नेपालको नाम सुन्ने बित्तिकै शान्त गुम्बाभित्र आफूलाई घन्टौं ध्यान गरिरहेको कल्पना गर्थे रे! सगरमाथामा ठोकिएर आउने चिसो हावाको स्पर्शले रोमाञ्चित हुन्थे रे!

उनले चाहेको भए सुविधा सम्पन्न तरिकाले अरूलाई भारी बोकाएर यी अनुभव लिन सक्थे। तर उनका लागि यात्रा रमाइलो मात्रै होइन।

‘यो त प्रकृति र जीवन एकसाथ बुझ्न पाउने अवसर हो,’ उनले भने, ‘त्यसैले म जहाँ जान्छु, नयाँ कुरा सिक्छु। त्यहीँका मान्छेले जसरी बाँच्ने प्रयास गर्छु। यसो गर्दा यही जूनीमा धेरै जीवन बाँच्न पाइन्छ।’

‘भरिया नै बनेर यात्रा गर्ने सोच कसरी आयो?’

‘पहिल्यैदेखि धेरै सुनेको भरियाका भोगाइ विदेशी आँखालेभन्दा नेपाली अनुभवबाट बुझ्न मन लागेर,’ उनले भने।

भरियाको अनुभव लिने पक्का भए पनि डकुमेन्ट्री बनाउने सोच थिएन। तर आफ्ना अनुभव दृश्यमा कैद गर्ने रहरसँगै उनमा यो अनुभव संसारभरका मानिसमा पुगोस् भन्ने लोभ पलायो।

कुनै पनि हिमाली पदयात्रा भरियाको साथ बिना पूरा हुँदैन। अरूलाई उकालो चढ्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भरियाहरू आफैं भने दुःखको गहिरो खाडलमा हुन्छन्।

इबिसी यात्रामा जाने भरियाले दैनिक १५ सय हाराहारी नगद पाउँछन्। उनीहरूले खाने-बस्ने सबै खर्च यसैबाट चलाउनु पर्छ। फर्किने बेला गतिलो ‘टिप्स’ मिलेन भने खल्ती टकटकाउने स्थिति आउँछ।

‘द पोर्टर’ मा भरियाका दैनिकी र संघर्षबाहेक कम पारिश्रमिकको विषयलाई आर्थिक शोषणका रूपमा जोड दिएर उठाइएको छ।

‘द पोर्टर अब मेरो अनुभव मात्रै रहेन। यो हिमाली भेगमा थोरै पैसामा भारी बोक्ने नेपाली भरियाहरूको समस्यालाई नजिकबाट चिहाउने माध्यम बनेको छ,’ मेनिन्गरले भने।

मेनिन्गरले नेपाली भरियाहरू शुक्र तामाङ र जीवन तामाङ सँगसँगै भारी बोकेर यात्रा गरेका हुन्। १३ दिनको पदयात्रा समेटिएको डकुमेन्ट्रीमा मेनिन्गर नेपाली भरियासरह हिँडेका छन्। नेपाली भरिया जहाँ, जे-जसरी खान्छन्, बस्छन्, उनले त्यही गरेका छन्।

मेनिन्गरले इबिसी यात्रा जिरीदेखि सुरू गरेर जिरीमै सकाएका थिए। यसका लागि उनलाई २३ दिन लागेको थियो। तर डकुमेन्ट्रीमा लुक्लादेखि उकालो चढेर फर्कंदासम्मका सन्दर्भ मात्रै छन्।

झट्ट सुन्दा, यसअघि नै धेरै कठिन यात्रा गरिसकेका २६ वर्षीय मेनिन्गरका लागि भरिया बन्नु के ठूलो कुरा भयो जस्तो पनि लाग्ला। ५५ मिनेटको डकुमेन्ट्री हेर्दा त झनै यो यात्रा रमाइलो गर्दै बित्यो कि भन्ने पनि लाग्न सक्छ। वास्तविकता अर्कै छ।

यो यात्रामा उनले मानसिक, शारीरिक, आर्थिक, व्यावहारिक लगायत धेरै चुनौती झेल्नु पर्‍यो।

उनले भने, ‘हामीलाई अर्काको काम एकछिन गर्नुपर्दा त झ्याउ लाग्छ। झन् सरकार, ट्रेकिङ कम्पनी, विदेशी पर्यटक र स्थानीयले अलग्गै समूहका रूपमा व्यवहार गर्ने भरियाको जीवन बाँच्नु गाह्रो थियो।’

सबभन्दा सुरूमा उनलाई ‘साँच्चिकै भरिया बन्न सकूँला त?’ भन्ने प्रश्नले नै तर्साएको रहेछ।

‘अर्काको भारी बोकेर हामी कति घन्टा हिँड्न सकौंला? थकान र भोक पेलेर हिँड्नुभन्दा अर्काको जिन्दगी बाँच्नु गाह्रो थियो। मानसिक रूपमा तयार हुनै केही समय लाग्यो,’ उनले थपे।

त्यसपछि सुरू भए साना–मसिनाझैं लाग्ने, तर महत्वपूर्ण व्यवहारिक झमेला।

नयाँ ठाउँको यात्रा रहर गर्नेले पुरानो बाटो बिर्सेर हिँड्नुपर्छ। आफ्नो ओछ्यानको न्यानोपन भुलेर अर्कै माहोलमा सुत्नुपर्छ। जिब्रोको स्वाद फेर्नुपर्छ।

यी कुरा उनलाई थाहा नभएको होइन। तर भरिया यात्रा क्रममा उनलाई खाना र पाइखानाले सास्ती नै दियो।

उनका अनुसार अमेरिकीहरू धेरै चिनी भएको खानेकुरा खान्छन्। हिमाली भेगमा नुनिलो खाना बढी हुन्छ। त्यस्तै पदयात्रामा विदेशी र भरियाले प्रयोग गर्ने कोठा, खाना र पाइखाना अलग अलग हुन्छ।

‘१३ दिनसम्म उस्तै खाना खाएँ। यस्तो बानी थिएन। अनि मैले आफूलाई भरिया सोचेर हिँडेकाले विदेशीले प्रयोग गर्ने ट्वाइलेट प्रयोग गरिनँ,’ उनले भने, ‘तर भरियाले प्रयोग गर्ने ट्वाइलेटमा धेरै गाह्रो भयो। त्यसैले सकेसम्म कम जान्थेँ।’

नेपाली भरियाभन्दा बढी कुनै सुख-सुविधा नलिई यात्रा गर्दा उनले लगाउने र नुहाउनेमा पनि सम्झौता गरे। उनले सुनाए, ‘कयौं दिन उही लुगा लगाएँ। पसिनाले लुथ्रुक्कै भिजेका लुगा लुक्लामा एकपटक धोए पनि यात्रा अवधिभर नुहाइएन।’

२५ किलोदेखि १०० किलोसम्म भारी बोकेका उनको आफ्नै वजन यात्रा सकिँदा १५ किलो घटेको थियो। भरिया बनेर अन्तिममा उनले सय डलर ‘टिप्स’ पाएको दृश्य डकुमेन्ट्रीमा देख्न पाइन्छ।

उनले झेलेको सकसको अर्को पाटो पनि छ। एकातिर उनी भारी बोकेर यात्रा गर्दै थिए, अर्कोतिर उनलाई डकुमेन्ट्री खिच्ने चिन्ता।

यो काममा उनलाई नेपाली सिनेमाटोग्राफर बनिन दुलालले ढुक्कैसँग सघाएका थिए। तर उनले पनि समय दिनैपर्‍यो। यो डकुमेन्ट्रीलाई उनले फिल्मका रूपमा लिएका थिएनन्।

‘हामीलाई भरियाहरूको अनुभव जस्ताको तस्तै चित्रण गर्नु थियो,’ उनले भने, ‘मलाई एकै पटक दुइटा युद्ध लड्न हिँडेझैं भएको थियो।’

यसक्रममा कतै चिसो मौसमका कारण ब्याट्री चार्ज नहुने, कहिले क्यामरामा समस्या आइदिने। यस्ता समस्याले कतिपय सोचेका दृश्य डकुमेन्ट्रीमा अटाउन नसकेको उनले बताए।

यस्ता समस्यासँग जुध्नुपरे पनि यो यात्रा दुःखैदुःखले भरिएको थिएन। यात्रा क्रममा मेनिन्गर नेपाली भरियासँगै हाँस्दै, गाउँदै रमाएका दृश्य देख्न पाइन्छ।

तिम्बोचे पोर्टर हाउसको सानो कोठाको खाटमा बसी चियाको सर्को तान्दै तास खेलेको र गीत गाएको क्षण उनलाई विशेष लाग्ने रहेछ।

‘मलाई सबै भरिया साथीहरूले आफ्नै समूहको सदस्यजस्तै व्यवहार गरे। समूहमा तास खेल्दा, गीत गाउँदा मलाई उनीहरूले आफ्नो संसारमा पस्न दिएको महसुस हुन्थ्यो।’

भर्जिनिया युनिभर्सिटीबाट ग्र्याजुएट उनी अंग्रेजी, स्पेनिस, पोर्चुगिज लगायत ६ देशका भाषा बोल्छन्। तीमध्ये नेपालीमा पनि उनको राम्रै पकड छ जुन उनले इन्टरनेटको सहारामा सिकेका हुन्। नेपाली आउने भएकाले पनि मेनिन्गर भरिया साथी र स्थानीयसँग नजिकिन पाए।

भाषा आए पनि उनमा फिल्मसम्बन्धी खास ज्ञान थिएन। तर उनका बुबा एरिक मेनिन्गर हलिउड फिल्म सम्पादक हुन्। बुबाकै सहयोगमा उनले ‘द पोर्टर’ सम्पादनको काम गरे।

‘यो डकुमेन्ट्रीले धेरै प्राविधिक कुरा पनि सिकायो,’ सधैं सिक्न उत्सुक उनले भने।

यतिका यात्रा गरिसकेका मेनिन्गर अहिले पनि हरेक यात्राको सुरूमा ‘नर्भस’ हुने बताउँछन्। अनि प्रत्येक यात्रापछि भन्छन्, ‘यो सम्भव छ भन्ने मलाई कहिल्यै लागेको थिएन। तर अब भन्न सक्छु, सम्भव छ।’

‘द पोर्टर’ को अवधारणा आफ्नो भए पनि यसलाई उनी साझा अनुभवको दस्तावेज मान्छन्। कोरोना महामारी नभएको भए किम्फ भर्चुअल हुने थिएन। त्यस्तो हुन्थ्यो त उनी यो समय नेपाल आउने तयारीमा हुन्थे। कोरोनाकै कारण डकुमेन्ट्रीसँग जोडिएका सदस्य र भरिया दाजुभाइसँगै बसेर फिल्म हेर्ने उनको रहर पर धेकेलिएको छ।

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु