राष्ट्रिय खबर

खोक्दा पनि महिला श्रमिक कामबाट निकालिए, तर न्याय पाएनन्


  काठमाडाैं   सवाल नेपाल   २०७७ मंसिर ५, १६:२१

कोरोना महामारी आयो । परदेशमा रहेका नेपालीहरुको समस्याहरु पनि बाहिर आए । तर त्यसमा पनि धेरै पुरुष श्रमिकका कुराहरु बाहिर आयो । महिला श्रमिकको समस्या त्यति धेरै सुनिएन । त्यसको मतलब महिला श्रमिकहरु समस्यामै नभएको होइन । साँच्चै भन्दा त पुरुषभन्दा रोजगारीको लागि परदेश पुगेकामा महिला श्रमिकहरु समस्यामा धेरै परे ।

समस्यामा परेर स्वदेश फर्किएका महिलाका बारेमा पनि सामाजिक सञ्जालमा थुप्रै नकारात्मक टिकाटिप्पणी गरियो । यूएईबाट ९३ जना गर्भवती महिलाहरु आउँदा सामाजिक सञ्जाल तात्यो । उहाँहरु गर्भवती आउनुभएको हो, तर कतिको आफ्नो पार्टनर पनि सँगै थिए भने कोही आफ्नो श्रीमान भएको ठाउँमा बसेर फर्किएका थिए । यति हुँदाहुँदै पनि उहाँहरुलाई लिएर निकै नराम्रो टिकाटिप्पणी भए । तर महिला श्रमिकको वास्तविक समस्या के थियो, के कस्ता अप्ठेराहरु भोग्नु पर्‍यो भन्ने कुरा किन आएन त ? यो एउटा प्रश्न नै खडा भएको छ ।

खाडीका देशमा घरेलु श्रमिकका रुपमा कार्यरत महिला दिदीबहिनीहरुले रोजगारी गुमाएको अवस्था, अलिकति खोक्नु पनि नहुने तँलाई त कोरोना लागेछ भन्दै कामबाटै निकालिदिएका थुप्रै दिदीबहिनीहरु बेरोजगार भएर फर्कनुभयो । सुरुवाती दिनहरुमा कोरोनाको बारेमा आवश्यक जानकारीहरु नभएको बेलामा थुप्रै दिदीबहिनीले यस्ता समस्याहरु भोग्नु पर्‍यो । सुरुवाती दिनहरुमा त रोजगारदाता पनि एकदमै डराएको अवस्था, मानिसहरुले कोरोना लाग्यो भन्नासाथ उपचार गर्नुको साटो कतिपयले त आत्महत्यासमेत गरेको अवस्था थियो । त्योबेलामा डरैडरको बीचमा पनि अनावश्यक कारणहरुमा दिदीबहिनीहरुले रोजगारी गुमाउनु पर्‍यो ।

घरेलु श्रमिकका रुपमा काम गरिरहेका दिदीबहिनीले फोन गर्न नसके पनि उनीहरुको परिवारका सदस्यले मलाई फोन गरेका थिए । त्योबेला उनीहरुले भन्थे–मेरो ममीलाई घरबाट निकाल्यो, तलब नदिइ निकालिदियो, के गर्ने नेपाल फर्कन सक्ने अवस्था छैन भन्दै फोन गर्नुहुन्थ्यो । बिना तलब काममा राख्न मन नलाग्नासाथ निकालिदिएपछि महामारीको समयमा दिदीबहिनीहरु कहाँ गए होलान् त ? तर यस्ता समस्या र अवस्थाहरु बाहिर आएनन् ।

समस्यामा परेकालाई दूतावासको साथ भएन
समस्या अनेक थियो । तर उहाँको मुख्य समस्या एउटै थियो । उहाँहरु अवैध तरिकाले जानुभएको थियो । उहाँहरुसँग श्रम स्वीकृति थिएन । त्यस्तो अवस्थामा रहनुभएका दिदीबहिनीलाई दूतावासले पनि त्यति सहयोग गरेको पाइएन । समस्या भयो, साहुले तलब नदिइ निकाल्दा पनि अवैधानिक हिसाबले गएकै कारण दूतावासले समस्या सुन्न झर्को मान्ने गरेको गुनासो पनि दिदीबहिनीले गर्नुभयो । परदेशमा महामारी आएको छ । अनि तँ कागजात भएको, तँ कागजात नभएको श्रमिक भनेर सरकारले छुट्टाउन थालेपछि श्रमिक कहाँ जाने ? न्याय कहाँ माग्ने ?

जो भारतबाट वा अन्य माध्यम हुँदै गए उनीहरु धेरै समस्यामा परे । रोजगारदाताले कुटपीट गरेर निकाल्दासमेत जाने ठाउँ नभएको अवस्था थियो । दूतावासले नाम टिप्न हिच्किचाउने गरेको पनि पाइयो । कतिपयले त बाटोमै सुतेर फर्किएको पनि हाम्रो सेल्टरमा आउनुभएका दिदीबिहनीले सुनाउनुभयो । मानिसदेखि मानिस डराउनुपर्ने अवस्था । सरकारले पनि बेवास्ता गरेको हुँदा धेरै घरेलु श्रमिक दिदीबहिनीहरु चाहिँ हिंसामा पर्नुभयो । छ, सात महिनाको पारिश्रमिक नपाएर आएका दिदीबिहिनीले यहाँ आएपछि पनि कहाँ गएर न्याय माग्ने ? उनीहरुले लिनुपर्ने रकम हिसाब गर्ने हो भने कति हुँदो हो ?

त्यस्तै अर्को अचम्मको कुरा के भने पछिल्लो समय आएका दिदीबहिनीहरु सबैजना पीसीआर गरेर आउनुभएको हुने अनि पीसीआर गरेर आएकाले उनीहरुलाई आफ्नो गृह जिल्ला पठाईंदो रहेछ । सबै जना आउनसाथ आफ्नो गाउँघर जान सक्ने अवस्था नहुन सक्छ । यस्तो सानो सानो कुरा पनि ख्याल गरेको पाइएन । पुरुषभन्दा महिला त फरक छन् नि । शारीरिक बनोट फरक छ । उनीहरुको एकपटक जाँच गरेर मात्र पठाउनु पर्छ । यो कुरा विभिन्न फोरममा सरकारलाई भनेको पनि हो । कतिपय त गर्भ लिएर आउनुभएको छ । कतिपय मानसिक रोगी भएर आउनुभएको छ भने कतिपय बिरामी हुनुहुन्छ । अनि उनीहरुलाई सिधै सरकारले घर जाउ भन्न मिल्छ ? अवस्था, परिस्थिति र बाध्यता पनि त बुझ्नु पर्‍यो । जसरी विदेशबाट आउन साथ पुरुषहरु सिधै आफ्नो घर जान सक्छन्, त्यसरी नै महिलाहरु जान सक्ने अवस्था नहुन पनि सक्छ ।

समस्यामा पर्नेलाई आमकासको साथ
कोरोना महामारीको डर र भयको अवस्था थियो । तर केही महिनाको बन्दपछि उद्धार उडानमार्फत सरकारले नेपालीहरु ल्याउन थाल्यो । त्यसपछि हामीले पनि जुन १० देखि नै यो महामारीमा समस्यामा परेर फर्किएका श्रमिकका लागि काम गर्न थाल्यौं । तर हामीलाई काम गर्न पनि सजिलो कहाँ भयो र । हामी पहिलेदेखि काम गरिआएको भए पनि सीसीएमसीसँग अनुमति लिनुपर्ने भनियो । त्यसलाई पनि झन्झट नमानी हामीले अनुमति लिएरै काम गर्‍यौं । सरकारले समस्यामा परेकालाई ल्याउन थालेपछि घरेलु कामबाट निकालिएका, अवैधानिक बाटो हुँदै गएका र विभिन्न समस्यामा परेका दिदीबहिनीहरु आउन थाल्नुभयो । हामीले उहाँहरुका लागि काम गर्न थाल्यौं ।

उहाँहरु त यस्तो आउनुभयो कि छ, सात महिना तलब नदिएको, कोरोनाको बाहानामा निकालिदिएको, गर्भ अवस्थामा, जेलमा नै बच्चा जन्माएर आएका दिदीबहिनीहरु हुनुहुन्थ्यो । यो अवस्थामा हामीले उहाँहरुलाई काठमाण्डौमा आवासको व्यवस्था गर्‍यौं । जुन हामी आफैंले चलाइरहेका छौं ।

अनि अर्को समस्या उहाँहरुलाई परदेशमा के भयो भने पहिले त घरमा काम गर्नेलाई १६ घण्टा १७ घण्टा काम गर्नुपर्ने त्यसमाथि लकडाउनको कारणले त २४ सैं घण्टा काममा पर्नुभयो तर तलब भने आएन । अनि खोक्न थाल्यो भने ६, ७ महिनासम्म पनि तलब नदिएर निकालिदिएको हो ।

त्योबेलामा अर्को राम्रो के भयो भने आइओएमले हामीलाई त्यसरी समस्यामा परेर फर्कनेलाई सहयोग गर्ने फण्ड रहेछ, त्यो हामीले पायौं र त्यसमार्फत यसरी फर्कनेलाई हामीले केही रकम सहयोग गर्न पायौं । ९९ प्रतिशत नै समस्यामा भएर आउनुभएको थियो । उहाँहरुलाई हामीले १३ हजार ५ सय आइओएमको सहयोगमा दिऔं । त्यसले पनि सहयोग भयो ।

कतिपय त बलात्कारको सिकार भएर बच्चा लिएर, गर्भवती भएर आउनुभएका दिदीबिहिनीहरु । उहाँलाई न त परिवारले अपनाउँछ, न अरुले त्यो महामारीको समयमा जाने कहाँ ? हो यस्तो समस्या भएकालाई हामीले आवासको व्यवस्था गरेर उहाँहरुलाई परामर्श गर्नेदेखि अस्पताल पुर्‍याउने, उपचार गराउनेसम्मको काम गर्यौं ।

यो समयमा कुनै पनि संघसंस्थाले अहिले औषधी पानी गर्न सहयोग गरेका छैन । तर पनि हामीले गरेका छौं । सेल्टरमा आइसकेपछि उपचार त गर्नै प¥यो । हामीले लोकल फण्ड रेज गरेर आफ्नै गोजीको रकम निकालेर भने पनि अस्पतालसम्म पुर्‍यायौं ।

घरबेटी र अस्पतालबाट अपमान
त्योबेलामा फर्कने दिदीबिहनीलाई आवास दिँदा हामीले जहाँ हाम्रो सेल्टर छ त्यहाँको घरबेटीले निस्कनका लागि दबाब दिनेदेखि अस्पताल लैजाँदा विदेशबाट आएको भन्नासाथ डाक्टरहरुले नै नहेर्नेसम्मको अपमान हामीले सहन पर्‍यो । गर्भवती दिदीबहिनीलाई मात्र होइन, अरु सामान्य रुपमा फर्किएकालाई पनि जाँच गर्न लाग्दा डाक्टरहरुले जाँच नै गर्न नमान्नेसम्मको अवस्था भयो । विदेशबाट आएको भन्दैमा जाँच नगर्ने । चार जना गर्भवती भएर आएका दिदीबहिनीलाई नियमित जाँचको लागि भनेर शिक्षण अस्पताल लगेको उनीहरुले त हेर्ने नमानेको । ओहो हामीले कसलाई मात्र गुहार माग्नु परेन । श्रम मन्त्रालयलाई, स्वास्थ्य मन्त्रालयलाई, विभागलाई, सीसीएमसीलाई फोन गरेपछि मात्र सबैतिरको प्रेसर भएपछि चार घण्टा कुरेपछि मात्रै हाम्रो दिदीबहिनीले त्यहाँ जाँच गर्न पाउनुभयो ।

हामीले विपदको समयमा फर्कनुभएका दिदीबहिनीलाई सहयोग गर्न खोज्दा पनि निकै अप्ठेरा र समस्याहरु भोग्नु पर्‍यो । हाम्रो संस्थाको कर्मचारीले जोखिम मोलेरै भए पनि काम गर्नुभयो ।

हाम्रो सेल्टर रेसिडेन्सियल एरियामा छ । अनि हाम्रो घरबेटीले विदेशबाट आएकाहरु राख्न थालेपछि त निस्कन भने । हामीले अनुरोध गर्दा पनि निस्किएर जाऔं भन्न थाले । तर पछि उनीहरु आफैंले प्रहरी बोलाएछन् । प्रहरी लगाएर हामीलाई निकाल्ने उनीहरुको योजना रहेछ । तर प्रहरीले सबै बुझ्नुभयो । सीसीएमसीसँग हामीले लिएको अनुमति लगायतका कागजात हेरेपछि भने प्रहरीले घरबेटीलाई गाली गरेर जानुभयो । बरु उहाँहरुलाई सहयोग गर्नुहोस् भन्नुभयो प्रहरीले । अनि भोलिपल्ट त फेरि आर्मी बोलाएछन् । तर सजिलो के भयो भने त्यो समयमा सबै काम आर्मीले नै गरेका भएर आर्मीले पनि एकदम राम्रो काम गर्नुभएछ भनेर हामीलाई स्याबासी दिनुभयो । घरबेटीलाई यस्तो नर्गनुहोस्, सकेको सहयोग गर्नुहोस् भनेर गएपछि घरबेटीको पनि केही चलेन ।

धेरै दिदीबहिनीहरु आउन थाल्नुभयो । सबैलाई सेल्टरमा मात्र राखेर सम्भव पनि भएन । त्यसपछि हामीले बन्द रहेका होटलमा व्यवस्था गरेर पनि समस्यामा परेर फर्कनुभएकालाई सेवा दियौं ।

यो समयमा फर्कनुभएका दिदीबहिनीलाई अस्पताल, मनोसामाजिक परामर्शदेखि अन्य विभिन्न आवश्यक सेवाहरु हामीले दियौं भने तालिमको व्यवस्था समेत गरिदियौं ।

विदेशबाट फर्किएका महिलाहरु दुःखी छन्
अघिपछि त समस्यामा पर्नेलाई साथ र सहयोग सरकारको मिलेन नै यो महामारीमा पनि भएको विभेदले दिदीबहिनीहरु दुःखी हुनुहुन्छ । त्यत्रो महिनाको तलब छाडेर आउन परेको छ । हिंसा भोग्न परेको छ, कतिपय त दुर्व्यवहारमा पर्नुभएको छ । यहाँ आएपछि अवस्था त्यस्तै छ । घरेलु काममा मात्र हैन कम्पनीमै काम गर्ने दिदीबहिनी पनि अत्यन्तै समस्यामा परेर फर्कनुभएको छ । उहाँहरुलाई न न्याय कहाँ माग्ने थाहा छ, न त सरकारले गर्ने सहयोगको बारेमा । सरकारले यस्तो बेलामा त पर्याप्त सूचना दिनुपर्ने हो । रोजगारीका लागि विदेश गएर फर्कनेका लागि के छ भनेर सरकारले जानकारी त दिनुपर्‍यो नि । छ भन्ने अनि नागरिकलाई जानकारी चाहिँ नदिएपछि त्यसको के अर्थ भयो र ?

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु