अत्यधिक धूम्रपान गर्ने मानिसहरूको संख्या धेरै रहेको मुलुकमा उत्तर कोरिया पनि पर्छ ।

किम जोङ उन समेत सार्वजनिक स्थानमा सिगरेट हातमा लिएर हिँडिरहेका देखिन्छन् ।

देशमा धूम्रपानविरुद्ध अनेकौं अभियान चलाइएका छन् ।

विश्व स्वास्थ्य संगठनको आँकडा अनुसार, उत्तर कोरियामा लगभग आधा पुरुष जनसंख्याले धूम्रपान गर्ने गरेको छ । महिलाले धूम्रपान गर्ने चलन चाहिँ खासै छैन ।

यसै महिना पारित गरिएको एक कानूनले सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्धित गरेको छ । तर सरकारी सञ्चारमाध्यममा किम आफैंले हातमा चुरोट लिएको देखिँदा गलत उदाहरण प्रस्तुत भइरहेको छ ।

नयाँ कानूनले चुरोट उत्पादन र बिक्रीको नियम पहिलेको भन्दा कडा बनाएको छ ।

राजनीतिक तथा वैचारिक शिक्षास्थल, नाटकघर, सिनेमाघर, शिक्षण संस्थान, सार्वजनिक स्वास्थ्य संस्थान र सार्वजनिक यातायातमा धूम्रपान वर्जित छ ।

नियम उल्लंघन गर्नेलाई जरिवाना तिराउने कुरा छ तर यसको विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

सरकारी समाचार संस्था केसीएनएको एक समाचारमा उल्लेख गरिएअनुसार, चुरोट पिउने मानिसलाई कोरोना संक्रमणको खतरा अत्यधिक छ । रिपोर्टमा अन्तर्राष्ट्रिय विशेषज्ञहरूको हवाला दिइएको छ ।

सन् २००५ मा विश्व स्वास्थ्य संगठनको धूम्रपान नियन्त्रण सम्झौतामा उत्तर कोरियाले हस्ताक्षर गरेको थियो । त्यसपछि त्यहाँ धूम्रपानविरुद्ध अभियानहरू चलाइने गरेका छन् ।

यो वर्ष धूम्रपानविरुद्ध एक वेबसाइट पनि आरम्भ गरिएको छ ।

तर किम आफैं चाहिँ धूवाँ उडाइरहेका देखिन्छन् । उनको हातमा प्रायः सिगरेट छुट्दैन । क्षेप्यास्त्र परीक्षणको निरीक्षण गर्दा वा अन्य कार्यक्रममा जाँदा समेत उनको हातमा चुरोट देखिन्छ ।

सन् २०१९ मा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग दोस्रो शिखरवार्ताका लागि भियतनाम जाँदा उनले ब्रेकको समयमा चुरोट पिएको देखिएको थियो । उनी बहिनी किम यो जोङले उनका लागि एस्ट्रे बोकेको देखिएको थियो ।

केही सञ्चारमाध्यममा आएको खबरअनुसार, किमकी पत्नी री सोल जूले उनलाई धूम्रपान छोड्न आग्रह गरेकी छन् तर उनी टेर्दैनन् ।

तर किमले चुरोट पिउन छोडे भने जनतामा शक्तिशाली सन्देश जाने थियो । तर किमले चुरोट पिउन छोड्छन् कि छोड्दैनन् भन्ने बारेमा स्पष्ट भन्न सकिने स्थिति छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय