सत्तारुढ नेकपामा दुई अध्यक्षको छुट्टाछुट्टै प्रस्ताव पेस भएपछि अब एकीकृत प्रस्ताव आउँछ कि बहुमत-अल्पमतबाट टुंगो लाग्छ भन्ने प्रश्न उठेको छ ।

कात्तिक २८ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको प्रस्तावमा असन्तुष्टि जनाउँदै अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको बैठकमा छुट्टै प्रस्ताव पेस गरेपछि नेकपाको विवाद नयाँ चरणमा प्रवेश गरेको छ । दुवै अध्यक्षको प्रस्तावमा एक अर्कालाई गम्भीर आरोप लगाइएपछि पार्टी एकता कसरी कायम हुन्छ भन्ने कुरामा नेता कार्यकर्ता अलमलमा छन् ।

शनिबारको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव पेस गरेपछि अर्को बैठक मंगलबारको लागि बोलाइएको छ । यसबीचमा नेताहरुले प्रस्ताव अध्ययन गर्ने र मंगलबारको बैठकमा छलफल गर्ने कार्यसूची छ । मंसिर १८ गते स्थायी कमिटी र मंसिर २५ गते केन्द्रीय कमिटी बैठक बस्दैछ । दुवै अध्यक्षको प्रस्ताव सचिवालय बैठक हुँदै स्थायी कमिटी र केन्द्रीय कमिटीमा छलफल हुने एकथरी नेताहरु बताउँछन् ।

अर्काथरी नेताहरुले भने दुवै अध्यक्षको प्रस्तावलाई मिलाएर संयुक्त प्रस्ताव आउनुपर्ने र यसको गृहकार्य पनि भैरहेको बताएका छन् । तर एक अर्कालाई गम्भीर आरोप लगाएका दुवै अध्यक्ष तत्काल पछाडि हट्ने अवस्थामा देखिँदैनन् । संयुक्त प्रस्ताव आएन भने दुवै प्रस्ताव स्थायी र केन्द्रीय कमिटीसम्म पुर्याएर बहुमत-अल्पमत प्रक्रियाबाट टुंगो लाग्नेछ । यसो हुँदा पार्टी विभाजनतर्फ जान सक्ने नेता कार्यकर्ताको चिन्ता छ ।

ओलीको प्रस्तावमा मुख्य बुँदा

प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको व्यापक चिरफार गर्दै ओलीले शनिबार आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । प्रचण्डले ल्याएको प्रतिवेदनलाई अराजनीतिक प्रतिवेदनको संज्ञा दिँदै उहाँले त्यसले पार्टी विभाजनको अनौपचारिक घोषणा गराएको दोषारोपण गर्नुभएको छ ।

ओलीले ३८ पेज लामो जवाफी प्रस्ताव पेस गर्दै प्रचण्डको प्रतिवेदनलाई खारेज गर्न सचिवालयसँग आग्रह पनि गर्नुभएको छ । ओलीले प्रचण्डको प्रतिवेदन व्यक्तिगत असन्तुष्टि, सीमाहिन कुण्ठा र निहित स्वार्थ लुकेको कृत्रिम आरोपको संगालो रहेको उल्लेख गर्नुभएको छ ।

प्रचण्डको प्रस्तावको प्रस्तुति, तरिका, भाषाशैली र अन्तर्वस्तुले पार्टीमा गम्भीर संकट निम्त्याएको ओलीको निष्कर्ष रहेको छ ।

ओलीको प्रस्तावमा रहेका मुख्य बुँदा :

यस ‘प्रस्ताव’ मा प्रस्तुत भाषा शैली र आरोप हेरिसकेपछि सामान्य व्यक्तिले पनि अनुमान गर्नेछन्- बितेको समयमा मैले आफ्नै सहयोद्धा अध्यक्षबाट कस्तो खालको सहयोग र साथ पाएको रहेछु । जुन व्यक्तिको मनमा यति धेरै आक्रोश, आग्रह, घृणा र कुण्ठा अटेसमटेस भएर बसेको छ, त्यस्ता व्यक्तिबाट मलाई सरकार र पार्टी सञ्चालनका क्षेत्रमा कस्तो सहयोग भयो होला ? कमरेड ‘प्रचण्ड’, सुरुमै तपाईँलाई मेरो प्रश्न छ- पार्टीभित्र चलिरहेको यस वहसको चरित्र के हो ? यो स्वस्थ नीतिगत वहस हो कि ‘वार कि पार’ को लडाइँ ? यो अन्तरविरोध नै हो भने पनि, यो मित्रतापूर्ण हो कि शत्रुतापूर्ण ?
तपाईँले रोजेको बाटो वाद-प्रतिवाद-संवादको हो कि वाद-प्रतिवाद र विग्रहको ? एकता-छलफल र अझ उन्नतस्तरको एकतामा हिँड्न खोजिएको हो कि एकता-विग्रह र विघटनको बाटोमा? पार्टीभित्र हाम्रो सम्बन्ध पार्टीका दुई प्रमुख नेताको सम्बन्ध हो कि दुई भिन्न वर्ग र भिन्न पार्टीका प्रतिद्वन्द्वी नेताहरुको ? तपाईँलाई मेरो चुनौती छ- कि आरोप पुष्टि गर्नुस् र राज्यको कानुन तथा पार्टी विधान अनुसार मलाई कारबाही गर्नुस्, कि त आफ्नै सहयोद्धामाथि निराधार आरोप लगाएर पार्टी एकता भङ्ग गर्ने धृष्टताको जवाफदेही बन्न तयार हुनुहोस्।
एकलव्य जस्तै खालि सरकारमा मात्रै तपाईँको ध्यानदृष्टि र प्रधानमन्त्री र सरकारको स्थायित्व विरुद्ध निरन्तर रागका कारण राजनीतिक स्थिरता विरुद्ध कस्तो सन्देश गइरहेको छ, ख्याल गर्नुभएको छ नि ?
कुनै पक्षमा पनि श्रेष्ठताभाष या लघुताभाषको स्थिति नआओस् र सङ्गठनात्मक ढङ्गले पनि कतै व्यवधान नआओस् भनेर गरिएका हुन् । तदनुरुप नै कमिटीहरु बने, आन्दोलनलाई जोड्ने भावनाका आधारमा । जनाधार र लोकप्रियताका आधारमा होइन, एकताको स्पिरिटको मार्गदर्शनमा । जमानत नजोगिएको ठाउँमा समेत झण्डै बराबरीको हैसियतमा कमिटीहरु गठन गरिएका छन् । कहाँनिर एकताको भावना प्रतिविम्बित भएन ?
मैले त पार्टीका हुन् कि राज्यका, हरेक जिम्मेवारी प्रतिष्पर्धामा विजय हासिल गरेरै प्राप्त गरेको हुँ । महाधिवेशनबाट विचार, सङ्गठन संरचना र नेतृत्व खुल्ला प्रतिष्पर्धाका आधारमा चयन गर्न तपाईँ तयार हो ? म त तयारै छु । के कमरेडले आफ्नो भागमा परेको कामको लेखा जोखा कहिल्यै गर्नु भएको छ ?
म आवेग र उत्तेजना बिना विनम्रताकासाथ प्रश्न गर्छु- कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनु भएको अध्यक्ष कमरेडले आफ्नाे भागमा परेको काममा प्रगति कति गर्नु भयो ? पछिल्लो चोटी १५ दिन भित्र सम्पन्न गर्ने भनिएको एकीकरणको काम अहिले कहाँ पुग्यो?
सचिवालय बैठकमा १० दिनभित्रका यससम्बन्धी लिखित प्रस्ताव ल्याउँछु भन्नु भएको प्रस्ताव तयार भयो ? त्यसको रोडम्याप के कस्तो बन्यो ? मेरा कारणले हुन नसकेको भए, तपाईंले गर्नु भएको ‘गृहकार्य’मा के-के मा र कहाँ मेरो अवरोध रह्यो ? महाधिवेशनको तयारीको लागि बस्ने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्न के-के गृह कार्य गर्नुभयो? र, त्यसमा मसँग तपाईंले के सहयोग माग्नु भयो? या मैले कहीँ बाधा अवरोध पो पुर्याएँ कि? मलाई थाहा छ, हामी जहाँको तहीँ छौं। पार्टी सञ्चालनको जिम्मा पाए पनि तपाईं हात बाँधेरै बसिरहनु भएको छ ।
तपाईंले रातदिन पूर्व एमालेका नेताहरुसँग बैठक बस्नुहुन्छ र समीकरण बनाउनु हुन्छ, तर त्यो ‘पार्टी एकता’ र ‘सहमति’ का लागि हुने १ तर मैले ‘पार्टीलाई सङ्कटबाट जोगाउन भूमिका खेल्नु हुने कमरेडको योगदानको कदर गरौँ, एकताका निम्ति भूमिका खेलेबापत् कसैलाई पनि दण्डित नगरौँ’ भन्दा ‘षडयन्त्र’ हुने !
म आज खुल्ला आह्वान गर्न चाहन्छु- त्यागको यो सिलसिला आजै सुरु गरौँ १ बारम्बार सरकार र पार्टीको नेतृत्व गरेका कमरेडहरुले अब जिम्मेवारी नलिऔँ र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने घोषणा गरौँ १ म यही दस्ताबेजलाई मेरो अध्यक्षको जिम्मेवारी हस्तान्तरणको औपचारिक लिखत बनाउन तयार छु १ के तपाईं तयार हो ?छाडेका हौँ भने हामीसँग लाखौँ कार्यकर्ताहरुको नेतृत्व गर्ने नैतिकता कहाँ बाँकी रहन्छ ?
यति धेरै आरोप र अभियोग लगाइसके पछि तपाईंले आफ्नो कथित प्रस्तावको अन्त्यमा मबाट फेरि ‘गंभीर आत्मसमिक्षा’ र ‘आत्मालोचना’ को माग गर्नुभएको छ । यदि यी आरोप सत्य हुन् भने, यति ‘गम्भीर अपराध’ गरेपछि पनि, ‘आत्मालोचना’ गरेर उम्किन पाइन्छ ? फेरि पनि मेरो तपाईंलाई चुनौती छ- कि यी आरोपहरु पुष्टि गर्नुस्, होइन भने परिणामको जवाफदेही लिन तयार हुनुस् ।
तपाईंले भनेको ‘पाँच हजार मान्छेको हत्याको जिम्मा म लिन्छु’ को अर्थ के हो ? तपाईंका यस्ता अभिव्यक्तिले समस्यामा झन गाँठो पर्न सक्छ भन्ने ख्याल गर्नुहोस् । खेलबाड गर्ने गल्ती नगर्नुस् । मलाई नातावादको निराधार आरोप लगाउनु पूर्व तपाईंले एकचोटी आफैलाई नियालेर हेर्नु भएको भए हुन्थ्यो ।
तपाईंले गर्नुभएको सिफारिसमा आन्दोलनमा योगदान र त्याग गरेका मान्छे परेका छन् कि अन्य ? न्यूनतम मानवीय सम्बन्ध र मर्यादालाई ध्यानमा राखेर तपाईंले मसँग उम्मेदवारी, मन्त्रिपरिषद् या राजनीतिक नियुक्तिमा भन्नुभएका सबै विषय अहिले सार्वजनिक गर्दिनँ । आज मात्र होइन, भोलि पनि मबाट यस्तो काम हुने छैन । तर तपाईंले एकछिन एकान्तमा बसेर, आफैँतिर नियालेर हेर्नुस् त, हिँजो कष्टपूर्ण यात्रामा साथ दिएका साथीहरुमाथि साँच्चै न्याय भइरहेको छ ? सरकार र पार्टी नेतृत्व दुबैबाट मलाई हटाउने म्याराथुनमा कुँदिरहँदा कहिल्यै तपाईंको दिमागमा युद्धमा घाइते भएका, अझै पनि शरीरमा गोली र छर्रा बोकेर हिँडिरहेका साथीहरुको दुखान्त तस्बिर आउँछ ? कहिल्यै यी साथीहरुलाई राहत र पुनस्र्थापनाको विषय एजेण्डा बनाउनु भएको छ ?

तपाईंले मलाई ‘व्यक्तिवादी’, ‘गुटवादी’ र ‘एकाधिकारवादी’ आरोप लगाइरहँदा एकपल्ट आफूले नेतृत्व गरेको अवधिको आत्मसमिक्षा गर्नु भए हुन्थ्यो । जुन व्यक्तिको ३० वर्षे नेतृत्वकालमा सहयोद्धा साथीहरु अत्यन्त पीडाका साथ पार्टी छाड्न विवश भएका छन्, जसमध्ये कतिको दुखद मृत्यु समेत भएको छ, जसको नेतृत्वकालमा पार्टी पटक-पटक विभाजित भएर चिराचिरा भएको छ, जहाँ तजबिजका भरमा कुनै बेला कमिटी दुई अङ्कमा झर्छ अनि तुरुन्तै ४ हजार सदस्यीय बन्छ, कमरेडले मलाई यस्तो आरोप लगाउन अलिकति अप्ठ्यारो मान्नु पर्ने हो । म त जम्माजम्मी एउटा महाधिवेशनबाट, त्यो पनि प्रतिष्पर्धामार्फत् अध्यक्ष पदमा निर्वाचित भएर काम गरिरहेको छु । आरोप लगाउँदै जाँदा तपाईंले ममाथि ‘सङ्कटकाल लगाउन खोजेको’, ‘संसद भङ्ग गर्न खोजेको’, ‘द्वन्द्वकालीन मुद्दाहरु ब्यूँताउन खोजेको’, ‘अख्तियार लगाउन खोजेको’, नेताहरु ‘लडाउन खोजेको’ आदि फरेब तेर्स्याउनु भएछ । लोकतन्त्र मेरो निष्ठा हो, बाध्यता होइन । विधिको शासन मेरो छनोट हो, ओठेभक्ति होइन। सिधा र खुल्ला वहस, अनि आवश्यक परे सिधा लडाइँ लड्ने मेरो विशेषता हो । छलकपट र दाउपेच मेरो स्वभाव होइन । म पार्टीभित्रका समस्याको समाधानका लागि यस्ता हतियारको सहारा लिनु पर्ने कमजोर धरातलमा उभिएको छैन । मैले लडाएर लड्ने त्यति कमजोर हुनुहुन्छ र हाम्रो पार्टीका नेताहरु ? आफ्नै छायाँसँग पनि तर्सिनु पर्ने अवस्थाबाट मुक्त हुनुहोस्​ ।
विप्लवले अगाडि बढाइरहेको हिंसा निन्दनीय हो कि रातो झण्डाको आवरणमा भएकाले त्यसप्रति नरम हुन मिल्छ ? मिल्दैन भने, किन स्पष्ट भाषामा खण्डन र भत्र्सना गर्नुहुन्न ? व्यक्तिगत रुपमा विप्लवप्रति मेरो या सरकारको कुनै पूर्वाग्रह छैन । हिंसा छाडेर शान्तिपूर्ण बाटोमा आए उनलाई स्वागत गरिने छ । तर अब पनि समाजमा हिंसा, जुनसुकै आवरणमा किन नहोस्, किमार्थ स्वीकार्य छैन । त्यसलाई सफल हुन दिइने छैन । सरकारको यस्तो स्पष्ट नीतिप्रति तपाईँको द्विविधा किन ?
सरकार हाम्रो हो, तर सत्ता हासिल भएको छैन, तसर्थ ‘राज्यका सम्पूर्ण संरचनालाई गणतान्त्रिक संरचनामा बदल्ने’ भन्दै राज्यका अङ्गहरुमा शङ्काको चिसो पसाउँछौँ कि कानुनसम्मत राज्यको नेतृत्व गर्छौँ ?
सारमा, पार्टीलाई अब विकास र समृद्धिको संवाहक र अगुवा बनाउँछौँ कि गुटहरुको संयुक्त मोर्चा ? आज हामी एउटै पार्टीका रुपमा छौँ, तर खालि नकारात्मक कुरा मात्रै गर्छौँ । परिणाम ? आज कानुनी हिसाबले पार्टी एक भए पनि भावनात्मक रुपमा विभाजित भएका छौँ। यसलाई अन्त्य गर्ने बेला भएन ? भनिन्छ, इतिहास दुई चोटी दोहोरिन्छ- पहिलो चोटी दु:खान्तका रुपमा, अर्को पल्ट प्रहसनका रुपमा । दु:खान्तका रुपमा त इतिहास दोहोरिनै सकेको छ, के तपाइँ अर्को प्रहसनको पर्खाइमा हो ?
मेरो आग्रह छ, कुनै पनि महाधिवेशन/अधिवेशनहरुबाट निर्वाचित नभएका, महाधिवेशनसम्मको सङ्क्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका र सहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरुलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔँ ।
हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरु हुन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी-केन्द्र) का दुई अध्यक्षले सहमतिका साथ अघि बढ्ने प्रतिवद्धता र एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरुलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ । तीन महिनाभित्र सक्ने भनिएको सङ्गठनात्मक एकीकरणको काम सम्पन्न गर्ने काममा केन्द्रीत बनौँ । विचार, विधि, सङ्गठन र नेतृत्वको प्रश्नको समाधान यथाशीघ्र एकता महाधिवेशन आयोजना गरेर त्यसैबाट खोजौँ ।

उज्यालो बाट साभार 

प्रतिक्रिया

सम्बन्धित खवर