मुख्य खबर

नुवाकोटमाथिको आकाशमा उडिरहेको हेलिकप्टरमा चील ठोक्कियो


  काठमाडाैं   रासस   २०७७ मंसिर १४, २०:३९

बागलुङ : जिल्लाको गलकोट नगरपालिकाबाट आइतबार दिउँसो काठमाडौँका लागि उडेको कैलाश एयरको हेलिकप्टर त्रिभुवन विमानस्थलमा अवतरण हुन केही मिनेटमात्र बाँकी थियो ।

नुवाकोटमाथिको आकाशमा पुग्दा वेगले उडेर आएको चील हेलिकप्टरको अगाडिपट्टि ठोक्कियो । सिसा फुट्यो । हेलिकप्टरमा सवार यात्रु अत्तालिए ।

अनुभवी चालक दीपक पुनले सावधानीपूर्वक नुवाकोटको बेलकोटगढी नगरपालिका–६ मा हेलिकप्टरलाई आकस्मिक अवतरण गराउनुभयो । हेलिकप्टरलाई ठूलो दुर्घटना हुनबाट उनले जोगाए ।

‘सुरुमा चील देखिनासाथ चालकले छलिरहनुभएको थियो, तर पछि फेरि आएर जोडसित ठोक्कियो’, हेलिकप्टरमा सवार गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले भने ।

हेलिकप्टरभित्रै छिरेको चील रगताम्य अवस्थामा अर्को झ्यालबाट निस्केको उनको भनाइ छ ।

चालक पुनको कुशलता र साहसका कारण ठूलो दुर्घटना टरेको भण्डारीले बताए।

‘भाग्यवश बाँचियो, आकाशमा त्यो क्षण कस्तो थियो अहिले भन्न कठिन भइरहेको छ’, उनले भने ।

हेलिकप्टरमा भण्डारीसहित गलकोटकै सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल र गीता मल्ल सवार थिए । उनीहरु व्यक्तिगत कामका सिलसिलामा हेलिकप्टर चार्टर गरेर काठमाडौँ जाँदै थिए ।

दिउँसो १२ बजेर ५० मिनेट जाँदा गलकोटबाट उडेको हेलिकप्टरलाई चालकले १ बजेर ४५ मिनेटमा नुवाकोटमा आकस्मिक अवतरण गराएका हुन् ।

चील ठोक्किँदा हेलिकप्टरको अगाडिको भागमा क्षति पुगेको जनाइएको छ । अघिल्लो सिटमा बस्नुभएका भण्डारीको हात र खुट्टामा सामान्य चोट लागे पनि चालक र अरू यात्रु सकुशल रहेको जनाइएको छ ।

उक्त हेलिकप्टरमा सवार यात्रुलाई पछि कैलाश एयरकै अर्को हेलिकप्टरले उद्धार गरी काठमाडौँ पुर्या‍एको थियो । रासस

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु