दमक । झापाको दमक– ३ गोलाटारमा निर्माण गरिने आधारभूत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । स्वास्थ्य चौकी भवनको आज यहाँ दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले संयुक्तरुपमा शिलान्यास गरे। स्वास्थ्य चौकी भवन निर्माणका लागि दमक– ३ निवासी तुलसी धिमालले तीन कट्ठा जग्गा निःशुल्क प्रदान गरेको वडाध्यक्ष नवीन बरालले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख ओलीले संविधानमा नै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने दायित्व स्थानीय सरकारको भएका कारण पनि दमकमा धमाधम स्वास्थ्य चौकी भवन निर्माणका क्रममा रहेको बताए । नगरवासीको आधारभूत स्वास्थ्य सेवा आफ्नै ठाउँमा नै उपलब्ध गराउन स्थानीय सरकारले जोड दिँदै आएको उनको भनाइ थियो ।

सो क्षेत्रमा स्वास्थ्य चौकीको सेवा सञ्चालन गर्नसके त्यस क्षेत्रका बासिन्दाले दिनभर समय खर्चिएर उर्लाबारी वा दमक चोकसम्म धाउनुपर्ने बाध्यता हट्ने नगरपालिकाका कार्यपालिका सदस्यसमेत रहेका स्थानीय खड्गबहादुर धिमालले बताए ।

उपप्रमुख गीता अधिकारीका अनुसार नगरका अन्य वडामा समेत कूल छ वटा आधारभुत स्वास्थ्य चौकी निर्माणको प्रक्रियामा रहेको र यसअघि दमक ५ र ७ वडामा त्यस्तै प्रकृतिका स्वास्थ्य चौकी भवन निर्माण शुरु गरिएको छ । वडासहित नगरका विभिन्न छ स्थानमा निर्माण शुरु गरिएको भवनको कूल लागत चार करोड ७५ लाख आठ हजार १२७ रहेको छ । भवन निर्माणको लागि स्थानीय माङसुवा प्रवीन जेभीले गत जेठमा नै सम्झौता गरेको नगरपालिकाले जनाएको छ । सम्झौताअनुसार नगरका छ स्थानमा चार कोठाको एकतले भवन २०७८ कात्तिक ५ गतेभित्र सम्पन्न हुने जनाइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय