दक्षिणी चीनस्थित सेन्चेन अन्तर्राष्ट्रिय विमानस्थलको ग्रे वेयर हाउसभित्रको कुनामा सेता कक्षहरु छन् । हरेक कक्षमा तापक्रम देखाउने डिस्प्ले स्क्रिन जडित छ । फेस मास्क, सर्जिकल गाउन र रबरका पञ्जा लगाएका सुरक्षाकर्मी निगरानीका लागि तैनाथ छन् । वेरहाउसको यो क्षेत्रमा छिर्नका लागि या त दुई साता लामो क्वारेन्टाइन पूरा गर्नुपर्छ वा टाउकोदेखि खुट्टासम्म हजमत सुट लगाउनुपर्छ ।

जब चीनमा बनेका कोभिड–१९ भ्याक्सिनले देशका नियामक संस्थाबाट स्वीकृती पाउनेछन्, तब ३ सय ५० मिटरमा फैलिएका तापक्रम नियन्त्रित यी कक्षहरु ती भ्याक्सिनले भरिनेछन् । यहाँबाट ती भ्याक्सिनहरुलाई कार्गो जेटका तापक्रम नियन्त्रित कक्षमा राखेर विश्वभर लगिनेछ । चिनियाँ भ्याक्सिनको अन्तिम चरणको परीक्षण गरेका देशमा आगामी महिना चीनले करोडौँ डोज भ्याक्सिन पठाउनेछ । चिनियाँ नेताहरुले आफ्नो सूचीमा बढ्दो संख्यामा रहेका विकासशील देशहरुमा भ्याक्सिन पठाउने प्रतिबद्धता गरेका छन् ।

यो विश्वव्यापी अभियानले चीनलाई आफ्नो छवि सुधार्ने अवसर दिनेछ । कोरोना भाइरसको महामारीलाई सुरुमै राम्ररी नियन्त्रण गर्न नसकेको भन्दै उसको छवि खराब भएको थियो । तर, अब भाइरसको सुरुवाती फैलावटका लागि दोषी ठहराउने भन्दापनि महामारीको सम्भावित अन्त्यका लागि सहयोग गरेकोमा उसले सम्मान प्राप्त गर्नसक्छ ।

‘बेइजिङले भ्याक्सिनलाई सफ्टपावर बढाउने र अन्तर्राष्ट्रिय प्रभूत्व स्थापित गर्ने साधनका रुपमा पनि प्रयोग गर्नसक्छ,’ वासिङटनस्थित काउन्सिल अन फरेन रिलेसन्सन्सअन्तर्गत ग्लोबल हेल्थकी सिनियर फेलो यान्जोङ हुवाङ भन्छिन् । महामारीको सुरुवातमा उसले अति प्रभावित देशलाई मास्क र अन्य सामाग्रीहरु सहयोग गरेको थियो ।

हुवाङका अनुसार बेइजिङको भ्याक्सिन डिप्लोमेसीले उसलाई अर्को मौका दिनसक्छ । चारवटा चिनियाँ कम्पनीका कुल पाँचवटा कोरोना भाइरस भ्याक्सिन तेस्रो चरणको क्लिनिकल ट्रायलमा छन् । भ्याक्सिनले स्वीकृति पाउनुअघिको सबैभन्दा महत्त्वपूर्ण र अन्तिम परीक्षण हो, तेस्रो चरण ।

आफ्नो सीमाक्षेत्रभित्र ठूलो रुपमा कोरोना भाइरस नियन्त्रण भइसकेकाले चिनियाँ औषधि निर्माताहरुले भ्याक्सिनको प्रभावकारिता जाँच्नका लागि विदेशमा परीक्षण कार्यक्रम गर्नुप¥यो, उनीहरुले कम्तिमा १६ देशमा तेस्रो चरणको परीक्षण गरिरहेका छन् । बदलामा, धेरैजसो देशलाई सफल भ्याक्सिन सुरुमै दिने वाचा चिनियाँहरुले गरेका थिए, कतिपय देशलाई स्थानीय स्तरमै भ्याक्सिन उत्पादन गर्न सकिने गरी प्रविधि हस्तान्रतण गर्ने उनीहरुको वाचा छ । बेइजिङस्थित औषधी कम्पनी सिनेभ्याक बायोटेकले ब्राजिललाई ४ करोड ६० लाख र टर्कीलाई ५ करोड डोज भ्याक्सिन उपलब्ध गराउने सम्झौता गरिसकेको छ । त्यसैगरी, चीनले इन्डोनेशियालाई स्थानीय उत्पादनका लागि ४ करोड भ्याक्सिन बल्क (स–सना सिसीमा विभाजित गर्नुअघिको भ्याक्सिन कन्सन्ट्रेट) उपलब्ध गराउँदैछ । चिनियाँ सेनाको अनुसन्धान युटिनसँगै मिलेर भ्याक्सिन विकास गरेको क्यान्सिनो बायोलोजिक्सले मेक्सिकोमा ३ करोड ५० लाख डोज ढुवानी गर्नेछ, मेक्सिकोसहित ५ देशमा यस कम्पनीले भ्याक्सिन परीक्षण भइरहेको छ ।

चीनको सबैभन्दा ठूलो सरकारी औषधी कम्पनी सिनोफार्मअन्तर्गतको चिनियाँ राष्ट्रिय बायोटेक समूहले आफ्ना सम्झौताबारे खुलेर जानकारी बाहिर ल्याएको छैन । यस कम्पनीका दुईवटा भ्याक्सिनहरु १० वटा देशमा परीक्षण भइरहेका छन्, विशेषगरी मध्यपूर्व र दक्षिण अमेरिकामा । युएईका प्रधानमन्त्री तथा दुबईका शासक सेख मोहम्मद बिन रसिदले परीक्षणका क्रममा आफैं भ्याक्सिनको डोज लिएका थिए, यहाँ आपतकालिन प्रयोगका लागि भ्याक्सिनले स्वीकृति पाइसकेको छ । सिनोफार्मसँगको सहकार्यमा युएईको स्थानीय कम्पनीले आगामी वर्ष ७ करोड ५० लाखदेखि १० करोड डोज उत्पादन गर्ने आशा राखेको छ ।

सिनोफार्मका अध्यक्ष लिउ जिङझेनले दर्जनौँ देशहरुले भ्याक्सिन किन्ने इच्छा व्यक्त गरेको जनाएका थिए । यद्यपी, उनले ती देशहरुको नाम लिएका छैनन्, न त उनीहरुले कति डोज मागेका थिए भनेर खुलाएका छन् । २०२१ मा आफ्नो कम्पनी १ अर्ब डोजभन्दा धेरै भ्याक्सिन उत्पादन गर्न सक्षम हुने उनले बताएका थिए ।

‘चीनसँग भ्याक्सिन डिप्लोमेसीका लागि राजनीतिक इच्छाशक्ती मात्रै होइन, त्यसलाई सम्भव गराउने सामथ्र्य पनि छ,’ हुवाङले भने ।

चीनमा ठूलो रुपमा भाइरस नियन्त्रण भइसकेकाले आफ्नो सबै १ अर्ब ४० करोड जनसंख्यालाई तत्कालै भ्याक्सिन लगाउनुपर्ने बाध्यता उसलाई छैन । ‘यसले भ्याक्सिनको आवश्यकता परेका देशहरुसँग सम्झौता गर्नका लागि उसलाई लाभ दिन्छ,’हुवाङले भने ।

‘हेल्थ सिल्क रोड’

डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनको ‘अमेरिका फस्र्ट’ दृष्टीकोण र चीनको विश्वव्यापी भ्याक्सिन अभियान ठ्याक्कै विपरीत छ । किनकी, अमेरिकाले अन्यत्र भ्याक्सिन वितरण गर्नेभन्दा पनि आफ्नै नागरिकलाई भ्याक्सिन लगाउने विषयमा ध्यान केन्द्रीत गरिरहेको छ ।

‘अमेरिकाले गरिब देशहरुको सहयोगका लागि केही प्रतिशत भ्याक्सिन दिन्छौँ भनेको वा संकेत गरेको हामीले अहिलेसम्म सुनेका छैनौँ । यसले आफ्नो विदेश नीतिमा सहायकसिद्ध हुनेगरी भ्याक्सिन प्रयोग गर्ने चीनको लक्ष्यलाई अझै सुदृढ बनाउँछ,’ हुवाङले भने ।

कोभिड १९ भ्याक्सिनको तिव्र र सबै देशमा समान वितरण सुनिश्चित गर्नका लागि (डब्ल्युएचओ) विश्व स्वास्थ संगठनको समर्थनमा अक्टुबरमा बनेको परियोजनामा चीन सहभागी भइसकेको छ । भ्याक्सिन ओगटेर राख्ने विभिन्न देशका सरकारहरुको योजना निरुत्साहित गर्दै र प्रत्येक देशका उच्च जोखिम समूहलाई भ्याक्सिन लगाइदिने विषयमा ध्यान केन्द्रीत गराउन कोभाक्स नामको यस परियोजना बनाइएको हा । तर अमेरिकाले यस परियोजनामा सहभागिता जनाएन, केही हदसम्म राष्ट्रपति ट्रम्पले डब्ल्युएचओसँग काम गर्न नचाहेका कारण पनि यस्तो भएको हो । जनस्वास्थको रिक्त विश्वव्यापी नेतृत्व चीनले लिनसक्ने वातावरण उनले बनाइदिएका छन् ।

सुरुवातदेखि नै चिनियाँ नेताहरुले चीनको भ्याक्सिन विश्वव्यापी रुपमा बाँडफाँड हुनेबारे जोड दिइरहेका छन्, विशेषगरी विकासशिल देशहरुमा भ्याक्सिन वितरण गरिने उनीहरुले बताउँदै आएका छन् ।

गत मेइमा डब्ल्युएचओको वार्षिक सम्मेलनमा बोल्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनमा उत्पादिन भ्याक्सिन विश्वव्यापी हितका लागि प्रयोग हुने बताएका थिए, उनले विकासशिल देशमा सहज र सुलभ दरमा भ्याक्सिन उपलब्ध गराउनका लागि आफ्नो देशले योगदान गर्ने बताएका थिए । जुनमा अफ्रिकी नेताहरुसँगको भिडियो सम्मेलनमा सीले वाचा गरेका थिए, ‘जब चीनमा कोभिड १९ भ्याक्सिनको विकास र प्रयोग पूरा हुन्छ, त्यसपछि पहिले लाभ हासिल गर्नेमा अफ्रिकी देशहरु पर्नेछन् ।’

गत अगस्टमा चिनियाँ प्रिमियर लि कोच्याङले कम्बोडिया, म्यान्मार, लाओस, थाइल्यान्ड र भियतनामलाई पनि बेइजिङले प्राथमिकतामा राख्ने बताएका थिए । चिनियाँ अधिकारीले प्राथमिकताको सुचीमा राखेका अन्य देशमा अफगानिस्तान र मलेसिया पर्छन् । यी धेरैजसो देशहरु चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभमा पनि संलग्न छन्, यस महत्वाकांक्षी पूर्वाधार तथा व्यापार परियोजनाले महामारीका दौरान आफ्नो गति केही गुमाएको छ । भर्खरै चिनियाँ अधिकारीहरुले ‘हेल्थ शिल्क रोड’बारे छलफल गरेका छन् । गत मेइमा राष्ट्रपति सीले कोरोना भाइरस महामारीबाट संघर्षरत देशहरुलाई दुई वर्षको अवधिमा २ अर्ब अमेरिकी डलरभन्दा धेरै सहयोग गर्ने घोषणा गरेका थिए । बेइजिङले ल्याटिन अमेरिका र क्यारेवियन देशहरुलाई कोरोना भाइरस भ्याक्सिन किन्नका लागि १ अर्ब अमेरिकी डलर ऋण लिन प्रस्ताव समेत गरेको थियो । यद्यपी, चीनको भ्याक्सिन कुटनीति केही स्थानमा अस्थिर पनि छ । जस्तो, ब्राजिलमा चीनविरोधी राष्ट्रपति जैर बोल्सेनारो र साओ पाओलोका गर्भनर जोएगो डोरिया (जो २०२२ को निर्वाचनमा बोल्सेनारोविरुद्धका सम्भावित उम्मेदवार हुन्) बीचको मनमुटावमा सिनो भ्याक तानिएको छ । बंगलादेशमा लगानी सम्बन्धी विवादका कारण सिनोभ्याकको परीक्षणमा ढिलाइ भइरहेको छ ।

अन्तर्राष्ट्रिय जनस्वास्थ विद्हरुले चीनको आपतकालीन प्रयोग कार्यक्रमप्रति पनि सवाल उठाइरहेका छन्, क्लिनिकल परीक्षणबाट आफ्नो प्रयोगात्मक भ्याक्सिनको सुरक्षा प्रमाणित हुनअघि नै चीनले झन्डै १० लाख नागरिकलाई भ्याक्सिन लगाइसकेको छ ।

अनि, प्रभावकारीताको सवाल पनि छ । गत महिना फाइजर र मोडर्नाले आ–आफ्ना भ्याक्सिनको प्रभावकारीता ९० प्रतिशतभन्दा धेरै रहेको जनाएका थिए । त्यस्तै, अक्सफोर्ड र एस्ट्राजेकेकाले संयुक्त रुपमा उत्पादन गरेको भ्याक्सिनको प्रभावकारीता औसतमा ७० प्रतिशत छ । जबकी, अहिलेसम्म कुनै पनि चिनियाँ भ्याक्सिन कम्पनीले आफ्नो प्रारम्भिक प्रभावकारीताको नतिजा घोषणा गरिसकेका छैनन् । तर, निर्माता कम्पनीका कार्यकारीहरुले निरन्तर रुपमा आफ्नो भ्याक्सिन सुरक्षित देखिएको र परीक्षणका क्रममा भ्याक्सिन लगाएकाहरुमा कुनै गम्भीर समस्या नदेखिएको बताइरहेका छन् ।

चिसो भण्डारण

फाइजर र मोर्डनाको दाँजोमा चिनियाँ भ्याक्सिनहरुको वितरण केही सहज छ । विशेषगरी त्यस्ता विकासशिल देशमा, जहाँ चिसोमा भ्याक्सिन भण्डारण गर्ने क्षमताको अभाव छ । डब्ल्युएचओको इम्युनिजेशन र भ्याक्सिन विभागका प्रमुख केट ओ ब्राइनले भ्याक्सिन विकासलाई सगरमामाथाको आधार शिविरसँग तुलना गरेकी छिन् । ‘शिखर चढ्नु चैं यसको वितरण हो,’ गत महिना उनले पत्रकार सम्मेलनमा भनेकी थिइन् ।

फाइजर र मोर्डनाका दुबै भ्याक्सिनहरुले शरीरमा कोरोना भाइरसको साइन्थेटिक टुक्रा बनाउन र प्रतिरक्षा प्रतिक्रियालाई प्रेरित गर्नका लागि म्यासेन्जर आरएनए –एमआरएनए) नामक आनुवंशिक मेटेरियलको टुक्रा प्रयोग गर्छन्, यो नयाँ प्रविधि विद्यमान भ्याक्सिनहरुमा प्रयोग भएको छैन । तर, कोठाको सामान्य तापक्रममा एमआरएनए कमजोर हुन्छ । मोर्डनाको भ्याक्सिनलाई माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्छ वा ३० दिनसम्म रेफ्रिजिरेटरको तापक्रममा राख्नुपर्छ । फाइजरको भ्याक्सिनलाई अझै चिसो तापक्रम अर्थात् माइनस ७५ डिग्री सेल्सियसमा राख्नुपर्छ र उच्च चिसोमा राखेको पाँचदिनभित्र प्रयोग गर्नुपर्छ ।

सिनेफार्म र सिनो भ्याकले पुरानो शैलीको दृष्टीकोण पछ्याएका छन् । पोलियो र फ्लुजस्ता अन्य रोगका भ्याक्सिनहरुमा यो दृष्टीकोण प्रभावकारी साबित भइसकेको छ । यस दृष्टीकोणअनुसार, भ्याक्सिनले पूर्ण निष्क्रिय भाइरसलाई शरीरको प्रतिरोधी क्षमता विकासका लागि प्रयोग गर्छ, र चिनियाँ भ्याक्सिनलाई रेफ्रिजिरेटरको २ डिग्री सेल्सियसदेखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न मिल्छ । क्यान्सिनोको भ्याक्सिनले शरीरभित्र कोरोना भाइरसको जेनेटिक टुक्राहरुलाई लैजानका लागि एडोनो भाइरस ५ नामक कमन कोल्ड भाइरस प्रयोग गर्छ, यसलाई पनि २ डिग्रीदेखि ८ डिग्री सेल्सियससम्म भण्डारण गर्न सकिन्छ । भ्याक्सिनको प्रभावकारीता कायम राख्न यसलाई उत्पादन केन्द्रबाट विमानस्थलसम्म ढुवानी गर्न र अन्तत विश्वव्यापी वितरण गर्ने क्रममा आवश्यक तापक्रम कायमै राखिराख्नुपर्छ । जब चिनियाँ भ्याक्सिनहरु प्रयोगका लागि तयार हुन्छन्, तब चिनियाँ ई–कमर्श जायन्ट अली बाबाअन्तर्गतको साइनियायो कम्पनीले वितरणमा सहयोग गर्नेछ, यस कम्पनीका अनुसार उसको वातानुकुल भौतिक पूर्वाधार तयारी अवस्थामा छ । यस कम्पनीले सेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलसँग सहकार्य गरेको छ । अन्तर्राष्ट्रिय हवाई यातायत संघबाट औषधी ओसार–प्रसारका लागि भर्खरै प्रमाणपत्र पाएको यस विमानस्थलमा सन् २०१९ मै फ्रोजन खाना र सामाग्रीहरुका लागि वेरहाउस निर्माण गरिएको थियो । यस वर्षको सुरुवातमा वेरहाउसलाई कोरोना परीक्षण किट भण्डारणका लागि प्रयोग गरियो र अहिले भ्याक्सिनका लागि प्रयोग गरिदैंछ । विमानस्थलले आफ्नो वेवसाईटमा लेखेको छ,‘हामी सेन्चेजलाई कोभिड १९ भ्याक्सिनको विश्वव्यापी वितरणको आधारक्षेत्र बनाउन चाहन्छौं ।’

इथियोपियन एयरलाईन्ससँग पनि साइनियायोको साझेदारी छ, यस र्एयरलाईन्सले चिनियाँ भ्याक्सिनलाई मध्यपूर्व र त्यसपछि अफ्रिकामा पठाउनेछ । महामारी सुरु भएयता यस एयरलाईन्सले सेन्जेनबाट युरोप, अफ्रिका, मध्यपूर्व र दक्षिण अमेरिकामा ३ हजार टनभन्दा धेरै मेडिकल सामाग्री ढुवानी गरिसकेको छ । साइनियायोेका सिईओ वान लिनका अनुसार विश्वव्यापी पहुँच बिस्तार लागि अन्य रुटहरु पनि थप्ने योजना बनिरहेको छ । ‘ठ्याक्कै कति माग हुन्छ भने हामी अहिल्यै स्पष्ट छैनौं, तर पनि हामी क्षमता बिस्तार गरेर आवश्यक मागका लागि तयारी अवस्थामा बस्नेछौँ,’ उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर