१९ मंसिर, काठमाडौं । शनिबार राजधानी आसपासका डाँडाकाँडा साइक्लिङ र हाइकिङमा जाने युवाका कारण भरिभराउ हुन्छन् । शिवपुरी-नागार्जुन राष्ट्रिय निकुन्ज भित्रका रुट बढी लोकप्रिय छन् ।

लकडाउनयता शिवपुरी राष्ट्रिय निकुन्ज बन्द छ । खुल्ने वा नखुल्नेबारे अन्यौल छ । यसबाट जमाचो र यस आसपासमा पदयात्रा र छोटो हाइकिङमा जानेहरु प्रभावित छन् । शनिबार र अन्य विदाका दिन बिहानै जामाचो हिडेकाहरुले नागार्जुन राष्ट्रिय निकुन्जको गेटमा पुगेर फर्कन परिरहेको छ ।

सबैतिर पर्यटकीय गतिविधि खुला

मन्त्रिपरिषद् बैठकले १ मंसिरबाट लागु हुने गरी नेपालमा सबै प्रकारका पर्यटकीय गतिविधि खुला गरेको छ । सोहीअनुसार देशभरका राष्ट्रिय निकुन्जसमेत स्वास्थ्य मापदण्ड पालना गरी खुला हुन सक्ने भएका छन् । परिस्थिति हेरेर कुनै एक निकुन्ज खुला गर्ने वा नगर्ने भन्ने जिम्मेवारी भने स्थानीय तह र निकुन्ज प्रशासनलाई दिइएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी हरिभद्र आचार्य सरकारले खुला गर्नु भनेको अवस्थामा बन्द गरिरहन नमिल्ने बताउँछन् । ‘तर, कुनै निकुन्ज क्षेत्रमा कोरोनाको जोखिम छ भने स्थानीय सरकार र सम्बन्धित निकुन्ज प्रशासनले रोक लगाउन सक्छन्’ आचार्य भन्छन्, ‘केन्द्र सरकारको निर्णयले भने देशभरका निकुन्ज खुला गरेको छ ।’

सरकारले निश्चित शूल्क लिएर निकुन्जहरुमा आन्तरिक तथा बाहृय पर्यटकलाई प्रवेश दिने गरेको छ । यस्तो शूल्क भने निकुन्ज प्रशासनले तोक्ने गरेको छ । तोकिएको शुल्क तिरेर हाइकिङ, साइक्लिङ, जंगल सफारी, फिल्म सुटिङ, पिकनिक लगायत गतिविधि गर्न सकिन्छ ।

यस्तो पर्यापर्यटनबाट वाषिर्क सवा ३ अर्ब रुपैयाँ हाराहारी राजस्व संकलन हुने गरेको वन तथा वातावरण मन्त्रालयको तथ्यांकले देखाउँछ । तर, कोरोना भाइरसको महामारीका कारण आर्थिक वर्ष २०७६/०७७ र ०७७/७८ मा यस्तो राजस्व आधा भन्दा बढी घट्ने अनुमान छ ।

खुला वातावरणमा पर्याप्त सामाजिक दूरीसहित घुमफिर गर्न सकिने राष्ट्रिय निकुन्जसहितका क्षेत्र अब पर्यटकका लागि खुला गरिनुपर्ने नेपाल पर्यटन बोर्डको भनाई छ । बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदी भन्छन्, ‘वन-जंगलमा जति पर्यटक भएपनि सामाजिक दूरी कायम गर्न समस्या हुँदैन, अब घुमफिरको माहौल बनाउनु पर्छ ।’

उपत्यका बाहिरका खुलिसके

नेपालमा पर्यापर्यटनका लागि सबैभन्दा व्यस्त चितवन राष्ट्रिय निकुन्ज र बर्दिया राष्ट्रिय निकुन्जमा पर्यटकले निर्वाध प्रवेश अनुमति पाउँछन् । चितवन राष्ट्रिय निकुन्ज असोजबाटै खुला भएको हो । यसले पर्यटकीय गतिविधिलाई पुनःचलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको होटेल व्यवसायी सुमन घिमिरे बताउँछन् ।

पर्यटकका लागि सगरमाथा राष्ट्रिय निकुन्ज, सुदुरपश्चिमको सुक्लाफाँटा र खप्तड क्षेत्र समेत खुला भईसकेको छ । ढोरपाटन शिकार आरक्षमा समेत यो वर्ष शिकारीले अनुमति लिएर शिकार गरिसकेको अवस्थामा शिवपुरी-नागार्जुन राष्ट्रिय निकुन्ज मात्र बन्द गरिराख्न नहुने पर्यटन क्षेत्रको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय