नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र देखिएको विवाद सचिवालयबाट समाधान नभएपछि पार्टी स्थायी कमिटी बैठकमा छलफल गरिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ३ घण्टाभन्दा लामो बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी कमिटीको बैठक भोलि आइतवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकअघि २ अध्यक्षबीच बालुवाटारमा छुट्टै छलफल भएको थियो । शनिवारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिए । मंसिर १७ गतेका लागि तय भएको सचिवालय बैठकमा भने ओली सहभागी नभएपछि बैठक औपचारिकतामा प्रवेशै नगरी स्थगित भएको थियो ।

कात्तिक २८ गतेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालयमा एउटा दस्तावेज पेश गरेका थिए । मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले प्रचण्डका आरोपको खण्डन गर्दै प्रत्युत्तर जवाफ पठाएका थिए । २ वटा दस्तावेज पेश भएपछि नेकपा विवाद जटिल मोडमा पुगेको थियो ।

सचिवालयलगत्तै नेकपा स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक तय भएका छन् । यसअघि मंसिर १८ गतेदेखि स्थायी कमिटी र मंसिर २५ गतेदेखि केन्द्रीय कमिटी बैठक बस्ने तय भएकोमा १७ गतेको सचिवालय बैठक प्रभावित भएपछि भोलि आइतवारका लागि स्थायी कमिटीको मिति तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर