बिचार/ब्लग

नेताज्यूहरू, हामीलाई कहिलेसम्म झुक्याइरहने?


  काठमाडौँ   सवालनेपाल   २०७७ पुष २३, १३:०३

म तपाईंहरूले पालैपालो शासन गर्ने र आफूले शासन गर्न नपाउँदा शासन गर्न पाउनुपर्छ भनी सडकमा आन्दोलन गर्ने देशको सामान्य नागरिक हुँ। आफ्नो र आफ्नो परिवारको दैनिक आवश्यकता पूरा गर्न म एउटा कार्यालयमा काम गर्छु।

तपाईंहरूमध्ये एक पक्षलाई लागिरहेको होला, देशमा उथलपुथल भयो, संविधान मिचियो, जनताको अधिकार खोसियो, देश बर्बादीतर्फ लाग्यो, लोकतन्त्र/गणतन्त्रमाथि हस्तक्षेप भयो।

अर्को पक्षलाई लागिरहेको होला, हाम्रो सत्ता टिकिरहेकै छ, हामी नै हौं यो देशलाई निकास दिने, जसले हामीलाई साथ दिँदैनन् उनीहरू देशद्रोही हुन्, विकास विरोधी हुन्, अलोकतन्त्रवादी हुन्, सारा जनता हाम्रो साथमा छ, आदि इत्यादि।

तर यहाँहरूलाई थाहा छ नेताज्यूहरू, देशमा तपाईंहरूले यतिका उथलपुथल गरिदिँदा मेरो र मेरो परिवारको दैनिकीमा कुनै असर परेको छैन। म बिहान उठ्छु, खाना बनाउँछु, खान्छु, परिवारका सदस्यलाई खुवाउँछु अनि कार्यालय आएर काम सकाउँछु। छुट्टी भएपछि फेरि घर फर्कन्छु र घरको काम गर्छु अनि सुत्छु।

भोलिपल्ट पनि सोही क्रम चलिरहन्छ।

म यो धर्तीमा आएपछि यहाँहरूले जतिपटक देशमा उथलपुथल गरे पनि मेरो दैनिकीमा कुनै परिवर्तन आएको छैन। ओहो! एउटा कुरा झन्डै लेख्न छुटेछ, दिउँसो कार्यालयको कामबाट एकैछिन फुर्सद निकालेर तपाईंहरूको हालखबर बुझ्न केही न्युजपोर्टल हेर्न छुटाउँदिनँ। आखिर तपाईंहरू त हाम्रो देशको निर्माणकर्ता पो त।

तपाईंहरूले देशमा बनेका संरचना बनाउने श्रेय डकर्मी, सिकर्मी, इन्जिनियर, ठेकेदार लगायतलाई दिए पनि हामी जनताका लागि देश बनाइदिने र भत्काइदिने तपाईंहरूले नै हो। त्यसकारण म तपाईंहरूलाई इन्जिनियरको उपनामले सम्बोधन गर्न चाहन्छु।

अहिले त तपाईंहरूलाई नि साह्रै दुःख परेको छ है! यो पुसको ठन्डीमा एसी र हिटर भएको न्यानो घर र सदनमा बस्न छोडेर सडकमा बस्नुपरेको छ। ठूलोठूलो स्वरमा कराउनुपरेको छ। दर्शक, स्रोता, कार्यकर्तालाई हँसाउनुपरेको छ। जेभन्दा ताली आउँछ, त्यही भनी कमेडी गर्नु परिरहेको छ। अनि हिजो एउटै घरमा बसेको साथीलाई न्वारनदेखिको बल निकालेर सत्तोसराप र खेदो गर्नुपरेको छ।

एक पक्षका इन्जिनियरहरूको दुःखका खबर पढेर यसो अर्को पोर्टल खोल्यो, अर्को पक्षको दुःख उस्तै। विचराहरूको निर्माणको समय सकिनै लाग्दा बल्लतल्ल नयाँ इन्जिनियर नियुक्त भइरहेको छ। सम्झौता पत्र बुझ्न इन्जिनियर प्रमुखकहाँ दौडिनु कि, काम सुरू गर्नु, तपाईंहरूको आपत कम छ र झन्!

सम्झौतापत्र बुझेर चुप लागेर बसौं, एकतर्फी सम्झौता तोडिने डर। काम सुरू गरौं, कहाँ के बनाउने, कत्रो बनाउने? न नाप छ, न नक्सा नै। अनि त्यसमाथि सम्झौताको समय सकिन लागिसक्दा बल्ल सम्झौतापत्र हात लाग्दैछ।

नेताज्यूहरू, मलाई त यो सबै हेर्न मन पनि छैन। न त तपाईंहरूले सत्ता र सडकमा मञ्चन गरिरहनुभएको नाटकको पक्ष र विपक्षमा बहस गर्न नै मन छ।

बहुमत दिएर म लगायत जनताले दिएको भोटबाट नै पाँच वर्षको सम्झौतापत्र बोक्नुभएका तपाईंहरूले पक्कै हाम्रो देश बनाउनुहुनेछ भन्ने लागेको थियो। त्यही भएर काठमाडौंमा बस्ने म, भोट हाल्नकै लागि भनेर मेरो निर्वाचन क्षेत्र इलाम पुगेकी थिँए।

तर आज मलाई जीवनमा पहिलोपटक मेरो अमूल्य भोट खेर गएकोमा पछुतो लागिरहेको छ। कस्ता नेतालाई देश सुम्पेछौं नि कठै भनी हिनताबोध भइरहेको छ।

नयाँ नेपाल र समृद्ध नेपाल बनाउँछु भनेर जनताको मत लिनुभएका तपाईंहरूले निर्माणको त कुरै छोडौं, बनेको केही अंश पनि धुजाधुजा बनाइदिनुभयो। र त्यही धुजा परेको भाग पनि मेरो र तेरो भन्दै एक अर्काको सत्तोसराप गर्दै खोसिरहनुभएको छ। अलिकति पनि शरम छैन है?

नेताज्यू, कति वर्ष भयो यहाँहरूले राजनीति गर्नुभएको? तपाईंले राजनीतिमा बिताएको वर्षको हिसाब गरी त्यो अवधिमा तपाईंले जनताका पक्षमा भाषणबाहेक के काम गर्नुभयो? धेरै होइन, तीन वटा मात्र कामको सूची बनाउन सक्नुहुन्छ?

लामो समय राजनीति गरेँ भनेर मात्र हुँदैन नेता ज्यू। बरू दुई वर्ष गर्नुहोस् तर जनताका पक्षमा काम गर्नुहोस्।

हामी यहाँ छौं भन्नै पर्दैन, तपाईंहरूलाई खोज्दै आफैं आउँछन् जनता तपाईं भएका ठाउँमा।

अर्को प्रश्न पनि गरौं है, तपाईंहरूको अन्तिम लक्ष्य त देश विकास नै हो नि होइन? कि मात्र चार पुस्तालाई पुग्ने गरी सम्पत्ति कमाउने, ऐसआराम गर्ने र बाँचुन्जेल कहिले प्रधानमन्त्री, कहिले मन्त्री, कहिले मुख्यमन्त्री, कहिले राज्यमन्त्री, कहिले राजदूत भई सत्ता र शक्तिमा बसिराख्ने? अनि सत्ता र सदन नपाएका दिन आफ्नै घरमा आगो लगाएर जनता हिँड्ने सडक समेत कब्जा गर्ने?

नेताज्यू, तपाईंहरूको यो लुछाचुँडीको राजनीति देखेर मलाई अब लाग्न थाल्यो, तपाईंहरूको अन्तिम उद्देश्य विकास होइन, विनास हो। विकास र परिवर्तन चाहनेले जनताको चाहनाको कदर गर्नुपर्ने होइन र? भागबन्डा मिलुन्जेल सबै एकैठाउँ, अनि नमिलेका दिन कोही गोमन साप, कोही कुहिएको फल?

भयो, अब पुग्यो नेताज्यू, मलाई तपाईंहरूको यो रमिता हेर्न मात्र होइन, सुन्न पनि पुगिसक्यो। लाज नै लजाइसक्यो होला अब तपाईंहरूको बेशरर्मीपन देखेर। हैन कतिसम्म दुःख दिन सकेको जनतालाई? जहिल्यै झुक्याइरहने मात्र हो? अनि हामी झुक्किरहनुपर्ने सधैं?

हरेकचोटि साथ दिएको होइन हामीले यहाँहरूलाई? निरंकुश राणाशासन फाल्नदेखि राजतन्त्र फाल्नसम्म। बिर्सनुभयो भने जनताले हरेकपल्ट दिएको साथ स्मरण गराउन चाहन्छु।

अब निरंकुशता हट्यो भनेर मख्ख समेत पर्न नपाउँदै २०१७ सालमा फेरि पञ्चायती शासन सुरू भयो। उक्त व्यवस्थाविरूद्ध वर्षौंसम्म केही नभनिकन हाम्रा बाजेबज्यैले यहाँहरूको काँधमा काँध मिलाएर साथ दिए। यसै कारण ३६ सालमा जनमत संग्रह गराउन तत्कालीन राजा बाध्य बने।

त्यसपछि पनि तपाईंहरूको साथ दिन जनताले बिर्सिएनन्। त्यसैको फलस्वरूप २०४६ सालमा पुनः प्रजातन्त्र स्थापना भयो। नेपालमा प्रजातन्त्र आउँदा म भर्खरै जन्मेकी थिँए। राजनीति गर्ने परिवारमा जन्मेकी मैले त्यसबेलाको जन उत्साहबारे मेरो ममीबुवाको मुखबाट अहिलेसम्म पनि सुन्ने गरेकी छु।

प्रजातन्त्र आएपछि मेरो ममीबुवाले सोचेजस्तै गाउँमा बाटोघाटो बन्ने क्रम सुरू भयो। टेलिफोन पुग्यो, बिजुली पुग्यो, विस्तारै विकासले गति लिइराखेको थियो।

तर अचानक ‘जनताले सुख पाएनन्, निरंकुशता हटेन’ भन्दै माओवादीको जन्म भयो र ‘परिवर्तन गर्छु’ भन्दै हातहतियारसहित जंगल पस्यो। अलिअलि विकासको खुड्किलोमा लम्किँदै गरेको मेरो प्यारो देश फेरि भड्खालामा पस्यो।

यसपछि के भयो, यहाँहरूको मानसपटलमा ताजै होला। जनयुद्धका नाममा भएका संरचना ध्वस्त पारिए, १७ हजार मान्छे मारिए। माओवादी जंगल पसेका बेला सत्तामा बस्नेहरू जनविद्रोही, देशद्रोही थिए उहाँहरूका लागि। तिनलाई हटाएर आफू सत्तामा आए मात्र जनताले परिवर्तन महशुस गर्ने उद्घोष माओवादीको थियो। केही जनताले त त्यो बेला तपाईं माओवादीहरूलाई साथ पनि दिएकै थिए।

नेताज्यूहरु, यो सबै हुँदा पनि जनता चुप लागेर नै बसिरहेका थिए। आफूले बनाएका नेता ठाउँमा पुगेका छन्, पुग्छन्, आज नभए भोलि पक्कै जनतालाई सुख दिनेछन् भन्ने सोचेर सबै आफ्नै कर्ममा क्रियाशील बने।

त्यसपछि २०५८ सालमा तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएपछि ज्ञानेन्द्रले सत्ता आफ्नो हातमा लिए र जंगलमा रहेका माओवादी लगायत सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाइदिए। तब पनि जनताले सदियौंदेखि मानिआएका राजालाई होइन, आफूले बनाएका नेतालाई नै विश्वास गरे र राजतन्त्रविरूद्ध स्वस्फूर्त सडकमा उत्रिएपछि ६२/६३ को आन्दोलनले राजतन्त्रै हटाएदिए।

त्यसपछि परिवर्तनका लागि जंगल पसेको माओवादी र परिवर्तनको बाधक भनिएको कांग्रेस, एमाले, प्रतिगमनकारी, अग्रगमनधारी लगायत दल एकैठाउँ आए। अनि पो जनतालाई बल्ल पत्तो भयो, सत्ताबाहिर र सत्ताभित्र हुने दुवै परिवर्तनकारी नै रहेछन्।

यो सबै तपाईंहरूलाई थाहा भएकै कुरा हो। मैले यसो छोटकरीमा सम्झाउन मात्र खोजेकी हुँ।

आदणीय नेताज्यूहरू, राजतन्त्र ढलेपछि त कस्सम देशमा कायापलट नै हुन्छ जस्तो महशुस मलाई पनि भएको थियो। तर राजतन्त्र ढलेको २० वर्ष हुँदा पनि देश उँभो लागेको छैन।

ओहो मुख्य परिवर्तन त झन्डै छुटाएछु।

जति व्यवस्था फेरिए पनि, जति नेता आए पनि व्यवस्था परिवर्तन नभएपछि, परिवर्तन महशुस नगरेपछि जनता वाक्क, दिक्क, प्याक्क भई कम्युनिस्ट पार्टीलाई बहुमत दिई सरकार बनाएर ५ वर्षसम्म शासन गर, देश बनाऊ भनेर पठाएको होइन हामीले?

तर अहँ, तपाईंहरूलाई त्यो पनि पचेन है? घरभित्रै झगडा थाल्नुभएको छ। झगडा पनि यस्तो, आफ्नै घरमा आगो लगाई अहिले त्यही आगोबाट निस्केको खरानीको भागबन्डामा लुछाचुँडी गरिरहनुभएको छ।

फेरि एकपटक सोध्छु, तपाईंहरूलाई लाज लाग्दैन? जनतासामू बस्ने हिम्मत कसरी जुटाउनुहुन्छ हँ?

मलाई त सानो गल्ती गर्दा पनि कसैसँग नजर जुधाउने हिम्मत आउँदैन। भन्नुहोस् त, कहिलेसम्म तपाईंहरूको मनोमानी हामीले सहिरहनुपर्ने? कहिलेसम्म तपाईंहरूलाई विश्वास गरी तपाईंहरूको पथमा हिँडिरहनुपर्ने? परिवर्तनको रटान लाएर जनतालाई कहिलेसम्म ठगिरहनुहुन्छ?

नेताज्यूहरू, हामी जनतालाई बेवकुफ नसम्झनुहोस् है। आज तपाईंहरू एक पक्षको सडकमा आन्दोलनमा हुनुहुन्छ, अर्को सत्तामा अनि लोकतन्त्रको पर्यायवाची ठान्ने प्रमुख प्रतिपक्षी रहेको दल कहाँ, के गर्दैछ अत्तोपत्तो छैन।

यो त पक्का छ, आज या भोलि तपाईंहरू कांग्रेस, कम्युनिस्ट सबै मिल्नुहुन्छ। अनि फेरि गणतन्त्र, लोकतन्त्र, विकास, परिवर्तनका नारा लगाउनुहुन्छ। तर कहिलेसम्म यस्तो? तपाईंहरूको भागबन्डाको लुछाचुँडीमा देश चाँहिँ भाडमे जाओस्?

याद राख्नुहोस् नेताज्यूहरू, जनतालाई तपाईंहरू सडकमा बसे पनि, सदनमा बसे पनि अब केही मतलब छैन। तपाईंहरू सबैलाई शक्ति र सत्ता मात्र चाहिएको छ। तपाईंहरूको एउटै एजेन्डा यही हो।

तपाईंहरू न्याय वा देशका लागि होइन, सत्ताका लागि सडकमा बस्नुभएको भन्ने जनताले बुझिसकेका छन्। भाषण गर्दा २/४ जना कार्यकर्ताले ताली पड्काए र आन्दोलन गर्दा २/४ जना बढी मान्छे आए भनेर आफू नै शक्तिशाली हुँ भनेर घमण्ड नगर्नुहोस् अब। तपाईंहरूको यही घमण्डले आफू त सकिने अवस्थामा हुनु नै हुन्छ, देश र जनतालाई पनि सक्नुहुने भयो होइन?

अनि आन्दोलन सदन स्थापना गर्न गर्नुभएको रे। के हुन्छ सदन स्थापना भएपछि? देश र जनताको सबै समस्या समाधान हुन्छ? तीन वर्ष सदन चलेकै थियो त। कुन जनताको कुन मुद्दा सम्बोधन गर्नुभयो?

जनताका मागमा कहिल्यै सडकमा नउभिनुभएका तपाईंहरू आज आफू बस्ने सदनका लागि सडकमा हुनुहुन्छ। तपाईंहरूको सदन बचाइदिन हामी जनता सडकमा आउनुपर्ने, आफ्नो पार्टीको आन्तरिक द्वन्द्व व्यवस्थापन गर्न नसकेर अलोकतान्त्रिक तरिकाले सदन विघटन गर्ने तपाईंलाई हामीले राजनेता मान्नुपर्ने?

मलाई जनताका समस्यामा साथ नदिने तपाईंहरू र तपाईंहरूको व्यवस्था, भयो चाहिएन अब।

भागबन्डा मिले सबै एकैठाउँ, नमिलेका दिन छरपष्ट हुने तपाईंहरूलाई म चाहिँ अब साथ दिन्नँ। तपाईंहरू अनेक नारा घन्काएर के-के पाइन्छ, पाउनुहोस्। तर कृपया जनता ठग्ने र उनीहरूको भावनामा बारम्बार प्रहार नगरिदिनुहोस्।

हवस्त, लेख्दा लेख्दै पत्र अलि लामो नै भयो। सडक र सत्ता कब्जा गर्नमा व्यस्त तपाईंहरूलाई फुर्सद नहोला, तै पनि जनताको गुनासो सम्झेर पढिदिनुहोला।

केही भूलचुक भए माफी। अन्त्यमा, ‘भाड मे जाओस् देश, हामीलाई त सत्ता र शक्तिसँग मतलब छ’ भन्ने चाहिँ नसोचिदिनुहोला भन्ने आग्रह गर्दै पत्रको बिट मार्न चाहन्छु।सेतोपार्टी बाट साभार

फेसबुकमा तपाईको प्रतिक्रिया

सवालनेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु