
इलामको चुलाचुलीमा सम्पन्न चुलाचुली कप फुट्बल प्रतियोगिताको उपाधि माङ्सेबुङ्ग फुट्बल टिमले जितेको छ । उसले आज सम्पन्न प्रतिस्पर्धात्मक खेलमा चुलाचुली फुट्बल क्लब दमक झापालाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । विजयी टिमका लागी प्रकाश तामाङ्ग र सुमन लिम्बुले गोल गरे ।
प्रकाशले पहिलो हाफको २४ औं मिनेटमा गोल गरेका थिए भने सुमनले दोश्रो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए । त्यस्तै पराजित टिमकातर्फबाट सुशील लिम्बुले गोल गरे । उनले पहिलो हाफको २९ औं मिनेटमा बराबरी गोल गरेका थिए । पहिलो हाफ सम्म एक÷एकको बराबरी खेलेको उसले दोश्रो हाफको अन्तिम मिनेट सम्हालिन नसक्दा पराजय भोग्नु पर्यो । चुलाचुलीका दुई प्रहार क्रसबारमा लागेर फर्किका थिए ।
जितसँगै माङ्सेबुङ्गले नगद २० हजार र ट्रफी तथा उप–विजेताले नगद १० हजार हात पार्यो । प्रतियोगिताको सर्बाधिक गोलकर्ताको उपाधि दमकका सुशील लिम्बुले हात पारे । त्यस्तै सर्बोत्कृष्ट खेलाडी विजयी टिमका सुमन लिम्बु घोषित भए । प्रतियोगिताको विजेता तथा उप–विजेतालाई प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका प्रमुख प्रदीपचन्द्र राई, वडा नम्बर ५ का वडा अध्यक्ष चन्द्र बहादुर थापा, नेपाली कांग्रेसका युवा नेता राजेन्द्र केरुङ्ग लगायतले नगद पुरस्कार तथा ट्रफी, मेडल प्रदान गर्नु भएको थियो ।
समीर राईको अध्यक्षतामा भएको कार्यक्रम बबिन बान्तवाले सञ्चालन गर्नु भएको थियो । प्रतियोगिताको आयोजना चेतनशील युवा समाज चुलाचुलीले गरेको हो ।
फेसबुकमा तपाईको प्रतिक्रिया