
काठमाडौँ – नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको उल्लंघन पहिलो दिनदेखि नै गरेको दाबी गरेका छन्।तीन वर्षअघि प्रंधानमन्त्री नियुक्त हुँदा सांसदको हैसियत नै प्राप्त नगरी राष्ट्रपति र ओलीले संविधानको उल्लंघन गरेको र त्यो क्रम अहिले पनि जारी रहेको उल्लेख गरेका हुन्।कांग्रेस संसद विघटन विरुद्ध आयोजना गरेको ललितपुरको सभालाई सम्बोधन गर्दै बस्नेतले संविधानमा मिच्ने काममा नेकपाका नेताहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनालको समेत साझेदारी रहेको आरोप लगाए।बस्नेतले भने, ‘ओलीले सांसदको हैसियत प्राप्त नगर्दै प्रधामन्त्री नियुक्त भएका हुन्। त्यसै दिनदेखि राष्ट्रपतिले संविधान मिच्न थालेकी हुन्।
हामीले त्यही दिनदेखि शितल निवास पुगेर विरोध गरेका थियौँ। कांग्रेस सभापति देउवाले राष्ट्रियसभामा नियुक्त गरिएका तीनलाई लाई असंवैधानिक रुपमा फिर्ता गरियो, त्यसबारे कसैले विरोध जनाएनन्। संविधान त्यही बेलादेखि मिचिन थालेको हो।’तरुण दल र कांग्रेसले पटक पटक संविधान मिचियो भनेर आन्दोलन गर्दा उल्टै सरकारलाई असहयोग भयो भनेर आलोचना गर्नेहरु पनि जिम्मेवार रहेको बस्नेतको भनाइ छ।उनले नेता रामचन्द्र पौडेललाई पक्राउ गर्दा नबोल्नेहरु आफैँ पक्राउ पर्दा संविधान उल्लंघन भयो भनेर सडकमा आउनुको तुक नभएको जिकिर गरे।बस्नेतले विरोधसभालाई सम्बोधन गर्दै भने, ‘रामकुमारी झाँक्रीलाई प्रधानमन्त्रीको आदेशमा पक्राउ गरियो। यो प्रवृति एउटै हो, केही महिनाअघि रामचन्द्र पौडेललाई प्रहरीले घेराबन्दी गर्दा रामकुमारीले बोलिन्, प्रचण्ड, माधव नेपाल बोलेनन्, तर अहिले आन्दोलनमा आए।’उनले नेपाल र पुष्पकमल दाहाल प्रचण्डप्रति पनि आक्रोश पोखे। ‘पार्टी एक हुँदा सर्वसत्तावाद लागू गर्न खोज्दा नबोल्ने कम्युनिष्टहरु हुन्।चुनाव हारेका नारायणकाजी र वामदेवलाई राष्ट्रियसभामा लैजाँदा संविधान मिचियो कि मिचिएन? बोल्नु पर्दैनथ्यो? उनले अगाडि प्रश्न गरे, ‘एकै ठाउँमा हुँदा संविधान मिचिदा चुप, ठीक अहिले लेनदेनको कुरा नमिल्दा असंवैधानकि भन्ने?
नेपाल र दाहाललाई जनताको समस्यामा बोल्नु नपर्ने, नागरिकले उपचार नपाउँदा बोल्नु पर्ने तर अहिले पद नपाउँदा कराउने?’ओलीको असंवैधाकि कदमका विरुद्धमा बोल्दा आफूहरुलाई हतोसाहित बताउने काम भएको उनले गुनासो गरे। उनले कांग्रेस कांग्रेस संविधानको पक्षमा रहेको उल्लेख गर्दै अदालतले दिएको निर्णय मान्ने प्रष्ट पारे।बस्नेतले भने, ‘कांग्रेस संविधानका पक्षमा लड्छ, हिजो नझुकेको कांग्रेस आज पनि झुक्दैन। सर्वोच्चले दिएको निर्णय कांग्रेसले मान्छ। चुनावमा जा भन्यो भने जान्छ।’उनले कम्युनष्टिहरुले पटक पटक धोका दिएकाले अब सहकार्य नहुने दाबीसमेत गरे। ‘सत्तामा बसेको कम्युनष्टिसँग हाम्रो सहकार्य हुँदैन। प्रचण्डले कुम हल्लाउँदा हामीले पनि हल्लाउनु पर्ने?, बस्नेतको प्रश्न छ।
फेसबुकमा तपाईको प्रतिक्रिया