वीरगंज : पर्सा, पोखरीया वडा नं ६ श्रीसिया(डिह टोला) का कृष्णाको शरीर केही महिनायता अस्वभाविक रुपले बढ्न थालेको छ। शम्भु हजरा दुसाधका ६ वर्षीया छोरा कृष्णालाई बेलाबेला पेट दुख्ने समस्याले पनि सताउँछ।१० महिनायता पेट दुख्ने र शरीर सुनिने समस्या बढ्दै आएको शम्भुले बताए। कृष्णा अहिले यति मोटाउँदै गएका छन् की उनको आँखा ढपक्कै ढाक्ने गरी छोपिन थालेको छ।उनको उपचारका लागि शम्भु नेपाल र भारतको विभिन्न अस्पताल र डाक्टर कहाँ पुगिसके तर निको हुने छाँट देखिएन। त्यसपछि पोखरीयाका केही समाजिक अगुवाहरुको सक्रियतामा हाल कृष्णालाई आर्थिक सहयोग गरी काठमाडौं महाराजगंजस्थित कान्ति बाल अस्पतालमा लगिएको श्रीसियाका भगवान दास तात्वाले जनाए।

केही दिनअघि उनको एउटा भिडियो समाजिक सञ्जालमा राखेर सहयोगको लागि अपिल गरिएकोमा हालसम्म उनलाई २५ हजार नगद सहयोग मिलेको उनले बताए।गत शनिवार बिहान अस्पताल भर्ना भएर उपचार शुरु भएको छ। उनले भने, ‘बुवा गरिब छन्, दुई छाक खान मेहनत मजदुरी गर्छन्, तर बच्चाको उपचारमै आर्थिक अभाव भएपछि आफुहरुले सहयोग गरिरहेको छौं।’ शम्भु डकर्मीको काम गर्छन्। गत फागुनमा घर बनाउन जनकपुर परिवारसँगै गएका थिए। त्यसपछि लकडाउन पनि शुरु भयो। जनकपुरकै बसाईमा उक्त बच्चा रोगी भएको परिवारजनले बताएका छन्। कृष्णाका ठुला बुवा प्रभु हजरा भन्छन्, ‘बच्चा पहिले ठीक थियो, १० महिनादेखि रोगी भएको छ, धेरै ठाउँमा जाँच गराउँदा पनि रोग पत्ता लागिरहेको छैन, झन् मोटाउँदै गएको छ।’

केही चिकित्कसले मिर्गौलामा समस्या भएको बताएका छन्। जसले गर्दा उनको वजन बढ्दै र शरीर मोटाउँदै गएको अशंका गरे तापनि ठ्याक्कै यो रोग लागेको र यसको निदान यसरी हुन्छ भनी जवाफ नपाएको बताए।उनले चिकित्सक तथा अन्यसँग बालकको उपचारमा सहयोगको लागि गुहारसमेत गरेका छन्। १० धुर घडेरीबाहेक शम्भुको जग्गा जमिन छैन। दैनिक ज्यालादारीबाट पत्नी र तीन सन्तानलाई पाल्दै आएका छन्। १० महिनादेखि जेठा छोरा कृष्णाको उपचारमा कर्जा करिब २ लाख लिएर लगाइसकेको पनि उनले दुखेसो पोखे। उनका एक ४ वर्षको छोरा र १ वर्षकी छोरी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर