काठमाडौँ — अनाधिकृत रुपमा बर्डस्-३ स्याटेलाइट सम्बन्धी अनुसन्धान कृति बौद्धिक चोरी गरेर छापेका एक नेपाली वैज्ञानिक अधिकृतलाई कारबाही नगरेको भन्दै नाष्टलाई जापानको क्युसो इन्स्टिच्यूट अफ टेक्नोलोजी(क्युटेक)ले पत्रचार गरेको छ ।
बर्डस्-३ मिसन अन्तर्गत अन्तरिक्षमा छाडिएको नेपालको पहिलो स्याटेलाइट ‘नेपाली स्याट-१’ सम्बन्धी ‘कन्फ्रेन्स पेपर’ नाष्टका प्राविधिक अधिकृत रोशन पाण्डेले अनाधिकृत रुपमा छापेको क्युटेकको दाबी छ । क्युटेकले उपकूलपति सुनिलबाबु श्रेष्ठलाई सम्बोधन गर्दैं दोस्रो पत्र पठाएको हो ।
क्युटेक विश्वविद्यालयका प्राध्यापक एवं ल्याबोरेटरी अफ लिन स्याटेलाइट इन्टरप्राइजेज एन्ड इन-अर्बिट एक्सपेरिमेन्ट्सका प्रमुख डा. मेंगु चोले उपकुलपति श्रेष्ठलाई पाण्डेले तयार गरेको कार्यपत्र चोरी गरेर अवैधानिक र अनाधिकृत रुपमा रिसर्च गेट अनलाइनमा राखिएको उल्लेख छ । उक्त कार्यपत्र नहटाएको र अनैतिक कार्य गर्दा पनि नाष्टले पाण्डेलाई कारबाही नगरेको भन्दै प्राध्यापक चोले नाष्टका उपकूलपतिलाई पत्र लेखेका हुन् । उनले अनलाइनमा राखिएको उक्त कृति हटाउन र वैधानिकता खारेज गर्न पनि भनेका छन् ।

नाष्टका प्राविधिक अधिकृत पाण्डेले इन्टरनेशनल एस्ट्रोनोमिकल फिडरेसन(आईएफ)को सन् २०२० अक्टोबर १२ देखि १४ सम्म चलेको ‘इन्टरनेसनल एस्ट्रोनोटिकल कंग्रेस, द साइबर स्टेशन’ (आईएसी)को बी ४.३ मा ‘स्मल स्याटेलाइट अपरेशन’ विधामा ‘नेपाली स्याट-१ बिगिनिङ अफ द स्पेस इरा इन नेपाल’ नामक कार्यपत्र नाष्टको नाममा प्रस्तुत गरेका थिए । उक्त कृति पाण्डेले अनलाइन साइट रिसर्च गेटमामा हालेपछि प्राध्यापक चोले पहिले पटक जनवरी ५ तारिखमा कारबाही प्रक्रिया बढाउन माग गर्दै नाष्टलाई पत्र पठाएका थिए ।

ईकान्तिपुरलाई प्राप्त प्राध्यापक चोले नाष्टलाई पठाएको उक्त पत्रमा इन्टरनेशनल एस्ट्रोनोमिकल कन्फरेन्स (आईएसी)मा पाण्डेले प्रस्तुत गरेको कार्यपत्र समेत हटाउन माग गरेका छन् । उनले उक्त कृति एक महिनाभित्र नहटाइए आफैंले थप कानुनी प्रक्रिय थाल्ने चेतावनी समेत दिएका छन् । पाण्डेले प्रकाशित गरेको उक्त कृतिमा बर्डस्-३ स्याटेलाइट मिसनको वेबसाइटमा राखिएका मिसन, चित्र तथा तथ्यांकहरु अधिकांश हुबहु सारिएका छन् । कृतिमा वाक्यहरु समेत हुबहु हालेको पाइएपछि प्राध्यापक चो नाष्टसँग रुष्ट बनेका हुन् ।
नाष्टका प्रविधि संकायका प्रमुख डा. रविन्द्र ढकालले यो आन्तरिक छलफलको विषय भएको प्रतिक्रिया दिए । उनले कसैको अनुसन्धानात्मक कृति कपीपेस्ट गरेर प्रकाशित गर्न नपाइने बताए । उनले भने, ‘संस्थाको नोटिसमा नआइकन कसले, कसरी, कुन कृति प्रकाशित गरिरहेको छ भन्ने काममा जवाफदेही हुन सकिँदैन । कुनै पनि रिसर्चरले कृति लेख्दा इथिकल ग्राउन्डमा उभिएर गर्नुपर्छ ।’ क्युटेकसँग आफूहरुले सम्पर्क गरिरहेको उनले जानकारी दिए ।

नाष्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलले भने क्युटेकका प्राध्यापकले पठाएको पत्रबारे अनविज्ञता प्रकट गरे ।

मेकानिकल इन्जिनियरिङमा विद्यावारिधी समेत गरिरहेका प्राविधिक अधिकृत पाण्डेले यसबारे क्युटेकलाई जवाफ दिएको र अनलाइनबाट हटाएको बताए । उनले भने, ‘नाष्ट र क्युटेकसँगको सहकार्यमा भनेर स्याटेलाइट बनाइएकाले मैले एक्नलेज दिँदा उपयुक्त हुने ठानेर त्यही गरेको थिएँ ।’

‘वैज्ञानिकहरुको संस्थामा रहेर काम गरिरहँदा कसैको कृति सिधै कपीपेस्ट गरेर हाल्न पाइन्छ ?’ भन्ने ईकान्तिपुरको प्रश्नमा पाण्डेले घुमाउरो रुपमा आफ्नो गल्ती भएको स्वीकार गरे । उनले भने, ‘वेबसाइटमा राखिएको र खुला पहुँच भएकाले त्यही तथ्यांक प्रयोग गरेँ ।’ कृति छाप्नुअघि र कन्फ्रेन्समा प्रस्तुति दिने सवालमा नाष्टलाई उनले जानकारी समेत नदिएको पाइएको छ । उनले भने, ‘अनलाइनमार्फत प्रस्तुतिकरण दिनुपर्ने भएकाले मैले अफिसलाई जानकारी दिनुपर्छ भन्ने लागेन ।’

वैज्ञानिक जगतमा अनुसन्धानकर्ताहरुलाई ‘इथिकल’ विषय ठूलो हुन्छ । कसैको कृतिलाई उल्लेख गरेर राख्न पाइएपनि हुबहु वाक्य सार्न भने पाइँदैन ।

नाष्टका प्राज्ञ एवं प्राध्यापक इमिरेटस डा. प्रमोदकुमार झाले यो विषयलाई नाष्टले गम्भीर रुपमा लिनुपर्ने बताए । उनले भने, ‘एउटा वैज्ञानिक संस्थामा यस किसिमको कार्य हुनु भनेको मुलुककै प्रतिष्ठामाथि आँच आउनु सरह हो । नाष्टले उचित कदम चालोस् ।’

वातावरण अध्येता डा. उत्तमबाबु श्रेष्ठले अन्यत्र प्रकाशित भएका कुराहरु आफ्नो नाममा राख्नु भनेको अनुसन्धानमा अनैतिक र अनुचित कार्य भएको बताए । स्थापित संस्थाबाट यस्तो काम हुनु भनेको नराम्रो भएको उनले बताए । ‘यो घटनाले नेपालको समग्र रिसर्चको प्रणालीको कमजोर नैतिक धरातल र संमिश्रणको नतिजा हो,’ उनले भने, ‘पहिला पनि यस्ता घटनाहरु हुन्थे तर कारवाही हुँदैन थिए । त्यसैले नै यसलाई सहज रुपमा लिन थालियो ।’ अगामी दिनहरुमा यस्ता समस्याको हल गर्नका लागि अनुसन्धान समिति बनाएर नियमन प्रणालीको विकास गर्नुपर्ने उनी बताउँछन् ।

अस्ट्रेलियास्थित मेक्वाइरी विश्विद्यालयमा विद्यावारिधि गरिरिहेका अनुसन्धानकर्ता सन्देश नेउपाने यो विषयलाई गम्भीर रुपमा लिनुपर्ने बताउँछन् । ‘देशकै सबैभन्दा ठूलो अनुसन्धान केन्द्रबाट यसरी अरुको अनुसन्धानात्मक लेखबाट हुबहु सारेर अनैतिक काम गरेको भनी कसैलाई पत्र मात्रै काटिनु भनेको पनि देशमा भइरहेको सबै अनुसन्धानको नैतिकतामा प्रश्न उठाउनु बराबर हो,’ नेउपाने भन्छन्, ‘यसले अग्रज अनुसन्धानकर्ताहरुलाई असर नपरे पनि देशभरीका स्नातक, स्नातकोत्तर, विद्यावारिधी र स्वतन्त्र रुपमा अनुसन्धान गर्नेहरुलाई निरुत्साहित गर्दछ ।यसले नेपाल जस्ता विकासोन्मुख देशका लागि अन्तर्राष्ट्रियस्तरमा हुने साथ र सहयोगमा समेत प्रभाव पार्छ ।’

२०७६ साल वैशाख ५ मा अमेरिकाको भर्जिनियास्थित नासाको मिड एटलान्टिक स्पेसपोर्ट लन्च प्याडबाट बिहान २ बजेर ३१ मिनेटमा नेपाली स्याट–१ सहित श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह एकसाथ प्रक्षेपण गरिएको थियो । नाष्ट र जापानको क्युटेक विश्वविद्यालयको सहकार्यमा आभास मास्के र हरिराम श्रेष्ठले उक्त स्याटेलाइट निर्माण गरेका थिए ।
-इकन्तिपुर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय