प्रधानमन्त्री एवं नेकपा (ओली समूह)का अध्यक्ष केपी शर्मा ओलीले केही नेता पार्टीबाट बाहिरिँदैमा चिन्ता गर्नु नपर्ने बताएका छन् । बिहीवार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पिलो निचोरिएर जाँदैमा चिन्ता गर्नु नपर्ने बताएका हुन् ।

समृद्धिको अभियान झन् बलियो हुने उनको दाबी छ ।

‘हामीले हुर्काएको विरुवालाई कहिले हावाहुरीले हाँगा भाचिदिन्छ, फेरि पलाउँछ,’ उनले भने, ‘तपाईंहरूले सुन्नुभएको होला – स्वर्गतिर हिँड्दाखेरि युधिष्ठिरहरू हिमालतिर लागेछन् । पहिला शहदेव ढल्यो, अर्काे नहकुल ढल्यो, अर्काे अर्जुन ढल्यो, अर्काे भीम ढल्यो, त्यसपछि युधिष्ठिर एक्लै भए, कहिले–कहिले एक्लै हुनुपर्छ ।’

राजनीतिमा एउटा ढल्यो भने सय र हजारवटा भएर निस्किने प्रधानमन्त्री ओलीले बताए ।

‘एउटा विरुवा ढल्यो भने हजारौं विरुवा भएर निस्किन्छौं । कलाकार जीवन शर्माको एउटा गीत छ – पिलो निचोरिँदैमा ओजन घटेको हुन्न । केही–केही पिलो निचोरिएर जान्छन्, चिन्ता गर्नु पर्दैन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिक (वृद्धभत्ता) लगायत लक्षित वर्गले पाइरहेको सामाजिक सुरक्षा भत्ता केही समयभित्रै ५ हजार पुर्‍याइने बताए ।

उनले मासिक १ सयबाट शुरू भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको बताए ।

ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्गता भएका व्यक्ति लगायतलाई सरकारले हेरिरहेको बताए । लक्षित वर्गलाई १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा पनि गरिएको उनले जानकारी दिए ।

बिहीवार शिलान्यास गरिएको आयोजना सम्पन्न भएपछि तराईका जिल्लामा १ लाख २२ हजार बिघा जमिनमा सिँचाइ र ३१ मेगावाट विद्युत् उत्पादन हुने प्रधानमन्त्री ओलीले बताए । लोकान्तर बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय