
सेयर कारोबारका लागि ३३ ब्रोकर कम्पनी मिलेर एउटै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) चलाउने भएका छन् । अहिले सञ्चालनमा रहेको टीएमएसप्रति गुनासो गर्दै ब्रोकरले आफ्नै लगानीमा कम्पनी स्थापना गरी टीएमएस चलाउन लागेका हुन् ।
ब्रोकरले नयाँ टीएमएस चलाउने तयारी गरेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निवेदन दिएका थिए । धितोपत्र कारोबार नियमावलीले ब्रोकरलाई आफ्नै टीएमएस चलाउने बाटो खुल्ला गरे पनि अहिलेसम्म गृहकार्य भएको थिएन । ब्रोकरले नयाँ टीएमएस चलाउनको लागि अनुमतिका लागि निवेदन दिएपछि सहमतिपत्र (एलओआई) दिइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।
‘३३ ब्रोकर कम्पनी मिलेर एउटा टीएमएस चलाउनको लागि निवेदन दिएका थिए, नेप्सेले एलओआई दिइसकेको छ, उनीहरू सञ्चालनको तयारीमा होलान्,’ पराजुलीले भने ।
नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष नरेन्द्रराज सिजापति नयाँ टीएमएसबाट अबको एक महिनाभित्रमा कारोबार सुरु हुने बताउँछन् । केही दिनअघि मात्रै अबको एक महिनाभित्रमा टीएमएस तयार हुने जानकारी आफूहरूलाई दिइएको सिजापतिले बताए ।
नयाँ टीएमएस बनाउनको लागि ३३ ब्रोकर कम्पनीको पनि लगानी रहने गरी एक कम्पनी खडा गरिएको छ । सोही कम्पनीले श्रीलंकामा अहिले सञ्चालनमा रहेको टीएमएस नेपालको लागि कष्टमाइज्ड गरेर सञ्चालन गर्ने गृहकार्य भएको छ ।
श्रीलङ्काको आइरोनोन टेक्नोलोजीले विकास गरेको सो टीएमस नेपालको कम्पनी डिजीहबले कष्टमाइज्ड गरिरहेको छ । अहिले सञ्चालनमा रहेका ५० मध्ये ३३ ब्रोकर कम्पनीले प्रतिकम्पनी १० लाख रुपैयाँ लगानी गरेर नयाँ कम्पनी खडा गरिएको हो ।
यसरी नयाँ टीएमएस सञ्चालन गर्न लागेका ब्रोकरहरूमा ब्रोकर नम्बर ३६ (सेक्युर्ड सेक्युरिटिज), ब्रोकर नम्बर १७ ( एबीसी सेक्युरिटिज), ब्रोकर नम्बर ४८ ( त्रिशक्ति सेक्युरिटिज), ब्रोकर नम्बर १४ (नेपाल स्टक हाउस), ब्रोकर नम्बर ४४ (डाइनामिक मनि मेनेजर्स सेक्युरिटीज), ब्रोकर नम्बर ५७ ( आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज), ब्रोकर नम्बर ५२ (सुन्धारा सेक्युरिटीज), ब्रोकर नम्बर ४७ (निभ सेक्युरिटीज), ब्रोकर नम्बर ३८ (दिपशिखा धितोपत्र कारोबार), ब्रोकर नम्बर २५ (स्वेता सेक्युरिटिज), ब्रोकर नम्बर ५० (क्रिष्टल कंचनजंगा सेक्युरिटिज), ब्रोकर नम्बर ४३ (साउथ एसियन बुल्स), ब्रोकर नम्बर ४० (क्रियटिभ सेक्युरिटिज), ब्रोकर नम्बर ४६ (कालिका सेक्युरिटिज) र ब्रोकर नम्बर ३३ (दक्षिणकाली इन्भेष्टमेन्ट एण्डढ सेक्युरिटिज) रहेका छन् ।
यस्तै, ब्रोकर नम्बर ५३ (इन्भेष्टमेन्ट म्यानेजमेन्ट नेपाल), ब्रोकर नम्बर ६ (अग्रवाल सेक्युरिटिज), ब्रोकर नम्बर ५४ (सेवा सेक्युरिटिज), ब्रोकर नम्बर १० (प्रज्ञान सेक्युरिटिज), ब्रोकर नम्बर ४९ (अनलाइन सेक्युरिटिज), ब्रोकर नम्बर ५५ (भृकुटी स्टक ब्रोकिङ), ब्रोकर नम्बर ३ (अरुण सेक्युरिटिज), ब्रोकर नम्बर ४ (स्टक ब्रोकर ओपल सेक्युरिटिज इन्भेष्टमेन्ट), ब्रोकर नम्बर ५ (मार्केट सेक्युरिटिज एक्सचेन्ज), ब्रोकर नम्बर ८ (आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिज), ब्रोकर नम्बर ३७ (स्वर्णलक्ष्मी सेक्युरिटिज), ब्रोकर नम्बर १९ (नेपाल इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज), ब्रोकर नम्बर २९ (त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट), ब्रोकर नम्बर ३९ (सुमेरु सेक्युरिटिज), ब्रोकर नम्बर ४१ (लिन्च स्टक मार्केट), ब्रोकर नम्बर ५९ (दिव्या सेक्युरिटिज एण्ड स्टक हाउस), ब्रोकर नम्बर ५१ (अक्सफोर्ड सेक्युरिटिज) र ब्रोकर नम्बर ३५ (कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज) ले पनि सोही टीएमएस सञ्चालन गर्ने तयारी गरेका छन् ।
बेग्लै टिएमएस बनाउन खोज्दै नासा
अहिले सञ्चालनमा रहेका ५० ब्रोकरमध्ये ३३ वटाले आफ्नै लगानीमा कम्पनी बनाएर टीएमएस सञ्चालनमा ल्याउने गृहकार्य गरिरहेको समयमा एउटा ब्रोकर कम्पनी भने एक्लै अर्काे टीएमएस सञ्चालनमा ल्याउने तयारीमा लागेको छ । यसरी बेग्लै टीएमएस सञ्चालनमा ल्याउने तयारी नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८) ले गरेको हो ।
नासाले बेग्लै टीएमएस सञ्चालनमा ल्याउनको लागि नेप्सेमा निवेदन दिएको छ । नासाले सञ्चालनमा ल्याउने भनेको टीएमएस भारतको डिओन ग्लोबल सोलुसनले बनाएको हो । सो टीएमएस नेपालका लागि एस्टेरिस्क टेक्नोलोजीले कष्टमाइज्ड गर्ने भनिएको छ ।
नासाले गत भदौ १५ गते नयाँ टीएमएस सञ्चालनको लागि नेप्सेमा निवेदन दिएको थियो । नासाले निवेदन दिएपनि आवश्यक कागजात नपुगेकोले अझै पनि एलओआई नदिएको नेप्सेले बताएको छ ।
श्रीलंका गएर हेरेका थिए ब्रोकरले
अहिले सञ्चालनमा रहेकामध्ये ३३ ब्रोकरले चलाउने गृहकार्य बनाएको श्रीलंकाली कम्पनीले बनाएको टीएमएसका बारेमा केही वर्षअघि ब्रोकरहरु श्रीलंका नै गएर हेरेका थिए । ब्रोकर एसोसिएसनका तत्कालीन अध्यक्ष पृयराज रेग्मीको नेतृत्वमा गएको टीमले अध्ययन गर्दा नेपालको सन्दर्भमा केही कस्टमाइज्ड गरेर चलाउन सकिने निष्कर्ष निकालेपछि ब्रोकरहरु सो टीएमएस सञ्चालनको गृहकार्यमा लागेका हुन् ।