अर्थतन्त्रको मेरुदण्ड उद्योग हो ।
कोशी प्रदेशको राजधानी विराटनगर औद्योगिक सहर पनि हो ।
नेपालकै पहिलो औद्योगिक सहर भइकन पनि विराटनगर यतिबेला अन्य ५ सहरभन्दा पछि छ । संघीयताको विकाससँगै उद्योगधन्दा, कलकारखाना बढ्ने, रोजगारी सिर्जना हुने र उत्पादन बढ्ने धेरैको अपेक्षा छ र थियो ।
केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षण अनुसार कोशी प्रदेशमा १२ हजार उद्योग प्रतिष्ठानमा एक खर्ब ३३ अर्ब लगानी छ । जसमा ७३ हजार मजदुर संलग्न छन् ।
तथ्याङ्क कार्यालयका अनुसार कोशी प्रदेशमा खानी तथा उत्खनन्का २३ उद्योग छन् । औद्योगिक उत्पादन गर्ने ठूला उद्योगहरु ९०५ र साना उद्योग १० हजार ७२१ वटा छन् । यस्तै विद्युत् तथा ग्याँसजन्य २२८, पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापनका ३४८ वटा उद्योग तथा प्रतिष्ठान गरेर जम्मा १२ हजार २२५ वटा उद्योग सञ्चालनमा छन् ।
तथ्याङ्क विभागले जम्मा खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत् ग्याँस, बाफ र बतानुकूलित सेवा र पानीको आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरु सञ्चालन गर्ने भनेर वर्गीकरण गरेको छ ।
तथ्याङ्क अनुसार कोशी प्रदेशका यी उद्योग प्रतिष्ठानहरुमा ९५ हजार ९६४ मानिस संलग्न छन् । यो संख्या भनेको एक उद्योग बराबर औसत ७.८ जना हो । यस्तै प्रतिष्ठानमा ७३ हजार ९१८ जना रोजगार छन् । प्रति प्रतिष्ठान रोजगार संख्या ६ जना छ । सबै उद्योग प्रतिष्ठानबाट वार्षिक उत्पादन २ खर्ब ४८ अर्ब ५६ करोड १७ लाख ४६ रुपैयाँ बराबरको हुने गरेको छ । जसका लागि वार्षिक लागत १ खर्ब ७७ अर्ब १७ करोड १ लाख ७९ हजार रुपैयाँ छ । जसमा वार्षिक मूल्य अभिवृद्धि मात्रै ७१ अर्ब ४० करोड १५ लाख ६७ हजार रुपैयाँ हुने गरेको छ ।
सोही तथ्याङ्क अनुसार कोशी प्रदेशमा मात्रै सन्दर्भ अवधिको अन्त्यमा रहेको उद्योगको स्थायी सम्पत्तिमात्रै १ खर्ब ३३ अर्ब ४६ करोडभन्दा बढीको छ । तथ्याङ्कमा देखाइए अनुसार प्रतिव्यक्तिले १ वर्षमा औसत उत्पादन २५ लाख ९० हजार २ सय रुपैयाँको गर्दछ र उत्पादन लागतको अनुपात १ दशमलव ४० छ ।