प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्रीले कहिल्यैपनि मन्त्रीहरु फेर्छु वा पूनर्गठन गर्छु भनेर नभनेको स्पष्ट पारेका छन् । उनले जुन दिन आवश्यक पर्छ त्यो दिन प्रधानमन्त्रीले मन्त्रीहरु फेर्ने पनि बताए । शनिबार विहान नेपाली रेडियो नेटर्वकको नियमित कार्यक्रम “नेपाली बहस”मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । प्रस्तुत छ पत्रकार धमलाले रिमालसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्रीले जनताको मत जित्नेगरि कस्तो कार्यक्रमहरु ल्याउँदैछन् ?

प्रधानमन्त्रीको नीति तथा कार्यक्रम, बजेट त्यतिकै बीचमा आउने कुरा होईन् । हामीले जुन नीति तथा कार्यक्रम संसदबाट पारित गर्यौं । त्यसलाई नै लागु गर्ने हो । यो बीचमा गरिने काम भनेको त बजेट आईसकेको छ । बजेट आएको चार महिना भैसक्यो । यो बीचमा ठूला ठूला परियोजनाहरु छन् । त्यसलाई टेण्डर लगाउने काम भएको छ । ती विषयहरुलाई अघि बढाउने हो ।

प्रधानमन्त्रीको संकल्पमा अहिले तुषारापात लागेको हो ?

हामी अहिले ठीक बाटोमा छौं । हामी ठीक बाटोमा रहेको कुरालाई जनताले अर्कै ढंगले बुझेकी भन्ने मेरो चिन्ता हो । किनभने हामीले जे नीति तथा कार्यक्रम घोषणा गर्यौं । ती सबै सुशासन र समृद्धिकै पक्षमा छन् । जस्तो उदाहरणको लागि हामीले बाटोको कुरा गर्यौं होला । रेलको कुरा गर्यौं होला । बिजुलीको कुरा गर्यौं । कुनैबाटपनि पछि फर्किएका छैनौं । विगतमा जे जे कुरा प्रधानमन्त्रीले भन्नुभयो । तिनै कुराहरु अब विस्तारै लागु गर्दै जाने हो । भ्रष्टाचारको कुरामा पनि त्यही हो । सुशासनको कुरामा पनि त्यही हो । हामी अहिले प्रणाली बनाउँदैछौं । जग हाल्दै गर्दा घर अग्लो देखिँदैन् । अहिले हामी जग खनिसकेको चरणमा छौं ।

नेकपाकै नेता वामदेव गौतमले वर्तमान प्रधानमन्त्रीले घोषणापत्रअनुसार काम गर्न सक्नुभएन भनेर आरोप लगाउनुभएको छ नि ?

हामीले घोषणपत्रमा जे लेखेका छौं । त्यही नै कुरा सरकारको नीति तथा कार्यक्रममा प्रतिबिम्वित भएको छ । नीति तथा कार्यक्रमलाई सघाउनको लागि बजेट आएको छ । बजेटमा राखेका कार्यक्रमहरुलाई हामीले कार्यान्वयन गर्दैछौं । हामी सबैले बुझ्नुपर्ने कुरा के हो भने पहिलेको र अहिलेको प्रणालीमा भीन्नता छ। पहिले भनेको सानो एउटा गाउँको कार्यक्रमपनि केन्द्रबाट जाने हो । अहिले भनेको बजेट नै तीन भागमा बाँडिएको छ । यदि स्थानीय तहमा काम भएको छैन भने त्यसले गरेन भनेर देखिनुपर्यो । प्रदेशमा काम भएन भने त्यसले काम गर्न सकेन भनेर बुझ्नुपर्छ । नीति तथा कार्यक्रममा उल्लेख भएका कुराहरु घोषणापत्रभन्दा फरक र पृथक हुन भनेर बुझ्न थाल्यौं भने कुरा बिग्रिन्छ नि ।

हामी घोषणापत्रबाट तलमाथि रहँदै रहेनौं । यो सरकारले नीति तथा कार्यक्रम ल्याउँदा पार्टीका कोही पनि नेताहरुले र जनताले घोषणापत्रभन्दा पृथक आयो भनेर भन्नुभएको छैन् । हो, बजेटको सन्दर्भमा सामाजिक सुरक्षाको विषयमा राहत दिने कार्यक्रम आओस् भन्ने चाहानुहुन्थ्यो ।

तर, बजेट जसरी आयो त्यसले जनताको मन छुन सकेन ? निर्वाचनमा बाँडेका सपनाहरु पूरा गर्नुपर्ला नि ?

हामीले संघीयतामा जान्छौं भन्यौं । वित्तिय प्रणालीमा जान्छौं भन्यौं । उठेका जतिपनि राजश्व हुन्छन् । त्यसलाई आदि माथि राख्छौं । र, आदि चाहीँ प्रदेश र स्थानीय तहलाई दिन्छौं । हामीले स्वास्थय बिमाको कुरा गरेका थियौं । त्यसलाई त हामीले लागु गर्ने चरणमा पुगेका छौं । अब हप्ता २० दिनभित्र देशैभरि स्वास्थ्य बिमा कार्यक्रम लागु हुन्छ । दोस्रो विषय, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रहेर रोजगारको काम दिन्छौं भनेका छौं । मेरो बिचारमा यो पनि हप्ता २० दिनभित्रमा सबै काम सकिन्छ । सरकारले जनतासामू राखेको बाचाहरु पूरा गरेन भनेर अहिल्यै नै भन्नु चाहीँ हतारो हुन्छ । विकासको कुरा गर्नुहुन्छ भने त हामीले पानीजहाजदेखि रेलसम्मका कुरा बाँकी नै राखेका छैनौं । कतिपय कुरामा कानुनहरु बनाउँदैछौं । कानुन नबनेका कुरामा बनाउन लागिपरेका छौं । जेष्ठ नागरिक भत्ता ५ हजार पुर्याउन सक्नुभएन नि भनेर धेरैले प्रश्न सोध्नुभएको थियो । यसको जवाफ प्रधानमन्त्रीले धेरै ठाउँमा दिइसक्नुभएको छ । हामीले आउने आर्थिक वर्षमा यो विषयको पनि सम्बोधन गर्छौं भनेकै छौं ।

मन्त्रीहरुले भनेजस्तो काम गर्न सकेनन्, अब मन्त्रिमण्डल पूनर्गठन गर्ने कुरापनि चलेको छ त ? यससम्बन्धमा प्रधानमन्त्रीको के छ विचार ?

यो त आँफै पोख्ने, आँफै उठाउने कुराजस्तो भयो । प्रधानमन्त्रीले कहिल्यैपनि मन्त्रिहरु फेर्छु वा पूनर्गठन गर्छु भन्नुभएको छैन् । घोषणा गरेर तलाई १० दिनपछि मन्त्रीबाट हटाउँछु भनेर भन्छ । हामीलाई मन्त्रीको काम चित्त बुझेन भने तुरुन्त फेर्छौं । अब दश दिन बाँकी । तीन बाँकी भनेर प्रधानमन्त्रीले मन्त्री फेर्नु हुन्न । सरकार जनताको मन जित्नेगरि अघि बढिरहेको छ । मुखले बोलेरभन्दापनि कामले गरेर देखाउने कुरा हो । सरकार अहिले त्यही दिशामा अघि बढिरहेको छ ।

राजपाले छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु भनेको छ नि ?

त्यो त उहाँहरुको कुरा हो । ठूलो कुरा रहेन । समर्थन गर्दिन भन्दैमा हामीलाई केही फरक पर्दैन् । सबै पार्टीहरु सत्तापक्ष भएर हिँड्दापनि हुन्छ ।

रिपोटर्स नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय