भारतमा नरेन्द्र दामोदरदास मोदी उदाउनुमा उनको कट्टर राष्ट्रवाद प्रमुख कारण थियो । राष्ट्रवादलाई प्राथमिकतामा राख्ने अटल विहारी वाजपेयीका चेला मोदी हिन्दुवादी संगठन राष्ट्रिय स्वयं सेवक संघका उत्पादन हुन् । राष्ट्रवादलाई उच्च महत्व दिने स्कुलिङका मोदीले भारतको राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठान्ने गर्छन् । चाणक्यबाट अति प्रभावित उनले कुनैबेला चीनको साथ लिएर गुजरातको विकासमा भूमिका खेले । यतिसम्मकी चिनियाँ राष्ट्रपति सी जिङपिङ मोदी सत्तामा आएपछि भारत भ्रमण गर्दा सिधैँ गुजराज उत्रिए । पछिल्लो समय मोदी पश्चिमाहरूसँग सामिप्यता बढाउँदै छन् । चिनियाँहरूले भारतमा लिन खोजेको विकासका ठूला आयोजनाहरू लिन पाएनन् । द्रुत गतिको रेल निर्माणमा जापानले निर्माणको सम्झौता ग¥यो । यसबाहेक अमेरिका र यूरोपेली देशहरूसँग मोदीले विकाससम्बन्धी सम्झौताहरू गरे । यसमा मोदीको राष्ट्रिय स्वार्थ मुख्य कारण थियो ।  मोदी भारतका लागि जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन् भन्ने पछिल्लो समय नगदरहित कारोबार गराउने महत्वाकांक्षी योजनाबाट पुष्टि हुन्छ । चौतर्फी दबाब र आलोचनाका बाबजुद उनले हजार र पाँच सय दरका नोटबन्दी गरेर दुई हजार दरको नोट बजारमा ल्याउन लगाए । कालो धनमाथिको आक्रमण थियो त्यो । क्षेत्रीय प्रतिष्पर्धी पाकिस्तानसँग कडा नीति लिए । यतिसम्मकी भारतका कारण पाकिस्तानमा हुनुपर्ने सार्क सम्मेलन स्थगित भयो । भारतको ध्यान सार्कभन्दा विश्वस्तरका अन्य संगठनतर्फ गयो । यी सबै रणनीतिमा मोदीको राष्ट्रिय स्वार्थले भूमिका खेल्यो । कुनै पनि देशका लागि त्यो देशको स्वार्थभन्दा ठूलो अरु हुनुहुँदैन । यो यथार्थ हो । महात्मा गान्धीले शान्तिको सन्देश विश्वभर दिए पनि उनले भारतको स्वार्थमा केन्द्रित भएर भूमिका खेलेका थिए ।  भ्लादिमिर पुटिनको अमेरिका र यूरोपेलीले जतिसुकै आलोचना गरे पनि रूसका लागि उनी नायक सावित भए । पुटिनले रूसको स्वार्थका लागि जोखिम मोले । अमेरिका र यूरोपको चुनौती सामना गरे । तेलको मूल्यमा गिरावट आउँदासमेत तेलमा आश्रित अर्थतन्त्र धराशायी हुँदा डगमग भएनन् । शितयुद्धपछि विभाजित भई कमजोर बनेको रूसको पुनर्उदय गराए । क्रिमियामाथिको रूसको अघोषित कब्जाको विरोध भए पनि पुटिन राष्ट्रिय स्वार्थको रक्षार्थ आफ्ना योजनामा निरन्तर लागिपरेकै छन् । बाराक ओबामासँगको तिक्तताको जवाफ अमेरिकी चुनावमा देखाइदिए । उनीमाथि डोनाल्ड ट्रम्पलाई जिताउन र हिलारी क्लिन्टनलाई हराउन मुख्य भूमिका खेलेको आरोपसमेत लाग्यो । त्यसको प्रमाण अमेरिकी गुप्तचर संस्था सीआइएका अधिकारीहरूले समेत खुलेआम बोलेका थिए ।  अमेरिकी चुनाव जितेका ट्रम्पका उग्र राष्ट्रवाद संसारभर आलोचित छ । तर, उनी अमेरिकी हितरक्षार्थ मात्र काम गर्ने उद्घोष गर्दै चुनाव जितेका हुन् । अमेरिकालाई काम लाग्ने र माया गर्ने बाहेकलाई अमेरिकामा नराख्ने र प्रवेश नदिने घोषणा गरेका थिए । राष्ट्रपति निर्वाचित भएपछि वाचा पूरा गर्न केही मुसलमान देशका नागरिकलाई अमेरिका प्रवेशमा ९० दिनका लागि रोक लगाइसके । मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने र त्यसका लागि लाग्ने खर्च मेक्सिकोले व्यहोर्नुपर्ने बोलेका थिए । अहिले त्यसमा जोड दिइरहेछन् । रूससँगको सम्बन्धमा सुधार गर्ने ट्रम्पको उद्देश्य बमोजिम पुटिनसँगको छलफल अगाडि बढिसकेको छ । ट्रम्पले चुनाव जित्नुमा अमेरिकीहरूको हितमा कठोर कदम चाल्ने प्रतिवद्धता मुख्य कारण थियो । व्यापारिक पृष्ठभूमिका उनले विवादास्पद विगत हुँदाहुँदै चुनाव जित्नुमा राष्ट्रवादी चरित्र नै सहायकसिद्ध बन्यो । अमेरिकालाई पुनः महान् बनाउने नारालाई सार्थक तुल्याउन अमेरिका बाहिर पुगेका कम्पनीहरूलाई फिर्ता ल्याउन खोज्दैछन् । यसबाट अमेरिकाभित्र रोजगारीको अवसर बढाउने योजना बनाएका छन् । विदेशी उत्पादनमाथि कर बढाउने नीतिअगाडि बढाइसके । यसरी अमेरिकाभित्र राष्ट्रवादको धार जबर्जस्त ट्रम्पको नीतिमार्फत् सरेको छ । उनी कुनै हालतमा पछाडि फर्कने पक्षमा छैनन् । अमेरिकाको लागि जस्तोसुकै कठोर कदम चाल्न तयार हुने संकेत गरिसके ।  ओली राष्ट्रवाद संसारभर राष्ट्रवादको धार बलियो हुँदै गर्दा नेपालमा पनि राष्ट्रवाद जबर्जस्त उठेको छ । यसको नेतृत्व केपी शर्मा ओलीले लिएका छन् । कम्युनिष्ट पार्टीका नेता ओलीले छिमेकीको दबदबाको सामना गरे । भारतको दबाब सामु नझुक्ने नीति लिए । ओलीलाई प्रधानमन्त्री बन्नबाट भारतले रोक्न खोजेको थियो । तर, देशभित्र जागेको राष्ट्रवादको धारका कारण ओली प्रधानमन्त्री भएका थिए । उनलाई हटाउन विदेशी शक्तिले लामो चलखेल गरे । ओलीलाई झुकाउने कोशिश भयो । उनी प्रधानमन्त्रीको कुर्सी त्याग्न तयार भए तर झुक्न तयार भएनन् । प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दासमेत कहिले शिर झुकाएनन् । शिर ठाडो पारेर अडान लिएरै गए, लिएरै फर्किए । संविधान संशोधनमा जे जति दबाब आए पनि ओली टसमस भएनन् । नेपालको भविष्यमाथि चुनौती आउनसक्ने कुनै पनि नीति नलिने प्रष्ट अडान राखेर फर्किए । ओलीलाई सत्ताबाट हटाउन लामै कसरत भयो । तर, उनको राष्ट्रवादी धारले जित हासिल ग¥यो ।  कुनैबेला हसियाँ हथौडाको झण्डामा केन्द्रित हुने नेकपा एमालेले ओलीको राष्ट्रवादपछि राष्ट्रिय झण्डामा आफूलाई केन्द्रित गरिसकेको छ । भन्नेहरूले यसलाई पहाडवादी सोचको आरोप लगाए । तर, मधेसदेखि हिमालसम्म ओलीको राष्ट्रवादप्रति समर्थन छ । अहिले राष्ट्रवादको तरंग मधेसमा समेत फैलने डरले ओलीलाई मधेसमा रोक्ने चलखेल भइरहेका छन् । लोकतन्त्रमा निषेधको राजनीति स्वीकार्य छैन । तर, जनाधार नभएका केही मधेसवादी दलहरूले निषेधको राजनीति अपनाइआएका छन् । मधेसी जनता झन् राष्ट्रवादी बन्दै गएबाट कथित मधेसका मसियाहाहरू अत्तालिएका छन् । विदेशीको इशारामा चलेकाहरू नांगिँदै गएबाट मधेसी जनताबाट खेदिने अवस्था निर्माण हुँदैछ । ओलीले हिमाल, पहाड र तराईलाई बिच्छेद बनाउन खेललाई बुझेर त्यसको सामना गरेका छन् । कुनैबेला उनले विदेशी भूमिबाट देशमा हिंसा मच्चाउने माओवादीसँग जुधेका थिए । अहिले नेपाललाई रूवान्डा र इथियोपिया जस्तो जातीय हिंसा र विभाजनको अवस्थामा पु¥याउने षड्यन्त्रलाई परास्त गर्ने कदम चालिरहेका छन् । उनले आफूलाई सच्चा राष्ट्रवादी नेताका रूपमा उभ्याएका छन् ।  कुनैबेला कार्ल माक्र्सको आदर्शबाट दीक्षित ओलीको नशा नशामा राष्ट्रवादको रगत बगिरहेछ । उनले पृथ्वीनारायण शाह र भीमसेन थापाको आदर्शलाई उत्तिकै आत्मसाथ गर्न आह्वान गरेका छन् । केबुलकार चढेर चन्द्रागिरि पुगेपछि त्यहाँ जुँगा भएका पृथ्वीनारायण शाहको शालिक राख्न चन्द्र ढकाललाई भनेका थिए । देशको एकीकरण गर्ने र विदेशी आक्रमणबाट जोगाउने पुर्खाको सच्चा सम्मान गर्नुपर्ने ओलीको जोड रहँदै आएको छ । उनले चीनसँग महत्वपूर्ण सम्झौताहरू गरे । जसमध्ये पारवहनसम्बन्धी सम्झौताले तरंग ल्यायो । नेपाल सार्वभौम मुलुक भएकाले आफ्नो हितका लागि जुनसुकै मित्रशक्तिसँग सन्धी–सम्झौता गर्न रोकतोक हुनुहुँदैन । ओलीले यही धारलाई व्यवहारमा उतारे । चीनबाट रेल काठमाडौंसम्म आउँदा अर्को छिमेकीलाई आपत्ति हुनुहुँदैन । भारतलाई पनि काठमाडौंसम्म रेलमार्ग जोड्ने प्रयासमा नेपालको समर्थन हुनेछ । अहिले बेइजिङबाट ल्हासा हुँदै सिगात्सेसम्म जोडिएको रेलमार्ग केरुङसम्म आउने चर्चा छ । केरुङसम्म रेल आएपछि नेपालतर्फ विस्तार गर्ने चिनियाँ योजना छ । चिनियाँ पक्षले त्यसतर्फ नेपाली पक्षलाई सहमत हुन जोड दिइरहेछ । भारतको दबाब थेग्नसके रेल काठमाडौंसम्म आउनसक्छ । ओलीमा मात्र त्यस्तो दबाब थेग्ने सामथ्र्य छ । उनले सत्ताबाट बाहिर जानुपर्ला भनेर देशको हितलाई बिर्सेर बढेनन् । देशको हित सर्वोपरी ठाने । नेपाल भारतवेष्ठित बन्दै आएको छ । इतिहासको लामो कालखण्डको क्रमभंग गर्दै दुवै छिमेकीतर्फको ढोका खोलेर आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यमा ओली बढे ।  अहिले विदेशीलाई नागरिकता दिलाउनेदेखि नेपालमा हालीमुहालीको ठाउँ दिने षड्यन्त्रहरू भएका छन् । त्यसको सामना ओलीले गरेर देखाए । सत्ता टिकाउन र सत्ता पाउन अन्य दलहरू देशलाई दाउमा राख्न पुगे । तर, ओली डगमगाएनन् । कुनै पनि षड्यन्त्रको सामना गर्ने अठोट गरे । जसरी नरेन्द्र मोदीले भारतको स्वार्थमा काम गरे, ट्रम्प अमेरिकी हितरक्षाका लागि कठोर कदम चाल्न थाले त्यसरी नै नेपालका नेताहरूले साहस देखाउनुपर्छ । तर, त्यस्तो सामथ्र्य ओलीमा मात्र देखियो । विश्वभर जागिरहेको राष्ट्रवादको धारलाई नेपालमा फैलाउन भूमिका खेले । जात, क्षेत्र र सम्प्रदायभन्दा देश ठूलो हो भन्ने भावना फैलाइरहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय