लक्की शेर्पा, अष्ट्रेलियाका लागि नेपाली राजदूत । आफ्नै सहयोगीलाई ठगेको आरोपमा यतिखेर उनी चर्चामा छिन् । यद्यपी शेर्पाले भने आफूले राम्रो काम गर्न खोजेपछि केही समूह योजनाबद्धरुपमा आफूविरुद्ध लागेको दावी गर्छिन् । लक्कीका सहयोगीले भने उनीमाथि पैसा ठगेको गम्भीर आरोप लगाएका छन् । नेपाल सरकारमाथि उनीलाई बर्खास्त गर्न समेत ठूलो दबाब परेको छ । यही सन्दर्भममा नेपाल साप्ताहिकले राजदूत शेर्पासँग समसामयिक आरोप प्रत्यारोपका विषयमा लिएको अन्तर्वार्ता सान्दर्भिक हुने देखेर यहाँ साभार गरेका छौं ।

आफ्नै सहयोगी वाङ्छु शेर्पाले मानव तस्करीको आरोप लगाएपछि विवादको चुलीमा छिन्, अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पा । स्पष्टीकरणका लागि काठमाडौँ तानिएकी शेर्पा कहिले बर्खास्तीमा परेको त कहिले राजीनामा दिएको हल्ला चलिरहेका छन् । उनको राजीनामा र बर्खास्तीबारे प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालयबीच परस्पर विरोधी धारणा आइरहेका छन् । शेर्पाका गतिविधिबारे परराष्ट्र मन्त्रालयले छानबिन समिति बनाए पनि अहिलेसम्म कुनै निर्णय भने भइसकेको छैन । यिनै विवादित राजदूत शेर्पासँग नेपालकर्मी योगेश ढकालको कुराकानी :

राजदूतजस्तो गरिमामय पदमा भएको तपाईंमाथि मानव तस्करीको आरोप लाग्यो, त्यो पनि आफ्नै सहयोगीमार्फत । परराष्ट्र मन्त्रालयले छानबिन पनि गर्‍यो । राजदूतजस्तो व्यक्ति किन यस्तो काममा लाग्नुभयो ?

ममाथि लागेको मानव तस्करीको आरोप कति सत्य हो भन्ने प्रस्ट हुन जरुरी थियो । त्यो प्रस्ट नहुँदै विभिन्न मिडियाबाट थप आरोपित गर्ने काम भयो । एक जना विवादास्पद व्यक्तिले लगाएको आरोपको भरमा ममाथि यति धेरै यातना दिइयो कि त्यसको हिसाबकिताबै हुन सक्दैन । हो, मैले लगेका एक सहयोगी बदमास परेछ । उनको पृष्ठभूमि गहिरोसँग नबुझी लगेँ । सरकारी नियमअनुसार दुई सहयोगी लैजान पाइन्थ्यो । मैले एक जना मात्रै लगेँ, वाङछु शेर्पालाई । वास्तवमा ऊ खाना पकाउन, गाडी चलाउन सबै काम गर्न सक्ने थियो । त्यसैले पनि मैले ठीकै छ भनेर लगेकी हुँ । तर त्यही व्यक्तिले मलाई मानव तस्करीको आरोप लगायो ।

सुरुका दिनमा सामान्य व्यवहार देखाए पनि उसले एक महिनापछि नै शंकास्पद व्यवहार देखाउन थालेको थियो । जब म ओहोदाको प्रमाणपत्र बुझाउन न्यूजिल्यान्ड गएँ, त्यतिबेला नै ऊ सबै सामान लिएर भागेछ । यो घटना २१ नोभेम्बर २०१७ को हो । त्यतिबेलासम्म धेरैलाई ठगिसकेको रहेछ । अनि पीडितलाई फेसबुकमा ब्लक गरेछ । त्यतिबेला नै मैले नेपालको परराष्ट्र मन्त्रालय, सीआईबी र अस्ट्रेलियाको सरकारलाई जानकारी गराएकी थिएँ । हामी २०१७ को जुनमा अस्ट्रेलिया गएका थियौँ । जुलाईमै उसको खातामा १० हजार अस्ट्रेलियन डलर जम्मा भएको देखियो । त्यो उसले अस्ट्रेलियामा मान्छे ल्याउँछु भनेर जम्मा गरेको रकम रहिछ । नेपालमा पनि उसकी श्रीमतीले पैसा उठाउने गरेकी रहिछ । यसबारे हामीलाई जानकारी भएन । ऊ भागेपछि पीडित सम्पर्कमा आए अनि मात्र थाहा भयो । उसले अस्ट्रेलियामा काम लगाइदिने भनेर जति पनि कागजात बनाइदिएको थियो, ती सबै नक्कली थिए । भिसाको डकुमेन्ट पनि नक्कली बनाएको रहेछ । फेक डकुमेन्ट बनाएको थाहा हुन्छ भनेर ‘पैसा उठाउनेलाई अरूसँग सम्पर्क नगर्नू’ भनेको रहेछ । पीडितलाई नेपालमा उजुरी गर्न भन्यौँ । हामीले पनि पत्र लेखेर मन्त्रालय जानकारी गरायौं । तर अहिले उसैले हामीमाथि यस्तो आरोप लगायो ।

सहयोगीले राजदूतमाथि त्यति सजिलै कहाँ आरोप लगाउन सक्छ ? सबै नबुझी, विश्वास नगरेको मान्छेलाई सहयोगी बनाएर लैजाने कुरा हुन्छ र ?

मेरो कमजोरी भनेको उसलाई छिट्टै विश्वास गर्नु हो । मेरा श्रीमान् शेर्पा संघको महासचिव हुनुहुन्थ्यो । कामको सिलसिलामा उहाँसँग सम्पर्क बढाएको वाङछुले काम गरेरै विश्वास दिलाएको हो । सबै काम सहज रूपमा परिपक्व गर्ने । सुरुमा त मैले हुन्न भनेकी पनि हुँ । तर श्रीमान्ले राम्रो छ भनेपछि लैजान तयार भएँ । हुन त, अस्ट्रेलिया पुग्दादेखि नै उसको गतिविधि शंका लागेको थियो । कार्यकाल सकिएपछि यतै बस्न सकिन्छ/सकिँदैन भनेर सोधेको थियो । मैले मिल्दैन भनेँ । त्यसपछि उसले भाग्ने योजना बनाएको रहेछ । भागेर राजदूतलाई आरोप लगाएपछि पीआर पाउन सजिलो हुन्थ्यो । त्यसैले ममाथि आरोप लगाएको हो ।

उसले ठगी गरेको बारेमा किन केही बताउनुभएको छैन त ?

हामीले थाहा पाएअनुसार उसले २२/२३ लाख रुपैयाँ ठगेको छ । अस्ट्रेलियन दूतावासबाट भागेपछि पीडितहरू कानुनी उपचारमा क्रममा वैदेशिक रोजगार विभागमा पनि पुगेका रहेछन् । पछि काठमाडौँ जिल्ला अदालतसम्म मुद्दा पुग्यो । र, अदालतले पक्राउ आदेश गरेको थियो । त्यही ठगीको मुद्दामा उसकी श्रीमती जेलमा छ । त्यसपछिको आक्रोश हो, मेराविरुद्ध । वाङ्छुले फेक नागरिकतासमेत बनाइदिएको रहेछ । नाइजेरियाबाट अमेरिका जाने भनेर हब्सीलाई पैसा खुवाएको रहेछ, बल्ल त्यस्तो प्रमाण देखियो । भूकम्पपीडितलाई ट्याक्सी दिलाइदिने भनेर पाटनका केही व्यक्तिलाई पनि ठगेको रहेछ । यी सबै कुरा पहिले हामीलाई थाहा भएन । मेरो कमजारी भनेको यसलाई बढी विश्वास गर्नु र विगत अध्ययन नगर्नु हो । अहिले त एकोहोरो मेराविरुद्ध मात्रै समाचार आइरहेका छन् । कसरी भनौँ आफ्नो कुरा ?

वाङ्छु भागेको एक वर्षसम्म यो कुरा गुपचुप नै रह्यो । अहिले एक्कासि फेरि किन चर्चामा आयो ?

यसमा ठूलै गिरोह मेराविरुद्ध लागेको छ । त्यो समय आएपछि भनौँला । उसले खासचाहिँ अस्ट्रेलियाको पीआरका लागि गरेको हो । उसले तलब नदिएको, दुव्र्यवहार गरेकोलगायत आरोप लगाएर अस्ट्रेलियन सरकारलाई निवेदन दिएको रहेछ । मलाई त्यहाँको सरकारले यसबारे सोधेको थियो । मैले सबै जानकारी दिएँ । त्यतिबेला त्यहाँको सरकारले मसँग ‘वाङ्छु बदमास रहेछ, निर्धक्कसँग काम गर्नू’ भनेको थियो । राजदूतबाट पीडित भएको आरोप लगाएपछि त्यहाँको पीआर पाउने सम्भावना हुन्थ्यो । गत सेप्टेम्बरमा पाकिस्तानी दूतावासको एक कर्मचारीले त्यस्तै आरोप लगाएर पीआर पाएको थियो, अस्ट्रेलियन सरकारबाट । त्यही सिको गरेको रहेछ । अगस्तमा त्यहाँको सरकारले वाङ्छुको अन्तर्वार्ता लिएको रहेछ । त्यतिबेला मेराविरुद्ध केही पनि बोलेको छैन । तर सेप्टेम्बरमा भने विभिन्न आरोप लगाएको छ ।

तपाईंको संलग्नता नभएको भए नेपाल सरकारले किन बोलाउँथ्यो नि ?

उसको आरोपपछि सरकारले बोलाएर म नेपालमा आएकी हुँ । यसमा पनि मलाई अन्याय भएको छ । छानबिनका लागि देशको राजदूतलाई बोलाएर सोधपुछ गर्ने तर आरोप लगाउने व्यक्तिलाई स्काइपबाट कुराकानी गरियो । उसलाई नेपालमा ल्याएर र छानबिन गर्नुपर्छ ।

परराष्ट्र मन्त्रालयका पदाधिकारीबाहेक तपार्इंले नेपाल आएपछि शीर्ष नेताहरूलाई भेट्नुभयो ?

मैले शीर्ष नेताहरूसँग भेट गरेकी छु । परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरिरहेकी छु । आरोप लागेको हो, पुष्टि भएको होइन । मेराविरुद्ध ठूलै समूह लागेको छ । अहिलेसम्म उहाँहरूले यही गर्नू भन्नुभएको छैन । फेरि एक पटक भेटेर कुरा गर्छु अनि टुंगोमा पुगिन्छ ।

को हो त तपाईंविरुद्ध लाग्ने समूह ?

केही मान्छेले वाङ्छुलाई उचालेका छन्, मेराविरुद्ध । केही उताका छन्, केही यताका छन् । केही एजुकेसन कन्सल्टेन्सी पनि मेराविरुद्ध लागेका छन् । कन्सल्टेन्सीहरूले पठाएका विद्यार्थीले धेरै दु:ख पाएका छन । आत्महत्या गर्ने विद्यार्थीको संख्या बढेको छ । ‘फेक म्यारिज’ बढेको छ । त्यसलाई व्यवस्थित गर्ने प्रयास गरेकी थिएँ । त्यसपछि उनीहरू रिसाएका हुन सक्छन् । अस्ट्रेलियाकै केही समूह पनि मेराविरुद्ध लागेका छन् । कसैलाई राजदूत भएर जानुपर्ने होला । नेपालमा कम्युनिस्ट सरकारको हल्ला गराएर पनि उसलाई उचालिरहेका छन् ।

नैतिक रूपमा राजीनामा गर्नुपर्ने अवस्था त हो नि ?

राजीनामा गर्ने/नगर्ने मैले सोचिसकेकी छैन । केही दिनपछि पत्रकार सम्मेलन गरेर सबै जानकारी गराउँछु । त्यसपछि के गर्ने भन्ने निर्णय हुन्छ । तपाईंले भनेजस्तै पद मात्रै ठूलो कुरा होइन ।

छानबिन प्रतिवेदन नै आएपछि नैतिक दबाब बढेको छैन र ?

छानबिन प्रतिवेदनले पनि केही भनेको छैन । छानबिन समितिले पनि हामी दुई जनाको भनाइ मात्र समेटेर प्रतिवेदन तयार गरेको छ । के गर्ने भनेर सुझाव दिएको छैन ।

तपाईंको भ्वाइस रेकर्ड नै गरेको छ रे नि ?

त्यो फरक प्रसंगको कुरा हो । उसले ठगी गरेको रकम कसैलाई नदिएपछि त्यो रकम किन नदिएको भनेर मैले भनेको कुरा रेकर्ड गरेको रहेछ । त्यही कुरा बंग्याएर दुरुपयोग गरेको हो ।

तपाईं तीन करोड बुझाएर राजदूत भएको भन्ने कुरा पनि आयो नि ?

मसँग त्यतिका रकम भएको भए त बैंकमा राखेर खान्थेँ । पार्टीमा गरेको योगदानका आधारमा म राजदूत भएकी हुँ ।

तपाईं त सिफारिस हुँदैदेखि विवादित हुनुभयो नि ?

सिफारिस गर्दा पैसा बुझाएर भएको भनेर आरोप लगाए । त्यस्तो त लगाउँछन् नै । राजनीतिक कार्यकर्ताको पक्षविपक्ष हुन्छन् । नेपालमा आरोप नलागेको को छ र ? कूटनीतिक क्षेत्रमा म एक्लो होइन आरोप लागेको ।

अस्ट्रेलियामा के–के गर्नुभयो त ?

नेपालका लागि दूतावासको जग्गा खरिद गरियो । १३ रोपनी जग्गा २१ लाख डलर पर्ने जग्गा १२ लाख डलरमा किनाएँ । नेपाली विद्यार्थीलाई सहयोग गरेँ । दूतावासमा फोन नउठ्ने समस्या थियो, त्यो हटाएँ । अनि, नेपाल–अस्ट्रेलिया पार्लियामेन्टेरियन फ्रेन्डसिप गराइयो । आर्थिक लगानीको सम्मेलन गराएँ । विदेशमन्त्रीलाई ल्याउने कुरा थियो । दक्षिण एसियाका राजदूतसँग समन्वय भइरहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय